Logo
१३ बैशाख २०८१, बिहीबार
(May 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हावाहुरीका कारण विद्युत् प्रसारण प्रणालीमा क्षती ,सञ्चालन गर्न दुई दिन लाग्ने

काठमाडौँ : हावाहुरीका कारण आइतबार राति तराई–मधेश क्षेत्रस्थित नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा क्षति भएको र त्यसलाई सञ्चालनमा ल्याउन अझै दुई दिन लाग्ने भएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार तराई क्षेत्रका ३३ केभी प्रसारण लाइन हावाहुरीका कारण सबैभन्दा बढी क्षति भएको छ । महेन्द्रनगरबाट शुरु भएको हावाहुरीले सयौँ घर तथा आवासको छाना उडाउनुका साथै प्राधिकरणको वितरण प्रणालीमा समेत ठूलो क्षति पुगेको छ ।
हावाहुरीका कारण ढलेको खम्बा तथा तार तान्ने काम सम्पन्न गर्न कम्तीमा पनि दुई दिन लाग्ने प्रवक्ता अधिकारीले जानकारी दिए । आज दिनभरमा विराटनगर क्षेत्रको ६० प्रतिशत प्रसारण प्रणालीलाई पुनःसञ्चालनमा ल्याइएको छ । ठूला प्रसारण लाइनमा क्षति नपुगेको भए पनि ३३ केभी र ११ केभीका प्रसारण लाइन हावाका कारण बढी प्रभावित भएका छन् ।

यस्तै, कालीगण्डकी–बुटवल खण्डको १३२ केभी प्रसारण लाइनको एउटा सर्किटमा समेत समस्या आएको छ । प्राकृतिक विपत्तिका कारण परेको समस्या समाधान गर्न प्राधिकरण लागि परेकाले धैर्यधारण गर्न सम्बन्धीत सबैमा आग्रह गरिएको छ । महेन्द्रनगर, कोहलपुर, नेपालगञ्ज, बारा, पर्सा, रौतहट, सप्तरी, सिराहा, जनकपुर, दुहवी र अनारमनिसम्म पनि समस्या पैदा भएको प्रवक्ता अधिकारीको भनाइ छ ।

प्रकाशित मिति: May 14, 2018

प्रतिक्रिया दिनुहोस्