Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बारेकोट सञ्चारसँगै जोडिदै, तीन स्थानमा टेलिकम टावर निर्माण हुने

जाजरकोट : संचार सुविधाबाट बञ्चित रहेको बारेकोट गाउँपालिकाको तीन वटा स्थानमा नेपाल टेलिकमको नमस्ते मोबाइलको टावर निर्माण हुने भएको छ ।

हालसम्म संचारको भरपर्दो सुविधा नभएको बारेकोट गाउँपालिकाको काप्ती, सेरी र नायकवाडामा टावर निर्माण हुने भएको हो । विगत केही वर्ष यता संचार अभावले सास्ती झेल्दै आएका सेवाग्राहीले टावर निर्माण भएपछि नमस्ते मोबाइल सेवाको गुणस्तरीय सेवा उपभोग गर्न पाउने छन् ।

उक्त तीन वटा स्थानमा टावर स्थापना गर्नका लागि एस्टर नेपाल प्रालिले ठेक्कामा लिइ सामाग्री ढुवानीको काम शुरु गरिसकेको नेपाल टेलिकमका प्रबन्धक अनन्त मान सिंहले जानकारी दिए । उनका अनुसार नायकवाडाको रतनकोटमा हाल संचालनमा रहेको स्काइ मोबाइल सेवाको गुणस्तरलाई समेत अभिवृद्धि गरिनेछ भने नयाँ निर्माण हुने टावर असोज महिना देखि संचालनमा आउनेछन् ।

साविकको चार वटा गाविस रहेको बारेकोटमा संचार सुविधाको नाममा नायकवाडाको रतनकोटमा रहेको एकमात्र स्काइ मोबाइलको टावरमा बारम्बार खराबी आइरहदा सेवाग्राही हाल मर्कामा छन् । घाम लाग्दा नेटवर्क आउने र बादल लाग्दा नेटवर्क जाने समस्याले आजित भएका बारेकोटका सेवाग्राहीले यी टावर बनेपछि भने राहत पाउने गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले बताए ।

बारेकोटमा संचार सुविधा पुर्याउनका लागि संचार मन्त्रालयत, नेपाल टेलिकम लगायतका विभिन्न निकाय बारम्बार ताकेता गरेपनि समयमै सुनुवाइ नहुदा जनगुनासो धेरै आएको बताउदै अध्यक्ष शाहले भने – “अब ढिलै भएपनि बारेकोटीबासीले भरपर्दो संचार सेवा तथा डाटा प्रयोग गर्न पाउने आशा लिएको छु । यसका लागि सहयोग गर्ने सम्पूर्ण सरोकारवाला व्यक्ति तथा निकायलाई धन्यबाद ज्ञापन गर्दछु ।”
बारेकोटमा नमस्तेको तीन वटा टावर निर्माण हुन भएपछि स्थानीयवासीहरु खुसी भएका छन् ।

 

प्रकाशित मिति: Aug 3, 2018

प्रतिक्रिया दिनुहोस्