Logo
६ बैशाख २०८१, बिहीबार
(July 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यालयले अत्यधिक शुल्क वृद्धि गरेको भन्दै विद्यार्थीले ताला लगाए

बनियानी झापा : विद्यालयले अत्यधिक शुल्क वृद्धि गरेको भन्दै झापाको बिर्तामोड–५ स्थित देवी माविमा विद्यार्थीले तालाबन्दी गरेका छन् ।

विद्यालयले २४ प्रतिशतभन्दा बढी शुल्क वृद्धि गरेपछि नेविसंघ २ नं क्षेत्रीय समितिले तालाबन्दी गरेको हो । विद्यार्थी र अभिभावकको ढाड भाँच्ने गरी शुल्क वृद्धि गरिएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको नेविसंघका नेता मिलन चापागाईंले बताए ।

“अघिल्लो वर्ष भर्ना शुल्क पाँच हजार थियो, यो वर्ष बढाएर आठ हजार बनाइएको छ”, तालाबन्दीको कारण खुलाउँदै उहाँले भन्नुभयो, “मासिक शुल्क पनि १२ सयबाट १५ सय बनाइएको छ ।” सरसफाइलगायत अन्य शीर्षक थप गरेर अत्यधिक शुल्क वृद्धि गरिएको जनाइएको छ ।

विद्यालयमा तालाबन्दी गरिए पनि विद्यालय व्यवस्थापन समितिले कुनै चासो नदिएको नेविसंघ क्षेत्रीय समितिले जनाएको छ । शुल्क वृद्धि फिर्ता लिन पटक–पटक आग्रह गरिए पनि कुनै सुनुवाइ नभएपछि असार ३१ गते विद्यालयको लेखा शाखामा पनि तालाबन्दी गरिएको चापागाईंले बताए ।

यता, विद्यालयले विद्यार्थीले तालाबन्दी गरेलगत्तै आकस्मिक सूचना जारी गरेर विद्यालय बिदा दिएको छ । कक्षा १० सम्मका विद्यार्थीलाई साउन ४ गतेसम्म बिदा दिइएको छ । नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ को साउन १ गतेदेखि कक्षा सञ्चालन हुने भनिएकामा अर्को सूचना प्रकाशन नभए सम्मका लागि कक्षा सञ्चालन स्थगित गरिएको छ ।

उता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानुराम प्रसाईंले विद्यालयमा आग्रह–पूर्वाग्रहका आधारमा तालाबन्दी गरिएको बताए। “जिल्लाभरको विद्यालयमा शुल्क वृद्धि भएको छ”, उनले भने, “देवी माविमै किन तालाबन्दी गरियो, यसमा राजनीतिक पूर्वाग्रह छ ।” अभिभावक र विद्यालय व्यवस्थापन समितिको छलफलमा पनि शुल्क वृद्धिमा अभिभावकको कुनै गुनासो नभएको अध्यक्ष प्रसाईंले दाबी गरे ।

प्रकाशित मिति: Jul 19, 2018

प्रतिक्रिया दिनुहोस्