Logo
१३ बैशाख २०८१, बिहीबार
(July 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बिहानैदेखि महोत्तरीमा साउन १५ पर्व मनाइँदै

बर्दिवास : जिल्लाको उत्तरी क्षेत्रमा मंगलबार साउने १५ पर्व मनाइँदै छ । खासगरी साउने १५ पर्वमा रोपाइँ सकेर खीर खाने चलन छ । जिल्लाको बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिकाका बजारमा आज बिहानैदेखि दूध किन्नेको भिडभाड रहेको छ ।

अहिले डेरी सञ्चालक र डिलरलाई दूध बिक्री गर्न भ्याइनभ्याइ भएको बर्दिवास–१ स्थित ओमशान्ति डेरीका सञ्चालक पुरुषोत्तम भट्टराई बताए । आज अन्य दिनको तुलनामा दूधको माग पाँच गुणाले बढेको उनको भनाइ छ । यस्तै बर्दिवास–६ स्थित राधाकृष्ण डेरीका सञ्चालक प्रमोद यादव अरु दिन २०० लिटर दूध खपत हुँदै आएकामा आज एक हजार लिटर दूधको माग आएको बताए ।

जिल्लाको बर्दिवास नगरक्षेत्रका बर्दिवास चोकमात्र नभएर खयरमारा, चौलिखा, बेङ्खाडी, डाँडाटोल, हनुमानचोक, माइस्थान र पथलैयासहितका बजारमा आज बिहानैदेखि दूधको बिक्री वितरण बढेको छ । गौशाला नगरपालिकाको रजखोर, रामनगर, कान्तिबजार, गौशालाबजार, इमलीबजार, बेलगाछी तथा भङ्गाहा नगरपालिकाको सीतापुर र रामनगर बजारमा समेत ग्राहकको चहलपहल निकै बढेको पाइएको छ ।

साउने १५ पर्वमा बिबाहित चेलीवटीलाई माइत बोलाउने चलन छ । मौसमअनुकूल रहँदा साउन १५ सम्म धान रोपाइँ सकिने भएकाले यस पर्वमा पानीमा भिजेर काम गर्दा हुने चिसो र हिलोबाट पर्ने असर हटाउन खिर खाने चलन छ ।

प्रकाशित मिति: Jul 31, 2018

प्रतिक्रिया दिनुहोस्