Logo
७ बैशाख २०८१, शुक्रबार
(June 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्पतालमा उपकरण र जनशक्तिको अभावका कारण सेवा प्रवाहमा कठिनाइ

दाङ : राप्ती अञ्चल अस्पताल तुलसीपुरमा शुरु भएको मिर्गौला रोगीका लागि डाइलोसिस सेवा प्रभावकारी हुन सकेको छैन । उपकरण र जनशक्तिको अभावका कारण सेवा प्रवाहमा कठिनाइ भएको अस्पतालले जनाएको छ ।

दुई महिनाअघि दुईवटा उपकरण जडान गरी सेवा शुरु गरिएको सो अस्पतालमा डाइलोसिस सेवा लिने बिरामीको चाप भने अत्यधिक भएको अस्पताल प्रशासनले जनाएको छ ।

हाल जडान गरेको उपकरणबाट छजना बिरामीलाई मात्र सेवा दिन सकिने भएकाले मिर्गौला रोगीले अन्य स्थानमा गएर सेवा लिन बाध्य भएका छन् । अस्पतालका निमित्त मेसु डा विनोद सिंंहले मेशिनको उपकरण र चिकित्सक अभावका कारण सोचेअनुरुप सेवा दिन नसकेको बताउनुभयो ।

उहाँले हप्तामा दुईपटक एकजनालाई सेवा दिने गरेको जानकारी दिनुभयो । ‘‘हामीहरुसँग दुईवटा मात्र उपकरण छन् । डाइलोसिस सेवाका लागि प्राप्त जनशक्ति र उपकरण अभावले सबैलाई सेवा दिन सकेका छैनौँ”, डा सिंहले राससलाई भन्नुभयो, ‘‘अर्को उपकरण र जनशक्ति भएमा सेवा प्रवाहमा सहज हुन्छ ।”

हाल एकजना फिजिसियन डाक्टर, दुईजना स्टाप नर्स र कार्यालय सहयोगीबाट सेवा सञ्चालन भइरहेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार देवकोटाले पनि उपकरणको अभाव र जनशक्ति नहुँदा सेवा प्रवाहमा कठिनाइ भएकाले मन्त्रालय तथा स्थानीय तहसँग पहल भइरहेको बताउनुभयो । ।

“कसरी अस्पतालको विकास गर्न सकिन्छ र धेरै विशेषज्ञ सेवा दिन सकिन्छ भन्नेमा हामीहरुले पहल गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

त्यस्तै अस्पतालले शुरु गर्ने भनेको सघन उपचार कक्ष आइसियु सेवा पनि शुरु हुन सकेको छैन । अस्पतालमा तीन वर्ष पहिले नै आइसियु सेवा सञ्चालनका लागि ल्याएका उपकरण सहितका औजारमा पनि खिया लाग्न थालेका छन् ।

‘‘आइसियु सेवा सञ्चालनका लागि भौतिक पूर्वाधार भएपनि जनशक्ति अभाव छ त्यसैले सेवा शुरु गर्न सकिएको छैन”, अध्यक्ष देवकोटाले भन्नुभयो ।

तेह्रजना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल चारजना मात्र चिकित्सक छन् । अस्पतालमा पाँचजना मेडिकल अधिकृत रहेको र एकजना बिदामा रहेको बताएको छ ।

उक्त अस्पताल एक वर्षदेखि मडिकल सुपरिटेण्डेन्टविहीन छ । एक वर्ष पहिले यहाँका मेसु सरुवा भएर गएपछि मन्त्रालयले हालसम्म पनि मेसु पठाएको छैन ।

हाल कामकाजका लागि अस्पतालमा रहेका स्त्रीरोग विशेषज्ञ डा.विनोद सिंहलाई निमित्त मेसुको जिम्मा दिए पनि एक वर्षदेखि अञ्ंचल अस्पताल मेसुविहीन भएको हो । (रासस)

प्रकाशित मिति: Jun 19, 2018

प्रतिक्रिया दिनुहोस्