Logo
१३ बैशाख २०८१, बिहीबार
(July 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारप्रति भरोसा छ, समर्थन फिर्ता लिने कुनै योजना छैन : राजेन्द्र महतो

काठमाडौं, १४ साउन : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग संविधान संशोधन हुनेबारे आफूहरुको विश्वास र भरोसा रहेकोले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन् । उनले भने,‘सरकारलाई दिएको समर्थन अहिले फिर्ता हुँदैन । फिर्ता लिनेबारे हाम्रो पार्टीले अहिलेसम्म कुनै योजना बनाएको छैन । यो सरकार दुई तिहाईको हो । संविधान संशोधनको लागि सरकारले पहल गर्नेमा हामी आशावादी छौं । हामी अहिले पर्ख र हेरको अवस्थामा छौं ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतोले भने,‘हामी सरकारको रवैया र व्यवहार हेरेर अघि बढ्छौं । सरकार जसरी अघि बढ्छ, हामी पनि त्यसैगरि अगाढि बढ्छौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे समय आएपछि योजना बन्ला । तर अहिले हाम्रो कुनै योजना छैन ।’

साक्षात्कारमा नेता महतोले आफ्नो पार्टी सरकारमा सहभागी हुनेबारे कुनै सम्भावना नरहेको स्पष्ट पारे । उनले भने,‘हामी सरकारमा जानेबारे कुनै सम्भावना छैन ।’ सरकारले संविधान संशोधन गर्छ भन्नेमा आफूहरु पूर्ण रुपमा आशावादी भएकोले यदि संशोधन नगरे त्यसपछि आफूहरुले दबाई गर्न जानेको उनले बताए । उनले थपे,‘अहिले नै दबाई गर्ने बेला भएको छैन्।’

पार्टीको महाधिवेशनबाट सहमतिबाटै नेतृत्व चयन गरिनेपनि उनले विश्वास दिलाए । उनले भने,‘हामी सहमतिमै महाधिवेशन सम्पन्न र्छौं । पार्टीको नेतृत्व र संगठनात्मक संरचनापनि सहमतिमै टुँगो लगाउँछौं ।’ पार्टीको नेतृत्वको लागि प्रतिष्पर्धा नहुने उनको ठोकुवा छ । उनले भने,‘पार्टीको नेतृत्व हामी सहमतिमै टुँगो लगाउँछौं । कुनै प्रतिष्पर्धा हुँदैन । अध्यक्ष मण्डल रहेन वा नरहने भन्ने कुरापनि हामी सहमतिबाटै टुँगो लगाउँछौं । पार्टीको निर्णय प्रक्रिया सामूहिक प्रक्रियाबाट अगाडि बढाउँछौं।’

वर्तमान सरकारले काम नगरेकोमा आफूहरुको असन्तुष्ट रहेको उनको भनाई छ । उनले भने,‘तर सरकारसँग दुई तिहाई छ । हामी हाम्रो सवालहरु पूरा गराउनको लागि दबाब दिईरहन्छौं । भर्खरैमात्रै पनि हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिमाईण्डर गराएका छौं । मुलुकको समस्या समाधान गर्नुहोस । दलित, आदिवासी, जनजाति, मधेशी जनताको सवालहरु संविधान संशोधनमार्फत हल गर्नुहोस भनेर दबाब दिएका छौं । अहिलेसम्म संविधानको पालना भएको छैन । जनताले नागरिकता पाएका छैनन् । जन्मसिद्ध नागरिकले पनि नागरिकता पाएका छैनन् ।’

मधेश आन्दोलन ताका नेता तथा कार्यकर्तालाई लगाईएको मुद्दा फिर्ता, बन्दी रिहाई गर्न पनि आफूहरुले दबाब दिएको उनले सुनाए । उनले भने,‘२० हजार मान्छे मार्नेहरु प्रधानमन्त्री भैसके । रेड कार्पेट ओछ्याईसके । यही हो लोकतन्त्र ? रेशम चौधरीलाई सांसदको प्रमाणपत्र बुझ्ने अहिलेसम्म वातावरण बनाईएन ? सरकारको भनाई र गराईमा एकरुपता हुनुपर्छ । भन्ने एउटा अनि गर्ने अर्को गर्नुभएन ।’ सरकारलाई दिएको रिमाईण्डरपनि कुनै सुनुवाई नभए आफूहरु कडाईका साथ अल्टिमेट दिएर अघि बढ्ने उनको चेतावनी थियो ।

नेता महतोले नेपालले दुवै छिमेकी मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिँदै भने,‘हामीले दुवै छिमेकीसँग सुमधुर सम्बन्ध राख्नुपर्छ । दुवै छिमेकी भारत र चीनसँग हाम्रो नङ र मासुजस्तो सम्बन्ध छ । हामीले दुवैसँग अति विश्वसनीय सम्बन्ध राख्नुपर्छ । २ वटै छिमेकीसँग निकटतम सम्बन्ध राख्नुपर्छ ।’ काठमाडौंमा भारत र चीन कुन देशबाट पहिले रेल आउँछ त भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘कुन रेल आउँछ, के–के आउँछ, रेल, जहाज, कहिले आउँछ भन्ने कुरा सरकारलाई सोध्नुहोस । जहिले आउँछ, आउँछ । जनताले हेरिरहेका छन् ।’

फरक प्रसँगमा उनले राजपा र फोरमबीचको एकताको पनि अहिले कुनै सम्भावना नरहेको स्पष्ट पारे । उनले भने,‘उपेन्द्र यादवजी सरकारमा हुनुहुन्छ, हामी सडकमा छौं । अनि कसरी एकता हुन्छ ? त्यसैले अहिले एकता सम्भव छैन । एकता हुनको लागि त उपेन्द्रजी हामी बसेको ठाउँमा आए हुन्छ ।’ यद्धपी उनले प्रदेश नम्बर २ को सरकारमा राजपा र फोरमको गठबन्धन भने कायमै रहने विश्वास दिलाए ।

उनले भने,‘५ वर्षमात्रै होईन, १० वर्षसम्म रहन्छ।’ त्यस्तै उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगको आफ्नो पार्टीको सम्बन्धपनि गुण र दोषको आधारमा कायम रहने जनाए । उनले भने,‘सबै एजेण्डामा सहमति हुँदैन, एजेण्डाका आधारमा हाम्रो उहाँहरुसँग सम्बन्ध कायम रहन्छ।’

प्रकाशित मिति: Jul 30, 2018

प्रतिक्रिया दिनुहोस्