Logo
१५ चैत्र २०८०, बिहीबार
(June 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको छ– ट्रम्प

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको बताएका छन् ।

अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिङ्गापुरमा भएको शिखर वार्ताको विषयमा विभिन्न व्यक्तिबाट आलोचनात्मक विचारहरु आइरहेका बेला राष्ट्रपति ट्रम्पले यो भनाइ राखेका छन् ।

यी दुई देशबीच भएको उक्त ऐतिहासिक वार्तामा भएका सम्झौताको कार्यान्वयनका बारेमा विभिन्न रुपमा आलोचना भइरहेको छ ।

कतिपय अमेरिकी नागरिकले नै सम्झौतामा हस्ताक्षर गरेबमोजिम उत्तर कोरियाले निशस्त्रीकरण गर्न नसक्ने बताउँदै आएका छन् ।

राष्ट्रपति ट्रम्पले मन्त्रिपरिषदको बैठकमा उत्तर कोरियाले यसअघि नै एउटा पारमाणविक उत्पादन केन्द्र भत्काइसकेको र सो कुरा सार्वजनिक पनि भइसकेको बताए ।

मन्त्रिपरिषद बैठकमा उहाँले उत्तर कोरियाले उसका चारमध्ये एउटा यस्तो शक्तिशाली केन्द्र भत्काइसकेको छ र जसका कारण अन्तर्राष्ट्रिय समुदायमा पनि उसप्रतिको सकारात्मक प्रतिक्रिया आएको छ भन्नुभएको मन्त्रिपरिषदको बैठकलाई उद्धृत गर्दै जनाइएको छ ।

गएको जुन १२ मा सिङ्गापुरमा भएको वार्ताकै क्रममा पनि उत्तर कोरियाली नेता किम जोङ उनले आफूले शक्तिशाली आणविक केन्द्र भत्काइसकेको जानकारी दिनुभएको समाचार आएको थियो ।

तर उत्तर कोरियाको भनाइको विश्वास पूर्ण रुपमा गर्न नहुने भन्दै अमेरिकी समुदायले नै राष्ट्रपति ट्रम्पको आलोचना गरिआएका छन् ।

उत्तर कोरियाले अमेरिकासहित विश्वका दश देशका पत्रकारलाई नै आमन्त्रण गरी उनीहरुको रोहवरमा उक्त आणविक केन्द्र भत्काएको थियो । तर त्यहाँ कतिवटा यस्ता केन्द्र छन् भन्ने बारेमा भने विज्ञहरुको विचार फरक फरक आएको छ ।

कतिपयले त्यहाँ शक्तिशाली छ वटा यस्ता आणविक केन्द्र भएको बताउँछन् भने केहीले यहाँ यस्ता केन्द्रहरु चारवटा मात्र रहेका बताउने गरेका छन् ।

यसरी उनीहरुका विचारमा आणविक केन्द्र पनि उत्तर कोरियाले सबैजसो नष्ट गर्न नसक्ने अवस्था रहेको बताएका छन् ।

तर राष्ट्रपति ट्रम्पले भने आफू उत्तर कोरिया पूर्ण रुपमा नै निशस्त्रीकरणमा जाने कुरामा आफू विश्वस्त भएको बताउनुभएको छ । उहाँले अमेरिकी मन्त्रिपरिषदको बैठकमा पनि सोही जवाफ दिनुभएको बताइएको हो ।

प्रकाशित मिति: Jun 22, 2018

प्रतिक्रिया दिनुहोस्