Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्को वर्षदेखि व्यापारिक रुपमा बजारमा आउदैछ रोबोटिक कुकुर

एजेन्सी: पटक–पटकको प्रयास र परिक्षणपछि अमेरिकी कम्पनी बोस्टन डाइनामिक्सले रोबोट कुकुर ल्याउने तयारी गरेको छ । कम्पनीले ‘स्पोट–मिनी रोबोट’ नाम दिएको उक्त कुकुरलाई अर्को वर्षदेखि व्यापारिक रुपमा बजारमा उतार्ने जनाएको छ ।

कम्पनीले मे ११ मा यसको घोषणा गरेको ‘टेकक्रन्च’ को रिपोर्टमा उल्लेख छ ।

‘टेकक्रन्च’ अमेरिकी अनलाइन प्रकाशन हो, जसले प्रविधि उद्योगका नयाँ समाचार सम्प्रेषण गर्ने गर्छ । ‘स्पोट–मिनी प्री–प्रोडक्सनमा रहेको छ,’ टेकक्रन्च कार्यक्रममा कम्पनीका संस्थापक मार्क रेबर्टले भने, ‘सन् २०१९ मा व्यापारिक उपलब्धताका लागि हामी तयारीमा जुटिसकेका छौं ।’
स्पोट–मिनी कुनै कार्यालयमा गएर के–के गर्न सक्छ, व्यापारिक प्रयोगका लागि बढी सुलभ स्थानमा यसको प्रयोग कसरी गर्न सकिन्छ भन्नेबारे कम्पनीले परिक्षण गरिरहेको छ । यसै क्रममा यसलाई नीजि घरमा पनि प्रयोगमा ल्याउन सकिने निस्कर्ष कम्पनीका इन्जिनियरहरुले निकालेका छन् ।

यो ‘कुकुर’लाई विविध काममा उपयोग गर्नका लागि आफ्नो घरमा समेत राख्न सकिने कम्पनीको दाबी छ । स्पोट–मिनी रोबोट कुकुरले तपाईंको सुरक्षा मात्रै गर्दैन, तपाईंको ढोका समेत खोल्ने क्षमता राख्छ। तपाईंले पाल्ने गरेका कुकुर मध्ये विरलैले मात्र ढोका खोल्न सक्छन् । तर, स्पोट–मिनीले तपाईंलाई यो सेवा उपलब्ध गराउन सक्छ ।

‘यो घरपालुवा अन्य चौपायाभन्दा कम छैन,’ कम्पनीले भनेको छ, ‘त्यसैले यसलाई राम्रो र आज्ञाकारी घरपालुवा जनावरको रुपमा लिन सकिन्छ ।’

बोस्टन डाइनामिक्सले यो वर्षको अन्त्यसम्ममा व्यापारिक उपयोगका लागि सय वटा जति स्पोट–मिनिसको निर्माण गर्ने घोषणा पनि गरिसकेको छ । यसका लागि विक्री गर्ने कम्पनीसँग सम्झौता भइसकेको छ ।

कम्पनीले स्पोट–मिनीको तत्कालै मूल्य भने निर्धारण गरेको छैन। यो केही महंगो नै हुनेमा कुनै शंका छैन, त्यसैले सबैको घरमा स्पोट–मिनी रोबोटको कल्पना गर्न सकिन्न ।

बोस्टन डाइनामिक्सले वर्षौंदेखि रोबोट र मेसिनहरुमाथि खोज गर्दै आएको छ । हालसम्म कम्पनीले धेरै प्रकारको रोबोट बनाइसकेको छ । अमेरिकी सेनाका लागि समेत उसले रोबोट बनाइसकेको छ । पछिल्लो रोबोटिक कुकुर उसको सबैभन्दा परिस्कृत र अनौठौ उत्पादन हो ।

स्पोट–मिनी कुकुरले आफ्नो मार्गमा आउने कुनै पनि अवरोधहरुलाई त्यसमा जडान गरिएको क्यामेरा र सेन्सरको सहयोगमा सजिलै छिछोल्न सक्छ । रेबर्ट भन्छन्, ‘हामीले १० वटा कुकुर बनाइसकेका छौं, त्यसको परिक्षण पनि गरिसक्यौं, सकारात्मक परिणाम आएको छ। अब यही डिजाइनमा थप स्पोट मिनी बनाउँदैछौं ।’

चारवटा खुट्टा र ३० किलो तौल भएको स्पोट मिनी रोबोट भर्‍याङ उक्लिन र ओलर्न सक्छ । त्यसलाई यो कार्य गर्न कसैको निर्देशन चाहिँदैन, स्वचालित रुपमा यसले काम गर्छ । कम्पनीका अनुसार यो रोबोटिक कुकुरलाई एकपटक चार्ज गरेपछि ९० मिनेटसम्म चल्छ ।

प्रकाशित मिति: May 16, 2018

प्रतिक्रिया दिनुहोस्