Logo
८ बैशाख २०८१, शनिबार
(May 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्डिकेट नगर्ने लिखित प्रतिबद्धतापछि मोरंग र झापाबाट प्रकाउ परेका व्यवसायी रिहा

विराटनगर : यातायात समितिलाई कम्पनीमा दर्ता गर्ने र सवारी साधन सञ्चालन गर्ने लिखित प्रतिबद्धता जनाएपछि पक्राउ परेका यातायात व्यवसायी रिहा भएका छन् ।

सिन्डिकेटको माग गर्दै यातायात बन्द गर्ने पूर्व नेपाल यातायात व्यवसायी संघ र कोशी बस व्यवसायी संघआबद्ध तीन व्यवसायीलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको थियो । पूर्व नेपाल यातायात व्यवसायी संघका उपाध्यक्ष उत्तम चौलागाई र टीका भट्टराई तथा कोशी बस व्यवसायी संघका नारायण अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शनिवार विराटनगर आयोजित पत्रकार सम्मेलनमा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले व्यवसायलाई कम्पनीका रुपमा दर्ता गर्ने र सवारी सञ्चालनमा अवरोध नगर्ने लिखित प्रतिबद्धता जनाएपछि उनीहरुलाई रिहा गरिएको बताए ।

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले अप्सरा यातायातले कम्पनीमा दर्ता हुने र सवारी साधन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।

झापाबाट प्रकाउ परेका व्यवसायी पनि रिहा
यातायात व्यवसायीले सार्वजनिक सवारी सञ्चालनमा बाधा अवरोध नगर्ने लिखित प्रतिबद्धता जनाएपछि शुक्रबार दिउँसो पक्राउ परेका यातायात व्यवसायी शनिवार साँझ रिहा भएका छन् ।

सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात व्यसायीले शुक्रबार बिहानैदेखि सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएका थिए ।

सार्वजनिक सवारी सञ्चालन नगरेपछि प्रहरीले मेची बस व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद उप्रेती, हिमाल यातायात संघका कार्यबाहक अध्यक्ष भूपाल ओली, सगरमाथा यातायात प्रालिका अध्यक्ष खगेन्द्र उप्रेती, निर्देशक बुद्ध तिवारी, सदस्य राजकुमार पाण्डे, श्याम थापा र पूर्वी बस व्यवसायी संघका अध्यक्ष केशव गिरीलगायत आठजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेको थियो ।

तर शनिवार भएको छलफलमा यातायात व्यवसायीले सार्वजनिक सवारी सञ्चालनमा बाधा अवरोध नगर्ने लिखित सहमति जनाएपछि यातायात व्यवसायीलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।

प्रकाशित मिति: May 5, 2018

प्रतिक्रिया दिनुहोस्