Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारीसँग वार्ता गरिन्न, मन्त्रीस्तरीय टोली चाहियो : डा. केसी

काठमाडौं, २ साउन : अनसनरत डा. गोविन्द केसीले कर्मचारीहरुसँग वार्ता गरेर निकास ननिस्किने ठहर गर्दै मन्त्रीस्तरीय वार्ता टोली गठन गर्न सरकारसँग माग गरेका छन् । बिहीबार विज्ञप्ति जारी गरी डा. केसीले आवश्यक म्याण्डेट नै नदिई कर्मचारीमात्र सम्मिलित वार्ता टोली बनाएर झारा टार्ने काममात्र भएको बताए ।

सरकार अझै वार्ताका लागि जिम्मेवार र संवेदनशील नभएको भन्दै केसीले अहिलेको अवस्थामा वार्ता गर्नुको औचित्य नभएको पनि बताएका छन् । सरकारी टोलीसँग वार्तामा सहभागी डा. केसीपक्षका वार्ता टोली सदस्यहरुले सचिवस्तरीय वार्ता टोलीसँग वार्ता नगर्ने भन्दै मन्त्रीस्तरीय वार्ता टोली गठन गर्नुपर्ने माग अघि सारेका हुन् ।

‘त्यसैले वार्तालाई तार्किक निश्कर्षमा पुर्‍याउनका लागि तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन सरकारलाई आग्रह गर्दर्छौं । त्यसो भएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी पनि गराउँछौं’ केसीले भनेका छन् ।

डा. केसीसँग वार्ता गर्नका लागि सरकारले तीन दिनअघि शिक्षा सचिव डा. खगराज बरालको नेतृत्वमा गृहमन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी सम्मिलित तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

त्यसैगरी, डा. केसीको पक्षबाट डा. अभिषेकराज सिंह, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, ओम प्रकाश अर्याल र नेपाल चिकित्सक संघका प्रतिनिधिहरु वार्तामा सहभागी छन् ।

प्रकाशित मिति: Jul 18, 2018

प्रतिक्रिया दिनुहोस्