Logo
८ बैशाख २०८१, शनिबार
(July 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाले औपचारिक रुपमै त्रिपाठी समूहलाई पार्टीमा भित्र्याउँदै

काठमाडौं, १४ साउन :पद नपाएपछि राजपा त्यागेका नेता नेता हृदयेश त्रिपाठीको समूहलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले औपचारिक रुपमै पार्टी प्रवेश गराउने प्रक्रिया अघि बढाउने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार राति बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

स्वतन्त्र राजनीतिक समूहका नाममा तत्कालीन एमालेको सूर्य चिह्नबाट चुनाव लडेका त्रिपाठी र ब्रजेशकुमार गुप्ता संघीय संसद्मा निर्वाचित सांसद हुन् । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएपछि दुवैजना अहिले कानुनतः नेकपा सांसद छन् ।

‘नेकपा संसदीय दलमा रहेको हृदयेश त्रिपाठीको समूहसँग एकीकरण गर्नेबारे छलफल अघि बढाउने निर्णय भएको छ,’ नेकपा केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले भने, ‘छलफल चलिरहेको छ, तर कसरी, कहिलेसम्म भन्ने टुंगो लागिसकेको छैन ।’

त्रिपाठीले गत शुक्रबार र शनिबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसँग पार्टी एकीकरणमा केन्द्रित रहेर छलफल गरेका थिए । तर, त्रिपाठीले भेटवार्ता भए पनि पार्टी एकीकरणकै सन्दर्भमा भने गम्भीरतापूर्वक छलफल अघि नबढेको बताए ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले त्रिपाठी नेतृत्वको समूहसँग एकीकरणका विषयमा छलफल चलिरहेको पुष्टि गरे ।स्रोतका अनुसार निरन्तर छलफल चलिरहे पनि एकीकरणपछि उनीहरूलाई के जिम्मेवारी दिने टुंगो लागेको छैन । नेकपाको विधानले एकीकरण हुने अन्य समूह या पार्टीका नेतालाई केन्द्रीय तहमा जिम्मेवारी दिन सक्ने बाटो खुला गरेको छ । त्यसअनुसार नै उनीहरूले परिभाषित जिम्मेवारी पाउन सक्ने नेकपाका एक नेताले बताए ।

प्रकाशित मिति: Jul 30, 2018

प्रतिक्रिया दिनुहोस्