Logo
७ बैशाख २०८१, शुक्रबार
(June 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संभावित बिखण्डणको खतराबाट जोगाउन फोरमलाई सरकारमा ल्याएका हौं : प्रचण्ड

काठमाडौं, २१ जेठ : प्रदेश नम्बर २ लाई संभावित बिखण्डणको खतराबाट जोगाउन संघीय समाजवादी फोरमलाई केन्द्र सरकारमा ल्याएको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलासा गरेका छन् । उनले चाँडै नै फोरमसंग समेत पार्टी एकता हुने गृहकार्य भइरहेको बताए । ‘प्रदेश नम्बर २ मा बिखण्डनको ठुलो खतरा थियो अब भने त्यो संभावना रहेन’ उनले भने ‘चाँडै नै केन्द्रले नै चाहेका अनुसार त्यहाँ पनि प्रदेश सरकार बन्ने छन् ।’

दुई नम्बर प्रदेशमा चलखेल गरेर केन्द्र सरकारलाई अस्थीर बनाउने कोशिस भएका उनले बताए । नेपाल पत्रकार महासंघ चार नम्बर प्रदेशले सोमबार बिहान पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘दुई नम्बर प्रदेशलाई बाँकी प्रदेशहरुको स्थितिभन्दा अलग गराउने र त्यहाँ चलखेल गरेर सरकारलाई अस्थीर बनाउने कसैले सपना देखेको या त्यसको निम्ति कसरत भएको हामीले देखेका थियौं । त्यसको ढोका चाहिँ बन्द भयो ।’

प्रचण्डले संघीय समाजवादी फोरमको नाम नलिइकन भने, ‘अहिलेको केन्द्र सरकारको फर्मेसनले अब दुई नम्बर प्रदेशमा पनि केन्द्र सरकारकै प्रभावमा सरकार बन्ने बाटो खुल्यो ।’ केपी ओली नेतृत्वको वर्तमान सरकारमा हालै संघीय समाजवादी फोरम पनि समावेश भएको छ । सरकारमा फोरम अध्यक्ष उपेन्द्र यादव आफै उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्री छन् । उनले अघि भने, ‘अब अपोजिसन (प्रतिपक्ष)ले कसरी काम गर्छ र सत्तापक्षले कसरी काम गर्छ, ति सबै इतिहासको परीक्षामा छन् ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिलेको सरकार तानाशाही बन्ने सम्भव नभएको पनि स्पष्ट पारे । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा कम्युनिस्टहरुकै मुख्य भूमिका रहेकाले प्रतिपक्षीले आरोप लगाएजस्तो तानाशाही बन्ने कुरा निराधार रहेको उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘नेपालमा लोकतान्त्रिक क्रान्तिको या गणतान्त्रिक आन्दोलनको नेतृत्व र सबभन्दा बढी बलिदान कम्युनिस्टहरुले नै गरेर यहाँ लोकतन्त्र र गणतन्त्र आयो । त्यसकारण कम्युनिस्टहरु अटोक्रेसीतिर जान्छन् कि भन्ने कुरा बिल्कुल निराधार र नेपालको ऐतिहासिक यथार्थसँग मेलै नखाने कुरा हो ।’ उनले कम्यनिस्टहरुले मात्रै लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गर्न सक्ने बताए ।

उनले अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले त्यसको विकल्पबारे नेतृत्व तहमा छलफल चलेको जानकारी पनि दिए । ‘निर्वाचनबारे अहिले हामीले जे जस्तो मानसिकताबाट सोच्ने गरेका छौं त्यो मानसिकता नै बदल्नुपर्ने अवस्था छ,’ प्रचण्डले भने, ‘के गर्ने भन्ने कुरा त अहिले हामी छलफल गरौं । तपाईंहरुले पनि बिचार गर्नुस्, कस्तो चुनाव प्रणालीले हामीलाई, हाम्रो लोकतन्त्रलाई सुदृढ गर्न सहयोग गर्छ ।’

प्रकाशित मिति: Jun 4, 2018

प्रतिक्रिया दिनुहोस्