Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको नीति तथा कार्यक्रम : ५ वर्षमा दोहोरो अंकको आर्थिक वृद्धि, दोब्बर प्रतिव्यक्ति आय

काठमाडौँ : सरकारले अगामी पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा नेपालीहरुको प्रतिव्यक्ति आयलाई पनि पाँच वर्षमा दोब्बर पुर्‍याउने पनि उल्लेख गरिएको छ।

सोमबार प्रस्तुत गरिएको नीति र कार्यक्रममा अगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर दोहोरो अंकको नजिक पुर्‍याउने र पाँच वर्षमा दोहोरो अंक पुर्‍याउने उल्लेख गरेको हो । मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै त्यसको समाधानको लागि आवश्यक कदमहरु चाल्ने सरकारले घोषणा गरेको छ।

भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपाललाई १० वर्षभित्र मध्यमस्तरको अायसहित विकासशील राष्ट्र बनाउने उल्लेख गरिएको छ।  यसका लागि सरकारले सरकारी खर्चको नतिजा खोजिने र नतिजा प्राप्त नहुने क्षेत्रमा वजेट विनियोजन नगरिने उल्लेख गरेको छ। त्यसैगरी वित्तिय अनुशासनलाई प्रमुखता दिइने उल्लेख गरेको छ।

त्यसैगरी आन्तरिक स्रोत परिचालनलाई प्राथमिता दिंदै उत्पादन बृद्धिलगायतका क्षेत्रमा पुँजी लगानी बढाइने पनि नीति तथा कार्यक्रममा छ। समृद्ध नेपाल र सुखी नेपालको अवधारणालाई एक दशकभित्र पूरा गरिने पनि भनिएको छ। नीति तथा कार्यक्रम समद्धिको इतिहासको आधार वर्ष भएको भन्दै सरकारले विकासनीति, कार्यनीतिमा आमुल परिवर्तन गरिने जनाएको छ।

‘अबको हाम्रो विकास, सूचना र अनुसन्धानमा आधारित हुनेछन्। राष्ट्रिय तथ्यगत विवरण तयार गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ– ‘सुरक्षा, परराष्ट्र सम्बन्धका विषयमा अध्ययनका लागि विज्ञहरुको थिंक ट्यांक बनाइनेछ।’  नेपालको अर्थतन्त्रलाई उच्च आर्थिक वृद्धिदरसहित सबल बनाइने र त्यसका लागि अर्थतन्त्रको संरचनामै परिमार्जन गरिने योजना पनि सरकारको रहेको छ।

५ वर्षमा कृषिमा आश्रित जनशक्ति उत्पादन, कृषि उत्पादन बढाउन आधुनिकीकरण र प्राविधिकीकरण गरिने पनि सरकारको नीति रहेको छ। ‘कृषियोग्य भुमिको खण्डिकर र अतिग्रहण रोकिनेछ, उत्पादन विविधिकरण गरिनेछ’, कार्यक्रममा भनिएको छ।

‘कृषि उत्पादनलाई चाहिने मल विउ पशु सेवा केन्द्रमार्फत उपलब्ध, कृषि ज्ञान केन्द्र स्थापना गरिनेछ, उत्पादन, विक्री वितरण मूल्य नियन्त्रण गरिनेछ। वन व्यवस्थापनलाई बैज्ञानिक बनाइनेछ’, सरकारको नीति तथा कार्यान्वयनमा भनिएको छ।

रेल र जलमार्ग 

सरकारको नीति तथा कार्यक्रममा रेलमार्ग र जलमार्ग निर्माण प्राथमिकतामा परेको छ। राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा लगानी प्रोत्साहन गरी मेची–महाकाली, रक्सौल–काठमाडौं, रसुवागढी काठमाडौं रेलमार्ग निर्माण गरिने तथा कोशी, गण्डकी रकर्णाली नदीमा जल यातायात सञ्चालन गर्न कानूनी तथा संस्थागत वातावरण बनाइने उल्लेख छ।

पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार गर्ने योजना रहेको नीति तथा कार्यक्रममा वर्तमान पुस्ताले महसुस गर्नेगरी नै विकास र समृद्धि गरिने उल्लेख छ। सरकार असल छिमेक नीतिमा विश्वास गर्ने भन्दै देश भक्तिलाई होच्याउने कुरा सरकालाई स्वीकार्य नहुने भनिएको छ। ‘जोरजुलुम र अराजकता सरकारले स्वीकार्दैन।

लोकतन्त्रका आधारभुत मान्यता सरकारले कायम गराउँछ। लोकतन्त्र मासिएला र अराजकता आउला भन्ने कुरामा सरकार विश्वास गर्दैन।’ शान्ति, विकास र अग्रगमनलाई अगाडि बढाइने पनि उल्लेख छ।

प्रकाशित मिति: May 21, 2018

प्रतिक्रिया दिनुहोस्