Logo
१५ चैत्र २०८०, बिहीबार
(June 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीयले जुटाए विद्यालय भवन निर्माणका लागि रकम

बेनी : म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका स्थानीयले विद्यालय भवन निर्माणको लागि एक करोड २९ लाख जुटाएका छन् ।

भकिम्लीको जयन्ती माविको भवन निर्माणका लागि स्थानीयले स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सो रकम जुटाएका हुन् ।

पुरानो भवन जीर्ण भएपछि सरकारी निकायबाट अपेक्षा गरेअनुसारको सहयोग नमिल्दा स्थानीयले आफ्नै पहलमा रकम जुटाएर पुरानो भवनलाई भत्काई नयाँ भवन निर्माण शुरु गरेका थिए । ३० कोठे सुविधासम्पन्न भवन अहिले अन्तिम चरणमा पुगेको विद्यालयका प्रधानाध्यापक रामबहादुर थापाले जानकारी दिए ।

विद्यालय भवन निर्माणका लागि साविकको जिल्ला शिक्षा कार्यालय हाल शिक्षा विकास तथा समन्वय एकाइबाट जम्मा ३१ लाख ४४ हजार अनुदान प्राप्त भएको विद्यालयका प्रधानाध्यापक थापाले बताए ।

थापाले भौतिक पूर्वाधार निर्माणमा यूके, हङ्कङ, अमेरिका, स्पेन, बेल्जियम, कतार, जापानलगायत विश्वका विभिन्न देशमा रहेका भकिम्लीवासी प्रयास अतुलनीय रहेको बताए । पटकपटक भत्किएर मर्मत गरी पुनःमर्मत गरिएका भवनलाई विस्थापित गर्ने स्थानीयको पहललाई विदेशमा रहेका नेपालीसमेत उत्साहित भएका छन् ।

भवन निर्माणमा रु ५० देखि पाँच लाखसम्म चन्दा हाल्ने चन्दादातालाई सम्मान गरिने विद्यालयले जनाएको छ विद्यालय भवनको अन्तिम ढलान बाँकी रहेको छ ।

भवनमा बेल्जियममा सञ्चालित हिमालयन पोजेक्टका पाउल भान्द्रेको रु १५ लाख सहयोग गरेका छन् । उत्तरी म्याग्दीको घार चित्रेकी निता बुदुजा पुनका श्रीमान्समेत रहेका पाउलले करीब ४५ लाख सहयोगको प्रतिबद्धता जनाए । थप रु एक करोड संकलन गर्ने लक्ष्य रहेको विद्यालयले जनाएको छ ।

वडाध्यक्षसमेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले निर्माणको अन्तिम चरणमा रहेको भवनलाई जिल्ला शिक्षा कार्यालयबाट सात कोठे भवनका लागि बजेट विनियोजन भए पनि बाँकी सबै चन्दा संकलन गरिएको बताए ।

प्रकाशित मिति: Jun 13, 2018

प्रतिक्रिया दिनुहोस्