Logo
८ बैशाख २०८१, शनिबार
(June 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोले धादिङकाे खानियाँबासमा ७ घर बगायाे, ५ जनाको मृत्यु, ५ घाइते

धादिङ : जिल्लाको उत्तरी भेगमा पर्ने खनियाँवासमा पहिरो घर बगाउँदा बुधबार राति ५ जनाको मृत्यु भएको छ । घटनामा ५ जना घाइते भएका छन् । खनियाबाँस गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वारामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी बुहारीसहित दुई नातिनीकाे मृत्यु भएको छ ।

गोलेका १० वर्षीय नाति विकास गुरुङलाई भने घाइते अवस्थामा उद्धार गरिएको छ । मृत्यु हुनेमा गोलेकी ३२ वर्षीय बुहारी वसुदा गुरुङ्ग, ८ वर्षीय नातिनी लक्ष्मी र ५ वर्षीय सरस्वती गुरुङ्गको सनाखत भएको छ । घाइते विकासकाे स्थानीय नेत्रावती हेल्थ केयर सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । खनियाँवास–५ मार्पाकमा पहिरोले पाँच घर बगाएको छ ।

खनियाँबास–४ च्यरीबोटमा गएको पहिरोले घर पुरिदा ६१ वर्षीय शमसेर घले र उनकी श्रीमती कोप्ची घलेको मत्यु भएको जिल्ला प्रहरी प्रमुख डम्वरबहादुर विकले बताए । पहिराेले पुरिएका घले दम्पतीलाई स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय दार्खाबाट खटिएको टोलीले निकालेको प्रहरी हवल्दार मनोज श्रेष्ठले जानकारी दिएका छन् ।

सोही गाँउमा पहिरोले घर बगाउँदा दिपक गोतामे, लक्ष्मी गोतामे, कल्पना र २ वर्षका रवि घाइते भएका छन् । घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्छ । बर्षात्का कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सबै सडक अवरुद्ध भएकोले सदरमुकामबाट जान सकेका छैनन् ।

इलाका प्रहरी कार्यालय दार्खाको प्रहरी टोली चिउरी खर्क पुगिसकेको छ भने साइश्वारामा अझै पुग्न सकेका छैनन् । घटनाको अन्य विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको उद्धार भैसकेको र जिल्ला प्रशाासनका शाखा अधिकृत राममणि मिश्रको नेतृत्वमा जिल्ला अस्पतालका एक चिकित्सक र प्रहरी निरीक्षक जनक पुरीसहितको टोली पठाएको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताए ।

उक्त टोलीमार्फत मृतकका परिवारलाई एक लाख र घर भत्केकालाई १० हजार दरले सहयोग पठाएको प्रजिअ पाण्डेयले बताए ।

प्रकाशित मिति: Jun 28, 2018

प्रतिक्रिया दिनुहोस्