Logo
४ बैशाख २०८१, मंगलबार
(May 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उद्योग क्षेत्रमा दुई खर्बभन्दा बढीको लगानी

चितवन: औद्योगिक क्षेत्र बनिनसके पनि जिल्लामा विभिन्नखालका उद्योगमा लगानी गर्ने क्रम बढ्दै गएको छ । रु दुई खर्बभन्दा बढी लगानी भएको व्यवसायीको भनाइ छ ।

सरकारी र निजी क्षेत्रले यकिन तथ्यांक संकलन नगरे पनि उद्योगीले गरेको अनुमानमा जिल्लाका विभिन्न क्षेत्रका उद्योगमा रु दुई खर्बभन्दा बढी लगानी भएको पाइएको छ । व्यवसायीका अनुसार यस जिल्लामा सबैभन्दा बढी पोल्ट्री क्षेत्रमा लगानी भएको छ ।

पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार देशभरमा पोल्ट्री क्षेत्रमा रु ८० अर्बभन्दा बढी लगानी छ । रु ४० अर्बभन्दा बढी लगानी चितवनमा मात्रै छ । दाना उद्योग, ह्याचरी, पोल्ट्री फार्मलगायतमा लगानी भएको हो । दानामा भारतीय र चिनियाँ व्यवसायीले समेत लगानी गरेका छन् ।

पोल्ट्रीपछि सबैभन्दा बढी लगानी होटल क्षेत्रमा भएको छ । सौराहा र राप्ती नदी किनारमा पर्यटकीय ठूला होटल रहेका छन् । त्यसैगरी भरतपुर र रत्ननगर क्षेत्रमा पनि होटल एवं पार्टी प्यालेसमा ठूलो लगानी भएको छ ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार जिल्लामा १५४ वटा पर्यटकीय होटल छन् । सो क्षेत्रमा रु १५ अर्बभन्दा बढी लगानी भएको अनुमान गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै स्वास्थ्य क्षेत्रमा पनि ठूलो लगानी भएको देखिएको छ । चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा हरिश्चन्द्र न्यौपानेका अनुसार सो मेडिकल कलेजमा मात्रै रु चार अर्ब लगानी भएको छ । एउटा मेडिकल कलेज र २२ वटा निजी अस्पताल जिल्लामा छन् । मेडिकल कलेज र निजी अस्पतालमा गरी रु १५ अर्बभन्दा बढी लगानी भएको अनुमान छ ।

शिक्षा क्षेत्रमा पनि जिल्लामा ठूलो लगानी भएको व्यवसायी बताउँछन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० चितवनका अध्यक्ष देशबन्धु अधिकारीका अनुसार जिल्लामा रहेका १८० निजी विद्यालयमा रु १० अर्बभन्दा बढी लगानी छ । त्यस्तै प्राविधिक कलेजहरुमा पनि ठूलो लगानी रहेको कलेजका सञ्चालकहरु बताउँछन् । युनाइटेड टेक्निकल कलेज भरतपुरका अध्यक्ष चूडामणि खनालका अनुसार प्राविधिक कलेजमा रु तीन अर्बभन्दा बढी लगानी रहेको छ ।

उद्योग वाणिज्य महासंघ प्रदेश नं ३ का उपाध्यक्ष एवं उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष राजन गौतमका अनुसार जिल्लाका उद्योगको यकिन तथ्यांक संकलन नभए पनि करीब चार हजारभन्दा बढी उद्योग सञ्चालनमा रहेका छन् ।

गौतमका अनुसार रु एक अर्बभन्दा बढी लगानी भएका उद्योगको संख्या २५ भन्दा बढी छ भने रु ५० करोडभन्दा बढी लगानी भएका उद्योग १००, रु २५ करोडभन्दा बढी लगानी भएका उद्योग २००, रु १० करोडभन्दा बढी लगानी भएका उद्योग ४०० र रु एक करोडभन्दा बढी लगानी भएका उद्योग ८०० रहेका छन् । रु एक करोडभन्दा कम लगानीमा सञ्चालन भएका उद्योगको संख्या तीन हजारभन्दा बढी भएको गौतमले बताए ।

घरेलु तथा साना उद्योग कार्यालय चितवनले दिएको तथ्यांकअनुसार जिल्लामा हालसम्म दर्ता भएका उद्योगको संख्या नौ हजार ६६३ रहेको छ । कार्यालयमा सेवा क्षेत्रका फार्मसमेत दर्ता हुने गर्छन् । सो कार्यालयको तथ्यांकअनुसार उद्योग एवं फार्ममा रु १३ अर्ब ९५ करोडभन्दा बढी लगानी भएको छ । अधिकांश ठूला उद्योग कम्पनीमा दर्ता भएकाले ती उद्योगको यकिन तथ्यांक जिल्लामा उपलब्ध हुन नसकेको हो ।

उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडीले जिल्लाका उद्योगमा रु दुई खर्बभन्दा बढी लगानी भएको बताए । पोल्ट्री, होटल, हस्पिटल, शिक्षासँगै उत्पादनमूलक क्षेत्रमा ठूलो लगानी भएको उनको भनाइ छ । जिल्लामा तीन वटा बियर उद्योग छन् भने मदिराका उद्योग, बोटलर्स नेपाल ९तराई० लि, फर्माटिकल्सहरु, प्लाष्टिकजन्य उत्पादन, कृषिजन्य उद्योगजस्ता पाता, ब्लक, फर्निचर, चाउचाउ, फलामलगायतका उद्योग रहेको उनले बताए ।

दुवाडीका अनुसार शक्तिखोरमा निर्माण हुन लागेको शक्तिखोर औद्योगिक क्षेत्र शुरु भएपछि थप रु दुई खर्ब लगानी हुने अपेक्षा गरिएको छ । सो क्षेत्रमा एक हजार उद्योग सञ्चालन गर्न सकिने भन्दै उहाँले पुराना ५०० उद्योग र नयाँ ५०० उद्योग त्यहाँ रहने बताए ।

देशमै सबैखाले उद्योगको क्षेत्रमा सबैभन्दा बढी लगानी भएको जिल्ला चितवन हो । देशभरका बासिन्दाको संगमथलो चितवन भएकाले उद्योगमा पनि विविधता भएको उनको भनाइ छ।

उद्योग संघले नवलपुर र मकवानपुरलाई चितवनमा जोडेर औद्योगिक र आर्थिक राजधानी बनाउन केन्द्र सरकारलाई प्रस्ताव गरेको दुवाडीले बताए । काठमाडौँं साँघुरो भएकाले काठमाडौँ र देशकै लागि चाहिने उत्पादन गर्ने क्षेत्रका रुपमा यस क्षेत्रलाई विकास गर्न सकिने छ ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले औद्योगिक वातावरण जिल्लामा रहेकाले लगानी गर्ने क्रम बढेको बताए । शक्तिखोर औद्योगिक क्षेत्र बनेसँगै उद्योगमा थप लगानी हुने उनको भनाइ छ ।

पछिल्लो समय कोरिया र चीनका लगानीकर्ताले जिल्लामा उद्योगको क्षेत्रमा लगानी गर्न इच्छा व्यक्त गर्दै आएका छन् । रासस

प्रकाशित मिति: May 10, 2018

प्रतिक्रिया दिनुहोस्