Logo
११ बैशाख २०८१, मंगलबार
(June 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यार्थीको मनोविज्ञानमा गम्भीर खेलबाड : शनिबार एउटा, आइतबार अर्कै जिपिए

काठमाडौं, ११ असार : माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले शनिबार प्रकाशित गरेको नजितामा आइतबार हजारौँ विद्यार्थीको जिपिए बढेको छ । पनिकाले तोकेका वेबसाइट तथा एसएमएसबाट विद्यार्थीले शनिबार प्राप्त गरेको जिपिए आइतबार बढेको हो ।

जिपिए बढेपछि विद्यार्थी, अभिभावक रशिक्षक अन्योलमा परेका छन् । कुनै पनि विषयमा ९० अंक ल्याउने विद्यार्थीको ग्रेड सम्बन्धित विषयमा ए प्लस हुनुपर्नेमा पनिकाको सिस्टमले ए ग्रेड मात्रै देखायो । विषयगत रूपमा ए प्लस आउनुपर्नेमा ए मात्र आउनाले समग्र जिपिए घटेको थियो ।

मोक्षदा स्कुलकी ०३११०३२टी सिम्बोल नम्बरकी सुनिता रोकाको शनिबार एसएमएस गर्दा जिपिए ३.८५ आएको थियो । उनले आइतबार उही सिम्बोल नम्बरमा एसएमएस गर्दा जिपिए ३.९० आएको छ । ‘हिजो र आजको जिपिए फरक आयो, कुनलाई आधिकारिक मान्ने अन्योल भयो,’ रोकाले भनिन् ।

अधिकांशको जिपिए बढ्यो
आइतबार प्रायः विद्यार्थीको जिपिए बढेको छ । सुकेधारास्थित बागमती बोर्डिङ माध्यमिक विद्यालयका प्रिन्सिपल श्यामदत्त अधिकारीले आफ्नो विद्यालयका लगभग सबै विद्यार्थीको जिपिए बढेको बताए । ‘केही साँच्चै राम्रा विद्यार्थीको अप्रत्याशित नतिजाले हामी आश्चर्यमा परेका थियौँ । शनिबार जिपिए ३.८ आउनेको आइतबार ३.९ आएको छ,’ उनले भने ।

जिम्मेवार निकायबाट धेरै लापरबाही हुँदा विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर परेको उनले बताए । ‘पनिकाजस्तो जिम्मेवार निकायको विश्वसनीयतामा प्रश्न उठ्यो । पूर्ण तयारी नगरी हतारहतारमा नतिजा प्रकाशन गर्नुभन्दा केही ढिला गरेको भए बेस हुन्थ्यो,’उनले भने ।

प्राविधिक त्रुटि भयो : परीक्षानियन्त्रक रेग्मी
परीक्षानियन्त्रक अम्बिकाप्रसाद रेग्मीले ‘डाटा अपलोड’ गर्ने वेलामा केही त्रुटि भएका कारण समस्या आएको बताए । पनिकाको आफ्नै वेबसाइटमा समेत गलत नतिजा सार्वजनिक भएको थियो । नियन्त्रक रेग्मीले आइतबार बिहान गुनासो आएपछि अपलोड गर्दा भएको त्रुटिलाई इन्जिनियरले सच्याएको बताए । पछिल्लो नतिजा आधिकारिक भएको उनले बताए । यस वर्ष पनिकामा इन्जिनियर नयाँ भएका कारण पनि धेरै समस्या आएको स्रोतको भनाइ छ ।

साधारण र प्राविधिकको नतिजा एकैपटक

०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा २५ विद्यार्थीले सबैभन्दा माथिल्लो जिपिए ४.० ल्याएका छन् । आठवटै विषयमा ९० भन्दा माथि र १०० सम्म ल्याउने विद्यार्थीले मात्र जिपिए ४ पाउँछन् । यस वर्ष साधारणधारतर्फ नियमित चार लाख ५१ हजार पाँच सय ३२ र एक्जाम्टेडतर्फ २५ हजार एक सय ३२ परीक्षामा सहभागी थिए । त्यसैगरी प्राविधिक धारतर्फ नियमितमा आठ हजार नौ सय ६ र एक्जाम्टेडतर्फ १० जना सहभागी थिए ।

