Logo
८ बैशाख २०८१, शनिबार
(May 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शंकराचार्य सरस्वतीलाई पशुपतिमा अभिनन्दन

काठमाडौँ :जगन्‍नाथपुरीस्थित पूर्व यामना ऋग्वेद गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीलाई आज पशुपति क्षेत्र विकास कोषले अभिनन्दन गरेको छ ।

नेपालको साताव्यापी धार्मिक यात्रामा रहनुभएका शंकराचार्य निश्चलानन्द सरस्वतीले वैदिक दर्शनको संरक्षण र प्रवद्र्धनमा पुर्‍याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको हो।

उहाँले वैदिक दर्शनलाई आधार मानेर १६७ वटा पुस्तक लेख्नुभएको सो अवसरमा जानकारी गराइयो ।

शंकराचार्य निश्चलानन्द सरस्वतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका रवीन्द्रप्रसाद अधिकारीले फूलमाला र अभिनन्दनपत्रसहित सम्मान गरे।

कोषका सदस्य सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा, कोष सञ्चालक परिषद्का सदस्य, कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीलगायतले फूलमालासहित उनलाई स्वागत अभिनन्दन गरे। यसअघि सोमबार बिहान उनले पशुपतिनाथ मन्दिरमा वैदिक विधिपूर्वक विशेष पूजा गरे।

पशुपतिमा विशेष पूजा र शंकराचार्य मठमा विश्रामपछि हंसमण्डपमा शंकराचार्य निश्चलानन्द सरस्वतीले उपस्थित भक्तजनलाई आशीर्वचन दिए। सो अवसरमा शंकराचार्य निश्चलानन्द सरस्वतीले नेपाल हरिहर र शालग्राम भूमि भएकाले धार्मिकरुपमा धेरै महत्व रहेको उल्लेख गरे।

भारतमा नर्वदा नदीको दिव्य धारा बग्ने र नेपालमा बग्ने कालीगण्डकीमा शालीग्राम पाइने उल्लेख गर्दै उनले दुवै देशमा दुवै भगवान्को पूजा हुने भएकाले विशेष सम्बन्ध रहेको बताए।

“सनातन वैदिक आर्य संस्कृतिका मूल्यमान्यतालाई आधुनिक विज्ञानले प्रमाणित गर्दै गएको छ, विज्ञानको खोजको अन्त्यपछि वैदिक दर्शनको शुरुआत हुन्छ”, शंकरचार्य निश्चलानन्द सरस्वतीले भने।

कार्यक्रममा उनले दिवाकर आचार्यद्वारा लिखित ‘नेपालका पीठ र गुह्येश्वरी’ नामक पुस्तकको विमोचन पनि गरे। पुस्तक श्रीपशुपति अर्चना सुव्यवस्था प्रतिष्ठानले प्रकाशन गरेको हो।

कार्यक्रममा कोषका सदस्य सचिव ढकाल, कार्यकारी निर्देशक उप्रेती, डा इन्दिरा झालगायतले शंकराचार्यले स्थापना गर्नुभएका चार मठले वैदिक संस्कृतिको उन्नयनमा पुर्‍याएको महत्वपूर्ण योगदानको चर्चा गरे।

जेठ १ गते मंगलबार टुँडिखेलमा शंकराचार्यको नागरिक अभिनन्दन गरिनेछ। नागरिक अभिनन्दनपछि उनले टुँडिखेलमा पनि प्रवचन दिनेछन्। जेठ २ गते बुधबार त्रिभुवन विश्वविद्यालय संस्कृत विभागले कीर्तिपुरस्थित स्मृति हलमा आयोजना गर्ने कार्यक्रमलाई शंकराचार्य निश्चलानन्द सरस्वतीले सम्बोधन गर्नुहुने कार्यक्रम छ।

जेठ ४ गते भरतपुर र ६ गते वीरगञ्जमा आयोजना हुने कार्यक्रममा पनि उनले प्रवचन गर्नेछन्। आद्य शंकराचार्यले बसालेका चार मठमध्ये गोवद्र्धन मठ एक हो। अन्य तीन मठमा श्रृंगेरी, द्वारका र ज्योतिर्मठ छन्। निश्चलानन्द गोवद्र्धन मठका १४५ औँ शंकराचार्य हुन्।

यसअघि विसं २०५४ मा तत्कालीन उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमको निमन्त्रणामा जगद्गुरु शंकराचार्य जयन्द्र सरस्वती नेपालको धार्मिक यात्रामा आएका थिए। यसपटक कोष र नेपाल पर्यटन बोर्डले शंकराचार्य निश्चलानन्द सरस्वतीलाई धार्मिक पर्यटनका लागि नेपाल आमन्त्रण गरेका हुन्।

शंकराचार्यको स्वागत एवं विभिन्न स्थानमा हुने कार्यक्रमको व्यवस्थापन तथा संयोजनका लागि जगद्गुरु शंकराचार्य निश्चलानन्द सरस्वती नागरिक स्वागतार्थ मूल आयोजक समिति गठन गरिएको छ। समितिले सोमबार र मंगलबार अपराह्न कमलपोखरीस्थित अग्रवाल भवनमा धर्मसभाको आयोजनासमेत गर्ने छ।

प्रकाशित मिति: May 14, 2018

प्रतिक्रिया दिनुहोस्