Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभा सदस्यको पदावधि प्रक्रिया, यसरी गरिनेछ गोला प्रथा

काठमाडौं, २४ बैशाख : एक पटकका लागि राष्ट्रिय सभाका सदस्यको पदावधि गोला प्रथाबाट निर्धारण हुने भएको छ । एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । संविधानपछि बनेको राष्ट्रिय सभामा पहिलोपटकका लागि गोला प्रथाबाट १९ जना सदस्यको पदावधि २ वर्ष, अर्को २० जनाको ४ वर्ष र बाँकी २० जना सदस्यको पदावधि ६ वर्ष कायम हुनेछ ।

पहिलोपटकका लागि गोला प्रथाबाट १९ जना सदस्यको पदावधि २ वर्ष, २० जनाको ४ वर्ष र बाँकी २० जनाको ६ वर्ष पदावधि कायम हुनेछ ।  राष्ट्रिय सभा नियमावली मस्यौदा प्रतिवेदनको परिच्छेद २७ को नियम २०८ देखि २१६ सम्म गोला प्रथाबाट राष्ट्रिय सभा सदस्यको पदावधि कायम गर्ने व्यवस्था छ । मस्यौदा प्रतिवेदनअनुसार ५९ सदस्यीय राष्ट्रिय सभामा ५ वटा समूहबाट निर्वाचित सदस्यहरूको अलग–अलग समूह बनाइनेछ ।

प्रत्येक प्रदेशबाट निर्वाचित तीन जना महिला सदस्यको समूह, सबै प्रदेशबाट निर्वाचित सात जना दलित सदस्यको समूह, सबै प्रदेशबाट निर्वाचित सात जना अपांगता वा अल्पसंख्यक सदस्यको समूह, प्रत्येक प्रदेशबाट निर्वाचित तीन जनाको अन्य सदस्यको समूह र राष्ट्रपतिबाट मनोनीत तीन जना सदस्यलाई अलग–अलग समूहमा विभाजन गरिन्छ ।

तीमध्ये प्रत्येक प्रदेशबाट निर्वाचित महिला समूहका तीनमध्ये एक जनाको २ वर्ष, एक जनाको ४ वर्ष र अर्का एक जनाको ६ वर्ष कायम हुनेछ । त्यस्तै दलितका सातमध्ये २ जनाको २ वर्ष, २ जनाको ४ वर्ष, २ जनाको ६ वर्ष र एक जनाको शून्य वर्ष, अपांगता भएकाहरूमध्येबाट पनि २ जनाको २ वर्ष, २ जनाको ४ वर्ष, २ जनाको ६ वर्ष र एक जनाको शून्य वर्ष पदावधि कायम हुनेछ ।

प्रदेशबाट निर्वाचित तीन जनाको अन्य सदस्यको समूहबाट एक जनाको २ वर्ष, एक जनाको ४ वर्ष र अर्का एक जनाको ६ वर्ष कायम हुनेछ भने राष्ट्रपतिबाट मनोनीत तीन जना सदस्यमध्ये एक जनाको २, एक जनाको ४ र एक जनाको ६ वर्ष कायम हुनेछ ।

प्रत्येक खण्डको सात वटा गोलामध्ये एकएक वटा गोलामा पदावधि उल्लेख नगरी गोला प्रयोग गरिन्छ र त्यस्तो गोला झिक्ने प्रत्येक समूहको एक/एक जना गरी दुई जना सदस्यको पदावधि पुन: गोला प्रथाबाट कायम गरिन्छ । गोला प्रथाबाट पदावधि कायम गर्ने मिति, समय र स्थान राष्ट्रिय सभा अध्यक्षले तोकेको दिनमा हुनेछ र त्यसको सूचना पाँच दिनअघि नै संघीय संसदका महासचिवले प्रकाशन गर्नेछन् ।

तोकिएको दिन सदस्य आफैं उपस्थित हुन नसके अर्का कुनै सदस्यलाई लिखित अख्तियारी दिने व्यवस्था गरिएको छ । आफू उपस्थित नहुने र अख्तियारी पनि नदिएको अवस्थामा पनि गोला प्रथाको कार्य रोकिने छैन । प्रत्येक समूहको सदस्यको पदावधिका लागि दुई वर्ष, चार वर्ष र ६ वर्ष उल्लिखित अक्षरमा कम्प्युटर प्रिन्ट गरिएको समान आकार र रंगको काजलाई कुनै बलभित्र राखेर उक्त बललाई समूहअनुरूपको छुट्टाछुट्टै बाकस वा बट्टामा राखिन्छ ।

सदस्यहरूको नाम वर्णानुक्रमअनुसार बोलाएर बल तान्न लगाइन्छ र महासचिवलाई दिइन्छ । गोला प्रथाबाट निर्धारण हुने सदस्यको पदावधि संसद् सचिवालयको अभिलेखमा राखिनेछ भन्दै कान्तिपुरमा खबर छ । उक्त अभिलेखको जानकारी संसद् सचिवालयका महासचिवले मन्त्रिपरिषद् तथा निर्वाचन आयोगलाई दिनेछन् ।

प्रकाशित मिति: May 7, 2018

प्रतिक्रिया दिनुहोस्