Logo
१३ बैशाख २०८१, बिहीबार
(May 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कम्युनिष्ट अभिनायकवादको संविधानभित्रैबाट खतरा, कांग्रेस इतिहासकै कमजोर

वीरगञ्‍ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संविधानको परिधिभित्रैबाट कम्युनिष्ट अभिनायकवादको खतरा बढेको औंल्याएका छन् । वीरगञ्जमा जारी राप्रपाको केन्द्रीय परिषदको बैठकमा अध्यक्ष थापाले पेश गरेको राजनीतिकि प्रतिवेदनमा संविधानभित्रैबाट कम्युनिष्ट शासनको सुरु हुन लागेका दाबी गरेका हुन्।

सोमबारदेखि सुरु भएको परिषदको बैठकमा थापाले पेश गरेको प्रतिवेदनमा भनिएको छ, ‘नयाँ संविधान जारी भै हालै सम्पन्न निर्वाचन पश्चातको छोटो अवधिको राजनीतिक घटनाक्रमबाट स्पष्ट भैसकेको छ कि हामी प्रजातन्त्रको आवरणमा क्रमशः सर्वसत्तावाद तर्फ उन्मुख भैरहेका छौं ।’

थापाले ठम्याउन नसकिने गरी कम्युनिष्टहरुले प्रजातन्त्रप्रति आक्रण गरेको उल्लेख गरेका छन्। ‘लोकतन्त्रको नाममा गरिएको आन्दोलनले जनताको अधिकार र स्वतन्त्रतालाई सुदृढ तुल्याउनुको सट्टा सर्वसत्तावादी कम्युनिष्ट शक्ति र विचारधार बलियो बनाउँदै लगिरहेको छ।

गत एक दशकको घटनाक्रम र पछिल्लो निर्वाचन परिणामले नेपालमा कम्युनिष्टहरुको बर्चस्वलाई स्थापित गदै लगिरहेको छ। सतहमा हेर्दा संविधान बमोजिम नै काम भैरहेको देखिन्छ, जनताको अभिमत अनुरुप नै निर्णय भैरहेको देखिन्छ तर संविधान र जनमतलाई यसरी दुरुपयोग गरिएको हुन्छ जसलाई ठम्याउन समेत कठिन हुन्छ, प्रतिवेलनमा भनिएको छ।

कमल थापाले प्रजातान्त्रिक दलका रुपमा उभिएको राप्रपा मात्र नभइ नेपाली कांग्रेस पनि इतिहासकै कमजोर विन्दुमा पुगेको विश्लेष्ण गरेका छन् । कांग्रेस विपी गणेशमान र कृष्णप्रसाद भट्टराईको सिद्धान्त त्यागेर गुटको दलदलमा फसेको उनको भनाइ छ।

राजनीतिक प्रतिवेदनमा कांग्रेसबारे थापाले लेखका छन्, ‘जहाँसम्म अन्य प्रजातान्त्रिक दलहरुको प्रश्न छ, नेपाली कांग्रेस ईतिहास कै सर्वाधिक कठिन घडिबाट गुज्रिरहेको छ । इतिहासको विभिन्‍न कालखण्डमा प्रजातन्त्रको निमित्त नेतृत्वकारी भूमिका निर्वाह गरेको कांग्रेस अहिले आफ्नै अकर्मण्यताको परिणामबाट पिडित रहेको छ ।बि पि कोईराला, गणेशमान सिंह, सुवर्ण शमसेर र कृष्णप्रसाद भट्टराईले प्रतिपादन गरेको विचार, मान्यता र नीतिलाई नेपाली कांग्रेसको समकालिन नेतृत्वले पूर्णरुपमा तिलाञ्जली दिएको छ।’

थापाले कांग्रेसलाई भ्रष्टाचार डुबेको आरोप लगाएका छन्। ‘नेपाली कांग्रेस अहिले सैद्धान्तिक विचलन मात्र होईन तिव्र गुटबन्दीको शिकार र भ्रष्टाचारको दलदलमा भासिएको छ। नेपाली कांग्रेसको वर्तमान नेतृत्वमा ईतिहास बदल्न सक्ने साहस, क्षमता र दूरगामी सोचाईको सर्वथा अभाव रहेको छ, थापाले पेश गरेको प्रतिवेदनमा भनिएको छ। मंगलबार प्रतिवेदनमाथि प्रादेशिक रुपमा छलफल भइरहेको छ। समूहगत छलफलबाट उठेका विषयलाई परिषद बैठकमा पेश गर्ने र अध्यक्ष थापाले जवाफ दिने कार्यक्रम रहेको मोहन श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: May 22, 2018

प्रतिक्रिया दिनुहोस्