Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदीका महिलाले आइतबारबाट सवारी चलाउन पाउने

रियाद : साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन् । उनीहरुलाई आइतबारबाट सवारी चलाउन पाउने अनुमति दिइएको रियादबाट प्राप्त समाचारमा जनाइएको छ ।

लामो प्रतीक्षापछि साउदी अरेबियाका राजा सलमानले पहिलो पटक महिलालाई गाडी चलाउन दिने एउटा आदेश जारी गर्नुभएको हो ।

महिलाले पनि सवारी साधन आफै हाँक्न पाउने नियम सन् २०१८ को जुन महिनादेखि लागू हुनेगरी राजाको आदेश आएको त्यहाँको सरकारी समाचार संस्थाले यसअघि नै जनाएको थियो ।

साउदी प्रेस एजेन्सीका अनुसार मन्त्रालयहरुले त्यससम्बन्धी कार्यको प्रतिवेदन तयार पारेर राजालाई दिएका र अब यही आइतबारबाट नै उनीहरुले यस्तो अधिकार पाएका जनाएको छ ।

महिलालाई पनि गाडी चलाउने अनुमति दिनुपर्ने माग गर्दै महिला तथा अधिकारवादी संस्थाहरुले लामो समयदेखि अभियान चलाउँदै आएका थिए ।

विश्वमा साउदी अरेबिया मात्र एक मुलुक हो जहाँ महिलाले गाडी चलाउने अनुमति पाएका थिएनन् । अब उनीहरुले यो अधिकार प्राप्त गरेका साउदी सरकारले जनाएको छ ।

साउदीको विद्यमान कानून अनुसार त्यहाँ पुरुषले मात्र सवारी चालक अनुमतिपत्र पाउने गरेका थिए । सो कानूनमा संशोधन गरी राजाले नै आदेश दिएपछि महिलाले यो अधिकार प्राप्त गरेका हुन् ।

यसअघि पनि लुकिछिपी महिलाले गाडी चलाउने गरेको भए पनि सरकारी नीतिको अवज्ञा गरेको आरोपमा महिलाहरुमाथि कडा जरिवाना गरिन्थ्यो । कतिपयले जेल सजायँ नै भोग्नुपरेको पनि बताइएको थियो ।

केही महिनाअघि सरकारले यो नीति बनाएर जुनदेखि सवारी आफै हाँक्न दिने बताएको थियो । त्यो नीतिको घोषणा भएपछि यहाँ महिलाका लागि सवारी चालकसम्बन्धी तालिम र सवारी चालक अनुमति पत्र दिने प्रक्रियाको सुुरुवात भएको थियो ।

कैयौँ महिलाले सवारी चालनसम्बन्धी तालिम लिएका र सवारी चालक अनुमतिपत्र लिएका समाचारमा जनाइएको छ । अधिकारीहरुले आइतबार महिलाले सवारी चलाउने कार्यको सुरुआत एक विशेष कार्यक्रममार्फत गरिने जनाएका छन् ।

संयुक्त राज्य अमेरिकालगायत विश्वका देशहरुले महिलालाई पनि गाडी चलाउन दिने साउदी राजाको आदेशको स्वागत गरेका छन् । उनीहरुले साउदी सरकारको यस कदमलाई मानवअधिकारको पक्षमा एउटा महत्ववपूर्ण कदम भनेका छन् ।

प्रकाशित मिति: Jun 22, 2018

प्रतिक्रिया दिनुहोस्