Logo
११ बैशाख २०८१, मंगलबार
(July 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिभुवन विमानस्थलमा सुन तस्करको ओइरो

२०७५ असार २१ : दुबई हुँदै फ्लाई दुबईको विमानबाट त्रिभुवन विमानस्थलमा मलद्वारमा लुकाई ल्याएको १ हजार ८ सय ६४ ग्राम सुनसहित उत्रिएका दुई भारतीय नागरिक पक्राउ ।

असार ३० : वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरूलाई प्रयोग गरी भन्सार छलेर ल्याइएको २ सय ग्राम सुनका गहनासहित तस्करीमा संलग्न दुई जनालाई विमानस्थलछेउबाट पक्राउ ।

साउन १ : त्रिभुवन विमानस्थलको पार्किङ क्षेत्रबाट एक भारतीय नागरिकलाई मुखमा लुकाई ल्याएको १ सय १६ ग्राम काँचो सुन २ टुक्रासहित पक्राउ ।

साउन १ : यूएईको शारजहाँबाट त्रिभुवन विमानस्थलको पार्किङ क्षेत्रबाटै एक भारतीय नागरिक हाते झोलाभित्र लुकाई ल्याएको १ सय ३९ ग्राम सुनसहित पक्राउ ।

साउन २ : एयर अरेबियाबाट काठमाडौं आएका तीन जना भारतीय नागरिक मुखभित्र लुकाई ल्याएको ५ सय ६० ग्राम सुनको टुक्रासहित पक्राउ ।

साउन ५ : थाई एयरमा बैङ्ककबाट काठमाडौं आएका दुई भारतीय नागरिक मलद्वारमा लुकाई ल्याएको २ हजार ६ सय ८० ग्राम सुनसहित पक्राउ ।

साउन ७ : थाई एयरमा बैङ्ककबाट काठमाडौं आएका चार जना भारतीय नागरिक सुटकेशको पाङ्ग्रा बनाई ल्याएको २ हजार ७ सय ९ ग्राम सुनसहित पक्राउ ।

साउन ७ : नेपाल एयरलाइन्सबाट दुबई हुँदै काठमाडौं आएका एक जना भारतीय नागरिक पाइण्टभित्र लुकाएर ल्याएको ३ सय ४८ ग्राम सुनसहित पक्राउ ।

साउन ८ : थाई एयरमा बैङ्ककबाट काठमाडौं आएका दुई जना थाई नागरिकको साथबाट सुनको माला, सिक्का, बेल्टको बक्कल, घडीको कभर, बाला, चाबीलगायत सामान बनाई ल्याएको ३ हजार ६ सय ८० ग्राम सुनसहित पक्राउ ।

यसअघि प्रहरीले फागुन २९ गते १ सय ४५ तोला सुनसहित सिनामङ्गलबाट ६ जना, चैत २५ मा विमानस्थलबाटै ४ सय ग्राम सुनको ८ ओटा बालासहित एक जना, असार १५ मा सर्लाहीबाट १ केजी सुनसहित एक जना, असार १६ मा नागढुङ्गा चेकपोष्टमा भारतीय कारमा ल्याउँदै गरेको ३ केजी सुनसहित २ जना र असार १८ मा नागढुङ्गा चेकपोष्टमा मोटरसाइकलमा ल्याउँदै गरेको ६ केजी सुनसहित एक जना पक्राउ परेका थिए ।

काठमाडौं । पछिल्लो २० दिनमा नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तस्करी गरी ल्याउँदै गरेको सुन र पक्राउ परेका तस्करको विवरण हो यो । असार २१ गतेदेखि साउन ८ गतेको समयमा प्रहरीले विमानस्थलबाट १२ किलो ३ सय ३२ ग्राम सुनसहित १८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुमध्ये १४ जना भारतीय, २ जना थाई र २ जना नेपाली नागरिक छन् ।

तीन हप्ताको बीचमा त्रिभुवन विमानस्थलबाट यति धेरै सुन र तस्कर पक्राउ परेको यो पहिलो रेकर्ड हो । यसअघि सानोसानो परिणाममा यसरी दैनिक सुनसहित तस्कर पक्राउ परेको प्रहरीको रेकर्डमा देखिँदैन । यो सबै तथ्याङ्कले नेपालको एक मात्र अन्तरराष्ट्रिय विमानस्थल सुन तस्करका लागि सजिलो ‘ट्राञ्जिट प्वाइण्ट’का रूपमा रहेको छर्लङ्ग हुन्छ ।

