Logo
४ बैशाख २०८१, मंगलबार
(May 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विमान दुर्घटनामा एक सय बढीको मृत्यु

ल्याटिन अमेरिकी देश क्युबामा शुक्रबार अपरान्ह विमान दुर्घटना हुँदा एक सय जनाभन्दा बढीको ज्यान गएको छ ।क्युबाको राजधानी हवानामा रहेको एउटा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विमान दुर्घटना भएको हो। यसमा १ सय १ यात्रुको मृत्यु भएको छ भने दुर्घटनामा तीनजना बाँच्न सफल भएका छन्।

मृत्यु हुने यात्रुहरुमा अधिकांश क्युबाली र केही मेक्सिकन पनि रहेका बताइएको छ। उक्त जहाजमा रहेका चालक दलका सदस्यहरुको पनि ज्यान गएको छ। तर जिवित ३ जना पाइएकोले ती तीन जना चालक दलका सदस्य हुन् वा यात्रु भन्ने बारेमा अझै खुलेको छैन।

जिवित तीन जनाको अवस्था भने अत्यन्तै गम्भीर छ। जहाज उडेको एकैछिनमा नै खसेको थियो। उडेलगत्तै जहाजको इन्जिनमा समस्या देखिएपछि खसेको र बाँझो जमिनमा परेको थियो।

जहाज उडेको केही क्षणमा समस्या देखिएको र तत्कालै विमानस्थलभन्दा केही परको बाँझो जमिनमा धस्सिएको थियो। जहाज धस्सिएपछि धुँवाको ठूलो मुस्लो देखिएको र त्यसलगत्तै उद्धारको कार्य सुरु भएको थियो।

क्युबाको राजधानी हवानाको होसे मार्टी विमानस्थलबाट उडेको बोइङ ७३७ मा समस्या देखिएको थियो। समस्या बारे कुनै पनि पूर्व सूचना प्राप्त नभएको उड्डयन अधिकारीहरुले जनाएका छन्।

उद्धार कार्यमा तत्कालै स्थानीय वासिन्दा र आपत्कालीन उद्धारकर्मीहरू खटिएका थिए। परिचालित सबै जनाले उद्धारको काम थालेको भए पनि जहाजमा आगो लागेकोले समयमै विमानबाट यात्रुहरुलाई बाहिर निकाल्न नसकिएको अधिकारीहरुले जनाएका छन्।

क्युबाका उड्डयन अधिकारीहरुले विमानमा १ सय ४ जना यात्रु रहेको जनाएका छन्। चालक दलका पाँचजना सदस्य रहेको बताएका छन्।

उक्त जहाज मेक्सिकोको एक विमान कम्पनीबाट भाडामा लिएर क्युबाले चलाउँदै आएको बताइएको छ। यो विमान क्युबाको सरकारी एयरलान्सको जहाज हो।

हवानाबाट उडेको सो विमान क्युबाको पूर्वी भूभागमा पर्ने ओल्गिन शहरतर्फ जान लागेको थियो।

क्युबाका उड्डयनमन्त्री र राष्ट्रपतिले दुर्घटनास्थलकोे भ्रमण गरेका छन्। राष्ट्रपति मिगेल डिआस कनेलले मृतकहरुप्रति श्रद्धान्जलि अर्पण गर्दै उनीहरुका आफन्तजनमा समवेदना व्यक्त गरेका छन्।

उनले आपत्कालीन उद्धारमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीलाई चुस्तताका साथ काम गर्न आग्रह गरेका छन्। उनले ठूलो संख्यामा मानिसहरूले ज्यान गुमाएकोले देश स्तब्ध भएको बताए।

क्युबामा सन् १९८० को दशकयता पहिलो पटक यो ठूलो र दुःखद दुर्घटना भएको र देशको उड्डयन इतिहासकै सबैभन्दा खराब हवाई दुर्घटना भनिएको छ।

उडेलगत्तै कसरी विमान खस्न पुग्यो भन्ने बारेमा अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरुले घटनास्थलमा अनुसन्धान थालेका छन्।

निकै लामो समयसम्म उक्त विमानले सेवा दिइरहेको र राम्रो अवस्थामा रहेको विमान के कति कारणले खस्न पुग्यो भन्ने बारेमा चुस्त रुपम अनुसन्धान थालिएको उड्डयन अधिकारीहरुले जनाएका छन्।

प्रकाशित मिति: May 19, 2018

प्रतिक्रिया दिनुहोस्