Logo
१३ बैशाख २०८१, बिहीबार
(July 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउडका लागि नेपालमा फिल्म सिटी स्थापना हुँदै, प्रधानमन्त्रीले दिए धन्यवाद

काठमाण्डौ : प्रधानमन्त्री के.पी.शर्मा ओलीले नेपालमा फिल्म सिटी स्थापना गर्न तत्पर भारतीय बलिउडकर्मी तथा लगानी कर्ताहरुलाई धन्यवाद दिएका छन् । हिजो साँझ भेट्न आएका एस्सेल ग्रुपका प्रमूख तथा जी इन्टरटेनमेन्ट इन्टरप्राइज लि.का अध्यक्ष एवं राज्यसभा सांसद सुवास चन्द्रा, भारतीय राजनीतिज्ञ एवं राज्यसभा सांसद अमर सिंह तथा वरिष्ठ सिने कलाकार जयप्रदालाई प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गरेका हुन् ।

भेटअघि भारतीय समुह फिल्म सिटी निर्माणका लागि गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरी फर्किएका थिए । अध्ययनपछि जी इन्टरटेनमेन्ट इन्टरप्राइज लि.का अध्यक्ष सुवास चन्द्राले पालुङटारको नदीदेखि पहाडसम्मको सुन्दर परिवेशको आफुलाई आकर्षित गरेको बताए । उनले ती ठाउँका प्रशंसा गर्दै नेपालमा फिल्म सिटीको स्थापना गर्नकालागि प्रारम्भिक कार्य सुरु भइसकेको बताए ।

चन्द्राले आउँदो नोभेम्वर–डिसेम्वरमा जीसिने अवार्ड समारोहको आयोजना काठमाण्डौमै गर्ने र हरेक वर्ष नेपाली फिल्मका लागि समेत एक अवार्डको व्यवस्था गरिने घोषणा समेत गरेका छन् । भेटघाटका अवसरमा प्रधानमन्त्रीले जी सिने अर्वाड समारोहकै अघिपछिको मिति पारेर काठमाण्डौमा हिमालयन कनक्लेभको समेत आयोजना गरिने घोषणा गरे ।

नेपाली कलाकारहरु समेतको उपस्थितिमा भएको भेटघाटका अवसरमा प्रधानमन्त्रीले कलाकार जयाप्रदाले नेपालभारत सम्बन्धकालागि साँस्कृतिक राजदूतको भूमिकानिर्वाह गर्दै आएको बताए । त्यस अवसरमा वरिष्ठ भारतीय राजनीतिकर्मी तथा राज्यसभा सदस्य अमर सिंहले प्रधानमन्त्री ओलीको समृध्द नेपाल, सुखी नेपालीको ध्येयलाई मूर्त तुल्याउन सकिएको खण्डमा मात्र भारत पनि सुखी र खुसीहुन सक्ने धारणा व्यक्त गरे ।

भेटघाटका अवसरमा नेपालका वरिष्ठ सिने कलाकार नीर शाहले नेपाली फिल्म उधोगको समग्र अवस्थाको जानकारी प्रस्तुत गर्दै भारतमा नेपाली भाषीहरुको ठूलो जनसंख्या रहे पनि विभिन्न कारणले गर्दा नेपाली फिल्महरुको प्रदर्शन हुन नसकिरहेको बताए ।

भेटघाट कार्यक्रममा चन्द्राले सोलुखुम्वूमा आफूले निर्माण गरेको १४० मेघावाट क्षमताको जलविधुत आयोजना बाँकी रहेको चालीस प्रतिशत काम सम्पन्न भएपछि प्रधानमन्त्री ओली मार्फत नेपाललाई हस्तान्तरण गर्ने घोषणा गर्ने बताए । यसैगरी चन्द्राले आफ्नो तर्फबाट पशुपतिमन्दिर परिसरमा सिसी क्यामेरा र सौर्य बत्ती जडान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति: Jul 22, 2018

प्रतिक्रिया दिनुहोस्