यसअघि विमानस्थलमा रहेको भन्सार, प्रहरी, विमान कम्पनी र अध्यागमनका कर्मचारीको मिलेमतोमा ३८ क्वीण्टल सुन तस्करी भैसकेको तथ्य पछिल्लो पटकको साढे ३३ केजी सुन प्रकरणले प्रमाणित गरिसकेको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा बनेको सुन छानविन समितिले गत माघ दोस्रो साता विमानस्थलमै खटिने कर्मचारीको मिलेमतोमा तस्करी गरी ल्याइएको साढे ३३ किलो सुन प्रकरणको छानविन अझै सकेको छैन । सरकारले सुन तस्करीको जालो जरैदेखि तोडेको बताए पनि विमानस्थलबाट सुन तस्करी हुन नछाडेको पछिल्लो घटनाले पुष्टि हुन्छ । यसले नेपालको विमानस्थलमा रहेको सुरक्षा र अन्य संयन्त्र कति फितलो रहेछ भन्ने पनि उदाङ्गो भएको अभियानमा बिहीवार प्रकाशित समाचारमा भनिएको छ ।

तर, पछिल्ला दिनमा दैनिक सुनसहित तस्कर पक्राउ पर्न थालेपछि विमानस्थलको सुरक्षामा कडाइ भएको सङ्केत पाइएको छ । के कारणले दैनिक तस्कर पक्राउ परिरहेका छन् त ? महानगरीय प्रहरी, विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भने, ‘गृह मन्त्रालय र नेपाल प्रहरीको नेतृत्वले कुनै पनि किसिमको तस्करीविरुद्ध शून्य तस्करी नीति लिएको छ । अहिले विमानस्थलबाट हुने सुनलगायतको तस्करी रोक्न सबै सुरक्षा संयन्त्र कर्डाका साथ लागिपरेको छ ।’

प्रहरीले आफ्ना सबै संयन्त्रलाई कडाइका साथ तस्करविरुद्धको अभियानमा संलग्न गराएकाले सुन तस्कर विमानस्थलबाट उम्किन नपाएको उनको दाबी छ । यसअघि फितलो सुरक्षा व्यवस्थाकै कारण विमानस्थलबाट सजिलै सुन तस्करी हुने गरेको यसले प्रमाणित भएको छ । यसैको फाइदा उठाउँदै तस्करीमा संलग्नहरूले विभिन्न तरिकाले न्यूनतम सय ग्रामदेखि ४, ५ केजीसम्म सुन तस्करी गरिरहेका थिए ।

विमानस्थलमा हुने कमजोर सुरक्षा प्रणालीको आरोपलाई खण्डन गर्दै प्रहरी उपरीक्षक मैनालीले भने, ‘विमानस्थलबाट यसअघि सहजै सुन पास हुने गरेको कुरा सही होइन, बरु तस्करले सुन ल्याउने क्रम बढेको समयमा प्रहरीले पक्राउ गर्न सफल भएको मात्र हो ।’ गृह मन्त्रालयले तस्करविरुद्ध कडाइ गर्न निर्देशन दिएसँगै प्रहरीको माथिल्लोदेखि तल्लो तहसम्मले सुरक्षा कडाइ गरेको मैनालीको भनाइ छ । यसैको फलस्वरूप हाल दैनिक रूपमा विमानस्थलबाट सुनसहित तस्करहरू पक्राउ परिरहेका छन् । तर, दैनिक सुन तस्कर पक्राउ परे पनि तस्करी नघटेपछि नेपाल सुन तस्करका लागि सहज ट्राञ्जिट बनेको पाइन्छ । यसका लागि सरकारले कडा कानूनी व्यवस्था र आधुनिक तथा अत्याधुनिक सुरक्षा व्यवस्थाको प्रबन्ध गर्नु आवश्यक छ ।

प्रकाशित मिति: Jul 27, 2018

प्रतिक्रिया दिनुहोस्