Logo
१२ बैशाख २०८१, बुधबार
(June 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विज्ञान प्रविधिलाई उपयोग गरी समृद्धिको मार्गमा अघि बढ्ने छ : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक विज्ञान प्रविधिलाई अधिकतम उपयोग गरी मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाइने बताएका छन् । राष्ट्रिय युवा परिषद्ले शुक्रबारदेखि आयोजना गरेको ‘प्रथम विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन’ को उद्घाटन गर्दै उनले उपलब्ध प्राकृतिक स्रोत, साधनलाई वैज्ञानिक तवरले समृद्धिसँग जोडिनुपर्ने बताए ।

प्रधानमन्त्री भने, ‘हामीसँग प्राकृतिक स्रोत, साधन र खनिजयुक्त सम्भावना छ, एउटै कुरा मात्रै आवश्यक छ, आत्मविश्वास र प्रतिबद्धता हामी गर्न सक्छौँ र गर्छौं भन्ने भावना युवा वैज्ञानिकमा हुनुपर्छ त्यति भएपछि हाम्रो विकासलाई कसैले रोक्न सक्दैन । युवा पलायन रोक्न र रोजगार सिर्जना गर्नेतर्फ सरकार गच्छे अनुसार सहयोग गर्न तयार छ । यसका लागि युवा वैज्ञानिक पनि प्रतिबद्धताका साथ लाग्नुपर्छ’, । विज्ञान र प्रविधि हरेक क्षेत्रको विकास तथा उत्पादन र उत्पादकत्व वृद्धिका लागि महत्वपूर्ण छ भन्दै उनले कृषिको वैज्ञानिकीकरण, खनिजजन्य वस्तुको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरेका छन् ।

विज्ञान र प्रविधिको सदुपयोग गर्न नसकेकै कारण मुलुकले विकासको फड्को मार्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले थपेका छन् ‘अब संकल्प गर्नुपरेको छ, यो पछौटेपन र गरिबीलाई सहदैनौँ यसका लागि हरेक नयाँ उचाइ रेखा तय गर्नुपर्छ । देश बनाउने जिम्मा अब युवाको काँधमा आएको छ ।’ फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले आफू पद जोगाउन नभई देश जोगाउनका लागि काम गर्ने प्रणका साथ लागेको भन्दै समृद्धिको यो यात्रामा सबै क्षेत्रको सहयोग र सहकार्य अपरिहार्य भएको बताए । उनले सम्मेलनबाट आएको निष्कर्षलाई मुलुकको समृद्धिसँग जोडेर प्रभावकारी कार्यान्वयनमा ल्याइने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

 

युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सुशासन, विकास र समृद्धिका लागि समग्र युवा जनशक्तिलाई भरपुर परिचालन गरिनुपर्नेमा जोड दिए । उनले वैज्ञानिक खोज, अनुसन्धान तथा उत्पादनशील र आत्मनिर्भर बनाउनेतर्फ मन्त्रालयले विभिन्न कार्यक्रम अघि बढाएको उल्लेख गरेका छन् । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले उत्पादनशील र स्वरोजगारका लागि युवा लक्षित कार्यक्रमलाई देशव्यापीरुपमा लगिएको जानकारी दिए । तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा डा सन्दुक रुइतले विज्ञान र प्रविधिको माध्यमबाट युवा शक्तिलाई समाहित गरेरमात्रै मुलुकको समृद्धिले सार्थकता पाउने उल्लेख गरेका छन् ।

सम्मेलनका संयोजक खिम पन्थीले वैज्ञानिक युवा शक्तिलाई प्रविधिमैत्री बनाई कसरी समृद्धि निर्माणमा सहभागिता अभिवृद्धि गर्ने भन्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए । विज्ञान, सूचना तथा प्रविधिका क्षेत्रका विभिन्न विषयगत क्षेत्रका विद्यमान अवस्थाको वस्तुनिष्ठ समीक्षा गरी आगामी दश वर्षका लागि आवश्यक कार्यनीति तय गर्ने तथा नेपाली युवा वैज्ञानिकले गरेका आविष्कार, अनुसन्धान, सोधलाई आमजनतासमक्ष पु¥याउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो । तीन दिनसम्म चल्ने सम्मेलनमा प्राकृतिक, विज्ञान, चिकित्सा र आयुर्वेद विज्ञान, इन्जिनियरिङ, जैविक विज्ञान, भूगर्भ, वातावरण र मौसम, परम्परागत प्रविधि, कृषि तथा वनविज्ञान, सूचना। सञ्चार तथा प्रविधि, खगोल तथा अन्तरिक्ष, विकीकरण तथा ऊर्जालगायत १२ वटा विषयमा सम्बन्धित विज्ञहरुले कार्यपत्र प्रस्तुत हुनेछ ।

सम्मेलनमा करीब ४०० युवा अनुसन्धानकर्मी, वैज्ञानिक, नीति निर्माता र विज्ञानसँग सम्बन्धित सरोकारवाला निकाय संघसंस्थाको सहभागिता रहेको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलन परिसर खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष परिसरमा युवा वैज्ञानिकद्वारा आविष्कार गरिएका विज्ञान सूचना तथा प्रविधिसम्बन्धी प्रदर्शनीको अवलोकन गरेका थिए ।

प्रकाशित मिति: Jun 15, 2018

प्रतिक्रिया दिनुहोस्