Logo
७ बैशाख २०८१, शुक्रबार
(August 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

UAE मा तिन महिनाका लागि आममाफी लागू : अवैधानिक रुपमा बसिरहेकाहरुलाई मौका

युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि आज अगस्ट १ बाट तीन महिनासम्मका लागि आम माफी दिएको छ । आममाफी लागू भएपछि अब बिनाभिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले बिनाजरिवाना र बिना सजायँ आफ्नो देश जान वा काम र भिसा दिने स्पोन्सर पाएमा वैधरूपमा पुनः युएईमै काम गर्न पाउने भएका छन् । नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

यो अवसरको फाइदा लिन युएईस्थित विभिन्न देशका कुटनैतिक नियोगहरुले सूचना जारी गरी आफ्ना नागरिकहरुलाई सुचित गरेका छन् । नेपाली दूताबास अबुधाबीले गैरकानूनीरुपमा युएईमा रहेका नेपालीहरु लाई स्वदेश फर्कन वा वैधानिक बन्ने प्रक्रियामा जान विज्ञप्तिमार्फत आग्रह गरेको छ । दूताबासले युएईभित्र रहेका सबै अवैध नेपालीहरुलाई आफ्नो सम्पर्कमा आउनसमेत आग्रह गरेको छ ।

युएईले गैरकानूनी रुपमा रहेका नेपालसहितका विदेशी कामदारलाई अगस्ट १ देखि तीन महिनाको आममाफी दिनेबारे सम्बन्धित देशका दूतावासलाई औपचारिक जानकारी गराएपछि नेपाली दूतावासले पनि यो सुविधाको फाइदा लिन नेपालीहरुलाई आग्रह गरेको हो । कार्यवाहक राजदूत सागरप्रसाद फुँयालका अनुसार भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर ओभरस्टे भएका, राहदानी नभएका नेपालीले दूताबासको सहयोगमा आवश्यक कागजात बनाएर नेपाल फर्कन पाउनेछन् ।

नेपाली दूताबासले आम माफीको सक्दो उपयोग गर्न युएईमा रहेका नेपालीलाई आग्रह गरेको छ । र, यसका लागि दूताबासको सम्पर्कमा आउन अवैधरुपमा बसिरहेका नेपालीलाई आग्रह गरिएको छ । विनाकुनै जरिवाना वा जेल सजायँ युएई छोडेर जान सकिने वा नयाँ स्पोन्सर र काम खोजेर आफ्नो कानुनी अवस्था वैधानिक बनाउन सकिने भएका कारण यो सुनौलो मौकाको उपयोग गर्न दूतावासका श्रम सहचरी मोतिलाल भुसालले सुझाएका छन् ।

आममाफीकोे प्रक्रियाअनुसार अवैधानिक तवरले युएई प्रवेश गरेकाहरुको हकमा उनीहरू युएई विना कुनै जरिवाना र विना जेलसजायँ स्वदेश फर्कन सक्छन् । तर, उनीहरुलाई २ वर्ष युएई आउन प्रतिबन्ध लाग्नेछ । यद्यपि आजिवन प्रतिबन्ध कसैलाई लाग्ने छैन । यसभन्दा अघि ब्ल्याकलिस्टमा परेका तथा कुनै कानुनी मुद्दा भएको खन्डमा एम्नेस्टीको सुविधा पाइने छैन । तर कम्पनिबाट फरार भएको मुद्दा परेकाहरुको हकमा इम्मिग्रेसनले त्यस्ता फरार मुद्दाहरु हटाइ विना कुनै प्रतिबन्ध युएईबाट बाहिर जान दिने प्रावधान रहेको छ ।

प्रकाशित मिति: Aug 1, 2018

प्रतिक्रिया दिनुहोस्