Logo
५ बैशाख २०८१, बुधबार
(July 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालसँगको मित्रता अझ कसिलो बनाउने भारतको चाहना 

काठमाडौँ, १७ असार : पछिल्लो समय सम्बन्धमा केहि तलकी आएपनि अब भने भारतले नेपालसँगको मित्रता अझ कसिलो बनाउने चाहना ब्यक्त गरेको छ । नेपाल र भारतबीच बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले आफ्नो कार्य (साझा प्रतिवेदन) सम्पन्न गरेलगत्तै भारतीय पक्षका संयोजक भगतसिंह कोसियारीले राजनीतिक भेटघाट थालेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेट गरेका हुन् ।

नेपाल-भारतबीच भएको १९५० को शान्ति तथा मैत्रीसन्धिसहितका द्विपक्षीय सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित ईपीजीको कार्यकाल सकिँनैलाग्दा उपप्रधानमन्त्री पोखरेलको निजी निवास धापासीमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, सरकारका कार्ययोजना, दुई देशबीचको सम्बन्धको बढ्दो उचाई, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलगायत विषयमा छलफल भएको पोखरेलको सचिवालयले जनएको छ ।

साझा प्रतिवेदन तयार पारेको अवगत गराउँदै भारतीय पक्षका संयोजक कोसियारीले नेपालसँगको मित्रता अझ कसिलो र सुमधुर होस् भन्ने भारतले चाहेको बताएका थिए । कोसियारीले आगामी दिनमा दुई देशबीचमा समस्या नआउने गरी सुझाव तयार गरेर प्रतिवेदन निर्माण गरिएको जानकारी पोखरेललाई गराएका थिए ।

नेपालसँगको सीमा जोडिएको भारतको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री समेत भइसकेका कोसियारी भारतीय जनता पार्टीका वरिष्ठ नेतामध्येका एक हुन् । साझा प्रतिवेदन तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्री पोखरेलले कोसियारीलाई विशेष धन्यवाद दिएका थिए ।

दुवै देशले प्रतिवेदनलाई इमान्दारीताका साथ कार्यन्वयन गर्नेतर्फ ध्यान दिने विश्वास पनि पोखरेलले ब्यक्त गरे । ‘जसरी समझदारीका साथ प्रतिवेदन तयार गर्नुभएको छ, अब प्रभावकारी कार्यान्वयनमा पनि तपाईंले भूमिका खेल्नुपर्छ,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘उहाँले दुई देश बीचको सम्बन्ध सुमधुर बनाइराख्न राजनीतिक तहमा पनि नियमित भेटघाट र अन्तरक्रिया भइरहनुपर्नेमा जोड दिनुभएको छ । ’

उनले दुई देशबीच आइपर्ने कतिपय व्यवहारिक समस्या पनि समझदारीका साथ छलफल गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । साझा प्रतिवेदन तयार भए पनि केही दिनभित्रै औपचारिक ढंगले दुई देशका सरकार प्रमुखलाई बुझाउने तयारी समितिको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेललाई भेटेपछि कोसियारीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेका थिए । भेटवार्ता सकेर कोसियारी स्वदेश फर्किसकेका छन् ।

प्रकाशित मिति: Jul 1, 2018

प्रतिक्रिया दिनुहोस्