Logo
१२ बैशाख २०८१, बुधबार
(May 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईपीएल लगत्तै सन्दीप लामिछानेले अष्ट्रेलियाको ‘बिग बास’ मा खेल्ने

इन्डियन प्रिमियर लिग (आईपीएल) लगत्तै क्यारेबियन लिगमा अनुबन्ध भएका सन्दीप लामिछानेले अष्ट्रेलियाको सबैभन्दा ठुलो क्रिकेट लिग ‘बिग बास’ मा आउने सम्भावना बढेको छ । अष्ट्रेलियामा रहेको नेपाली क्रिकेटरहरुको संस्था नेप्लिज क्रिकेट एसोसिएसनका पूर्व अध्यक्ष तथा सल्लाहकार अजय क्षेत्री सन्दीपले बिग बासमा सहज स्थान पाउने धेरै कारणहरु भएको सुनाउँछन् । एकातिर अष्ट्रेलियामा रहेका केही नेपाली खेलाडीहरु पहिल्यैदेखि यहाँका क्लबहरुमा अनुबन्धित छन् भने अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्क, रिक्की पोन्टिङ लगायतको साथ उनलाई छ । क्लार्क आफैं सिड्नी थण्डरका पूर्व खेलाडी हुन् ।

नेप्लिज क्रिकेट एसोसिएसन अष्ट्रेलियाका अध्यक्ष रुपक चुडालका अनुसार यस वर्ष सिड्नी थण्डरको अलस्टार टीममा नेपाली युवा गोविन्द कार्की र मेलबर्न रेनिगेड्सको च्याम्पियन टीमबाट सुनाम गौतम खेलिरहेका छन् । प्रतिभा भएका नेपाली युवाहरुलाई केही वर्षदेखि नै स्थान दिन थालिएकाले समेत सन्दीपले यहाँको लिग प्रतियोगितामा यसै वर्ष अवसर पाउनसक्ने उनी सम्भावना देख्छन् ।

एक वर्षअघि सन्दीप अष्ट्रेलिया आएको समयमा क्लार्कको आग्रहमा एसोसिएसनले सहयोग पुर्‍याएको थियो । एसोसिएसनका सदस्यहरु सन्दीपको अष्ट्रेलियाली क्रिकेटमा सोही समयदेखि नै राम्रो छाप रहेको सुनाउँछन् । ‘सन्दीपलाई सबैभन्दा धेरै माया र प्रोत्साहन दिने खेलाडी नै क्लार्क हो, त्यसैले पनि उनको बिग बास लिग खेल्ने सम्भावना प्रबल छ,’ चुडाल भन्छन् ।

आईपीएलमा देखाएको प्रदर्शनले सन्दीपलाई ठुलो फ्रेन्चाइज प्रतियोगिताहरुमा खेल्नलाई ढोका खोलिदिएको हो । आईपीएलमा सन्दीपले दिल्ली डेयरडेभिल्सबाट पछिल्लो तीन खेल खेल्दै बलियो प्रभाव देखाएका थिए । उनले ३ खेलमा ५ विकेट लिए । उनले आइतबार ३ विकेट लिएपछि दिल्लीले मुम्बईलाई पराजित गर्दै सिजन टुंगाएको थियो । सन्दीपले खेलेको ३ मध्येको दुई खेलमा विजय हात पारे पनि दिल्ली अंक तालिकाको पुछारमा रह्यो । सन्दीपको आईपीएल यात्राको सुरुआत अस्ट्रेलियाबाटै भएको थियो ।

सन्दीप लामिछाने करिब एक वर्ष पहिले माइकल क्लार्कको निम्तोमा आउँदा यहाँको वेष्टर्न सबर्ब क्रिकेट टिमबाट खेल्ने अवसर पाएका थिए । सोही क्रममा सन्दीपलाई लिन विश्वकप विजयी कप्तान क्लार्क सिड्नी विमानस्थल नै पुगेका थिए । सोही बेला क्लार्कसहितका अष्ट्रेलियाली खेलाडीहरुले उनलाई भविश्यको राम्रो खेलाडी भन्दै प्रशंसा गरेका थिए । त्यसबेला कान्पिुरसँगको कुराकानीमा उनले अवसर आएमा अष्ट्रेलियाली लिग प्रतियोगिता खेल्न पनि तयार भएको प्रतिक्रिया दिएका थिए ।

आईपीएलमा देखाएको उत्कृष्ट प्रदर्शनले उनको अष्ट्रेलियाली लिगमा आउने सम्भावना प्रसस्त भएको यहाँको नेपालीहरुको विश्वास छ । बिग बास लिग अष्ट्रेलियाका विभिन्न राज्यहरुमा रहेका क्रिकेटका आठ टोलीहरुबिच हुने लाखौं डलरको वार्षिक प्रतियोगिता हो । बिग बास लिगमा विदेशी खेलाडीहरु खेलिरहेका छन् । ‘सन्दीप अष्ट्रेलियाको बिग बास लिगमा आउनेमा कुनै शंका छैन् । तर कति ढिलोचाँडो भन्ने मात्र हो,’ क्षेत्री सुनाउँछन् । उनी सन्दीपको लागि यहाँको लिग प्रतियोगिताको लागि क्लार्कले नै सहयोग गर्नसक्ने सम्भावना रहेको समेत बताउँछन् भन्दै कान्तिपुरमा खबर छ । ।

 

प्रकाशित मिति: May 21, 2018

प्रतिक्रिया दिनुहोस्