Logo
११ बैशाख २०८१, मंगलबार
(May 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’ पक्राउ

काठमाडौं, ८ जेठ : सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् । गोरे पछिल्लो समय भारतमा लुकेर बसेको अाशंकामा प्रहरीले निगरानी बढाएकाे थियो । उनलार्इ कहाँबाट पक्राउ गरिएको हो भन्ने खुलाइएको छैन । यद्यपि उनी पक्राउ परेकाे सुन तस्करी प्रकरणकाे अनुसन्धान गर्न गठित छानबिन समितिका एक उच्च अधिकारीले पुष्टि गरे ।

चर्चित साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त हुन्, मोरङ, उर्लाबारीका चुडामणि उप्रेती । ‘गोरे’ उपनामले चिनिने उनलाई ‘गोल्ड डन’ पनि भन्ने गरिन्छ । प्रहरी उच्च अधिकारीहरुसँग हिमचिमबाट फाइदा उठाउँदै गोरेले सुन तस्करी गर्दै आएका थिए । यसअघि पनि उनको नाम तस्करीसँग नजोडिएको होइन तर, बच्दै आएका थिए । यो पटक सनमको हत्याभएपछि उनी अनुसन्धानको घेरामा तानिएका थिए ।

उनी मध्यम वर्गीय परिवारमा हुर्किएका थिए । नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षकका छोरा उप्रेतीले भारतीय सेनामा जागिर खाने प्रयास पनि गरेको थिए । तर, त्यहाँ पुगेर सेनाको तालिम लिएको केही समयमै उनी भागेका थिए ।माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको गाइगुइ चलेको थियो । तर, भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भयो ।

घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा पूर्व डिअार्इजी गोविन्द निरौला, महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसीसहित ७ प्रहरी अधिकारी पक्राउ परेका छन् ।

एसएसपी श्याम खत्री अझै फरार छन् । घटनामा संलग्न ६३ जनाविरुद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको छ । यो मुद्दामा जिल्ला अदालत मोरङमा बहस जारी छ । घटनाको अनुसन्धान गर्न सरकारले गृहमन्त्रालयका सह-सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियो ।

प्रकाशित मिति: May 22, 2018

प्रतिक्रिया दिनुहोस्