नियमिततर्फ सबैभन्दा माथिल्लो जिपिए ३.६५ देखि ४ ल्याउने १४ हजार दुई सय ३४ जना छन् । जसमध्ये आठ हजार ७३ छात्र र ६ हजार एक सय ६१ छात्रा छन् । अघिल्लो वर्ष नियमिततर्फ चार लाख ४५ हजार पा“च सय ६४ सहभागी भएकामा जिपिए ३.६५ देखि ४ सम्म ल्याउने १२ हजार दुई सय ८४ थिए । त्यसैगरी प्राविधिक धारमा ५ सय ३८ ले जिपिए ३.६५ देखि ४ सम्म तीन सय ४५ छात्र र एक सय ९३ छात्राले ल्याएका थिए । साधारण र प्राविधिकतर्फका एक्जाम्टेड विद्यार्थीले कुनै पनि जिपिए ३.६५ ल्याएका छैनन् ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मी भन्छन्: हिजो र आजको नतिजामा फरक प-यो
दुई दिनमा फरक–फरक नतिजा आउने गम्भीर त्रुटि कसरी भयो ?
हिजो र आज नतिजामा फरक परेछ । रिजल्ट अपलोड गर्दा समस्या भएको हो । वेबसाइटमा सिस्टम कम्पाटाबिलिटीमा त्रुटि हुँदा नतिजामा फरक परेको हो । एनटिसीले दिएको नतिजा ठीक छ । हाम्रो वेबसाइटमा त्रुटि भएछ ।

बिहान गुनासो आएपछि इन्जिनियरसँग बुझेँ, डाटामा सामान्य त्रुटि भएको रहेछ । यो ठूलो त्रुटि होइन । त्यसो भए हिजो (शनिबार) दिएको जिपिएको रेन्जमा पनि धेरै फरक प-यो होइन ? हामीले प्रिन्ट गरेर दिएको तथ्यांकमा फरक परेको छैन । वेबसाइटमा अपलोड गर्दा मात्र समस्या हो ।

गल्ती गर्नेलाई कारबाही हुन्छ ?

यो ठूलो त्रुटि होइन, कारबाही के गर्नु !

रिजल्ट अपलोड गर्ने इन्जिनियर नसिव आचार्य भन्छन्: प्राविधिक त्रुटि भयो
यो वर्ष पहिलोपटक पनिकामा मैले रिजल्टको काम गरेको हो । हाम्रो वेबसाइटमा सिस्टम कम्पाटिबिलिटी नमिलेकाले रिजल्ट फरक पर्न गयो । हामीले जेनेरेट गरेको सिस्टममा इरर हुँदा नतिजामा फरक पर्न गयो । हाम्रो वेबसाइटमा पनि मिस्टेक भयो । एनटिसीमा अपलोड नहुँदै मिलाएर दियौँ, त्यसमा नतिजा ठीक आयो । रिजल्ट सार्वजनिक गर्ने अरू सबैलाई करेक्सन गरेका छौँ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल भन्छन्: दोषीलाई कारबाही हुन्छ
राष्ट्रिय परीक्षा बोर्डले अधिकार प्रत्यायोजन गरेर परीक्षा नियन्त्रण कार्यालयले एसइईको परीक्षा सञ्चालन गरेको थियो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले सिस्टममा त्रुटि भएको विषयमा जानकारी पाएको बताए । ए र ए प्लस ल्याउने विद्यार्थीको नतिजामा समस्या रहेको प्रारम्भिक जानकारी पाएको उनले बताए ।

९० अंक ल्याउने विद्यार्थीको ग्रेड ए प्लस हुनुपर्नेमा सिस्टमले ए ग्रेड देखाएको रिपोर्टिङ भएको पौडेलले बताए । पनिकाको त्रुटिले विद्यार्थीलाई असर परेको उनले बताए । ‘पहिले छानबिन गर्छौँ, त्यसपछि के गर्ने भन्ने निर्णय हुन्छ,’ पौडेलले भने । व्यक्तिका कारण गल्ती भएको पाइएमा कारबाही हुने उनले बताए भन्दै भवानीश्वर गौतम नयाँपत्रिकामा खबर लेखेका छन् ।

प्रकाशित मिति: Jun 25, 2018

प्रतिक्रिया दिनुहोस्