Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोइराला निवास : तीनजना प्रधानमन्त्री हुर्काउने त्यो घर

बिराटनगर : कुनै समय नेता कार्यकर्ताहरुको भीड लाग्ने बिराटनगरस्थित कोइराला निवास अचेल सुनसान छ । कोइराला निवासमा हामी पुग्दा घरको रेखदेखमा खटिएका सशस्त्र प्रहरी र जनपदका केही जवानमात्रै भेटिए । लामो समय कोइराला परिवारसँग नजिक भएर काम गरेका शुभनारायण यादवले पुरानो रौनकमा कमी आएको बताए ।

विगतमा विभिन्न ठाउँबाट बिराटनगर आउने अधिकांश कांग्रेसजन एकपटक कोइराला निवास कस्तो रहेछ हेरौं भन्दै पुग्ने गरेको यादवले सम्झन्छन् ।

तीनजना प्रधानमन्त्री हुर्काउने घर
बिराटनगरस्थित ‘कोइराला निवास’का रुपमा चर्चित यही घरमा तीन पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला, वीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको बाल्यकाल बितेको थियो । मुलुकका लागि धेरै प्रधानमन्त्रीका जन्माउने घरका रुपमा कोइराला निवासलाई लिइने गरिन्छ । तर, समयचक्र फेरिएझैं अब त्यो अवस्था रहेन । अब सडकबाट कोइराला निवास छुट्याउन गाह्रो छ ।

नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको जन्म कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको कोखबाट भारतमा भएको थियो । गिरिजा पनि भारतको मुजफ्फरपुरमा जन्मिएका हुन् । राणा शासकबाट विस्थापित कोइराला परिवार वि.सं. १९८६ सालमा चन्द्रशमशेरको निधनपश्चात बिराटनगर फर्कियो । कृष्णप्रसाद कोइरालाले स्वदेश फर्केपछि बिराटनगरमा घर बनाए । पछिल्लो समय यो घरका संरक्षक तत्कालीन गिरिजाप्रसाद कोइराला थिए । तर, गिरिजाको निधनपश्चात यो घरलाई ग्रहणले छोपेको छ ।

गिरिजाको पहिचान
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्ना हरेक गतिविधि यही घरबाट सुरु गर्थे । पदमा हुँदा होस् या पद बाहिर, केही कडा सन्देश दिनुपरे उनी बिराटनगरको यही घरलाई सम्झन्थें र काठमाडौंबाट यही निवासमा आएर बोल्थे । जुन बोलीले मुलुकमा तरङ्ग पैदा गथ्र्याे । विसं. ०६३ साल माघ २४ गते जब गिरिजाकी भाउजू नोना कोइरालाको निधन भयो, तत्कालीन समय गिरिजाप्रसाद कोइरालाले निवासको बत्ती निभेको बताए । जब गिरिजाको पनि निधन भयो, त्यसपछि निवास नै शून्यतामा रुमलियो ।

अस्पतालचोकबाट सिधै देखिने घर वरपर अब नयाँ क्रंक्रिटका घर बनेका छन् । हरियो जस्तापाताको त्यो बहुचर्चित घर क्रंक्रिटका घरबाट छेलिएको छ ।
गिरिजाको निधनपश्चात अहिले कोइरालानिवासको अंशवण्डा भइसकेको छ । कोइरालाको निधनपछि सन्ततिहरुले करिब १२० वर्ष पुरानो सम्पत्ति अंशवण्डा गरेका छन् ।

क-कसको भागमा बाँडियो ?
कोइरालानिवास अहिले डा. शेखर कोइरालाको अंशमा परेको छ भने आफ्नो भागमा परेको जग्गामा गिरिजापुत्री सुजाता कोइरालाले बेग्लै भवन बनाएकी छिन् । पिता कृष्णप्रसाद कोइरालाको सम्पत्ति बीपी, केशव, तारणी र गिरिजालाई ०२५ सालमै मौखिक अंशबण्डा गरिएको थियो । अहिले भागवण्डामा निवासकोे एक बिघा १६ कट्ठा जग्गा नातिनातिनीले अशंवण्डा गरी टुक्रा पार्दै बिक्रीसमेत गरेका छन् ।

दक्षिणपट्टीको ८ कट्ठा जमिन बिपीपुत्र प्रकाश, सशांक, श्रीहर्ष र छोरी चेतनाले बिक्री गरेका छन् । उत्तरपट्टिको जमिन तारिणीप्रसाद कोइरालाको भागमा परेको थियो । त्योमध्ये केही जग्गा छोरा ज्योतिले बिक्री गरेका छन् । पूर्वपट्टिको जमिन गिरिजाप्रसाद कोइराला छोरी सुजाताको भागमा छ । उनले चार कट्ठा जमिन जीपी फाउन्डेसनलाई दिएर त्यहीँ भवन बनाएकी छिन् ।

विसं. ०६६ साल आसोजमा निवासले त्यहाँ अवस्थित करिब आधाभन्दा बढी जग्गा विक्री गर्न लागेको खबरसँगै कांग्रेस कार्यकर्ताहरुले त्यसको विरोध गरेका थिए । उनीहरुले जग्गामा बोर्ड र चारतारे झण्डासमेत राखेका थिए । उनीहरुको माग थियो– कोइरालानिवासलाई कम्तिमा संग्रहालयका रुपमा राखियोस् ।

पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा कमल कोइरालाचाहिँ हाल कोइराला निवासका रुपमा चर्चिएको यो जायजेथा कृष्णप्रसाद कोइरालाको नभएको दाबी गर्छन् । कमल भन्छन् – ‘ कृष्णप्रसाद कोइरालाको सबै जमीन राणा सरकारबाट सर्वस्वहरण भइहाल्यो । अहिले बिराटनगरमा कोइराला परिवारको जति सम्पत्ति छ, त्यो हाम्रो बाबुबाजेको सम्पत्ति होइन ।’ @अनलाइनखबरबाट

प्रकाशित मिति: Jul 22, 2018

प्रतिक्रिया दिनुहोस्