Logo
८ बैशाख २०८१, शनिबार
(July 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालोवजारी गरेको आरोपमा भगत आयल ट्रेडर्स देवानगंजका संचालक पक्राउ

विराटनगर , ७ साउन : डिजल/पेट्रोलको कालोबजारी गरेको आरोपमा सुनसरी स्थित सिमावर्ती क्षेत्र देवानगंजमा रहेको भगत आयल ट्रेडर्सका संचालक दिपनारायण भगतलाई प्रहरीले पक्राउ गरेको छ । बढि मूल्य लिएर भारतीय नागरिकसँग कालोवजारी गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पछिल्लो १ बर्षदेखि डिजल र पेट्रोलको कालोबजारी हुँदै आएको छ । नेपाल आयल निगमले गरेको पच्छिल्लो मूल्यवृद्धि पछि पनि नेपाल भन्दा भारतमा डिजल/पेट्रोल महङ्गो रहेका कारण यत्तिबेला नेपालबाट भारत तर्फ तेल तस्करी हुने गरिएको छ । अहिले भने भारत भन्दा नेपाल डिजल प्रतिलिटर २८ रुपैयाँ र पैट्रल प्रतिलिटर २५ रुपैया महङ्गो रहेको छ ।

देवागञ्ज स्थित ठूला तस्करीका रुपमा भगतको नाम आएपछि उनलाई शनिवार प्रहरीले पक्राउ गरेको हो । तर आईतवार २४ घन्टा नवित्दै राजनैतिक दवाब पछि सामान्य कागज गराएर छोडिएको छ । ‘यहाँ राजनीतिक दवाब उत्तिकै छ, नेताहरु नै तस्कार पनि छन् के गर्नु हजुर यहाँ प्रहरीको केहि पनि चल्दैन’ नाम उल्लेख नगर्ने सर्तमा एक प्रहरीले भने ‘हामीले भिडियो सहित स–प्रमाण लिखित रिर्पोट गरियो तर माथीको दवाब भन्दै हाकिम सहाबले समान्य कागज गरेर छाडीदिए । यसरी सजिलो गरी छोड्दा हामी जस्ता तल्लो तहमा काम गर्ने प्रहरी निरास भएका छौं ।’ तर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नारायण चिमोरीयाले कुनै किसिमको उजुरी र कालोवजारी गरेको ठोस प्रमाण नभएकाले छाड्नुपरेको बताए ।

पूर्वमा दैनीक डिजल ८ केल र पेट्रोल २ सय ५० केल बजारमा पुग्छ । जस मध्ये अधिकांश डिजल र पेट्रोल भारततर्फ तस्करी हुने गरिएको छ । नेपाल आयल निगमले स्थानीय प्रहरी प्रशासनसँग सहकार्य गरेर नियन्त्रणको प्रयास सुरुगरेको क्षेत्रीय डिपो प्रमुख भानुभक्त खनालले बताए । उनका अनुसार पम्पवालालाई पनि वास्तवीक उपभोक्ता पहिचान गरेर मात्र डिजल पेट्रोल उपलब्ध गराउन निर्देन दिइएको छ ।

अहिले महिनाको अन्तमा विक्रिवितरण भएको तेलको विवरण गाउँपालिकाबाट प्रमाणित गरि नेपाल आयल निगममा पेश गर्नुपर्ने प्रावधान निगमले लागुगरेको छ । जसमा भगत आयल ट्रेडर्सले जेठ महिना भरिमा पेट्रोल ३९८७४ लिटर र डिजल ९९६५५ लिटर विक्रिवितरण गरिएको जानकारी दिएको छ । गाउँपालिकामा रहेको रेकर्ड अनुसार असार १३ गते जेष्ठ महिनासम्मको बिवरण उल्लेख गरिएको छ भन्ने असार महिनाको विबरण पेश गरिएको छैन ।

स्थानिय किसानले डिजल नपाईरहेको गुनासो भईरहदा पम्पवालाहरु नै यसरी कालोबजारी गर्नु जघन्य अपराध भएको स्थानिय दिपेन्द्र मेहताको भनाई छ । उहाँका अनुसार सीमावर्ती क्षेत्रका पम्प संचालकहरुले बढी पैसा लिएर सीमा पारीका तस्करहरुलाई पेट्रोलियम पदार्थ पुरयाउने गरेका छन् ।

प्रकाशित मिति: Jul 23, 2018

प्रतिक्रिया दिनुहोस्