Logo
१५ चैत्र २०८०, बिहीबार
(May 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जातीय छुवाछूत र भेदभाव मुख्य विषयवस्तु रहेको मैथिली फिल्म “औकात” प्रदर्शनको तयारीमा

काठमाडौं : जातीय छुवाछूत र भेदभावलाई मुख्य विषयवस्तु बनाई निर्माण भएको मैथिली कथानक चलचित्र ‘औकात: ताकत प्रेम के’ प्रदर्शनको तयारीमा रहेको छ । तराई/मधेशमा छायाँकन भएको विशुद्ध मैथिली भाषाको चलचित्र औकातले सामाजिक विषयवस्तुलाई उठान गरेको निर्माण पक्षले जनाएको छ ।

शनिबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलनको आयोजना गरी मैथिली चलचित्र औकात प्रदर्शनको तयारीमा रहेको जानकारी दिइएको हो । शम्भुनाथ सिनेमा प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रले समाजमा व्याप्त रहेको छुवाछूत विरुद्ध कथावस्तु समेटिएको चलचित्रका नायक सबुरलाल सरदारले जानकारी दिएका छन् ।

सेन्सर बोर्डले पनि मैथिली चलचित्र औकातलाई अनुमति दिइसकेको जानकारी समेत दिएको छ । समयानुकूल मिलाएर केही दिनभित्रै देशव्यापीरुपमा प्रदर्शन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । कार्यक्रममा वरिष्ठ गायक हरिशंकर चौधरीले केही समयदेखि नेपालमा मैथिली चलचित्र जगतले पनि उल्लेखनीय फड्को मारिरहेको उल्लेख गर्दै औकातको कथावस्तु अत्यन्तै राम्रो रहेकोले यसले दर्शकको मन जित्ने दाबी गरेका छन् ।

चलचित्र औकातमा प्रेम कथा, कमेडी र एक्सनले भरिपूर्ण रहेको गायक चौधरीले बताए । उनले मैथिली भाषाको चलचित्र भएर पनि यसले समग्र नेपालको मुद्दालाई उठान गरेको बताए । पत्रकार सम्मेलनमा गीतकार तथा साहित्यकार विनित ठाकुर, गायिकाद्वय तनुजा चौरसिया र अञ्जली पटेल, सँगीतकार कमल मण्डल, थारु चलचित्रका निर्देशक इन्द्रकुमार चौधरी, कलाकारहरु बसन्ती सरदार, करिश्मा रावल लगायतले चलचित्रलाई सफलताको कामना गरेका छन् ।

चलचित्रमा कथा डि.पी. शास्त्री, निर्देशन राजु राजदेव चौधरी, सम्पादन शिव थारु, गीतकार सन्नु कुमार मण्डल, राजु चौधरी, सँगीत शैलेन्द्र कुमार विश्वकर्मा र रोहित प्रमोद, गायक/गायिका सन्नु कुमार, अंजु यादव, भागवत मण्डल, मुनचुन देव, नृत्य दरपी सरदार र द्वन्द्व निर्देशक श्री श्रेष्ठ रहेका छन् । यस्तै, चलचित्रका निर्माता राजकुमारी देवी सरदार र मालिक पण्डित रहेका छन् । श्रृंगार रमेश माझीको रहेको छ ।

यसैगरी, चलचित्रका कलाकारहरु धनराज चौधरी, मोनिका दाहाल, सबुरलाल सरदार, लिजा चौधरी, मालिक पण्डित, द्रोपती चौधरी, सब्बीर आलम, डि.पी. शास्त्री, रुपेश ठाकुर, भुपेन्द्र मण्डल, कुलदीप यादव लगायत रहेका छन् ।चलचित्रको छायांकन सिरहा, सप्तरी, उदयपुर, सुनसरी र मोरङ जिल्लाका रमनीय ठाउँहरुमा भएको निर्माण पक्षले जनाएको छ । यो चलचित्रमा करिब ३५ लाख रुपैयाँ लागेको निर्माताले जनाएको छ ।

प्रकाशित मिति: May 20, 2018

प्रतिक्रिया दिनुहोस्