Logo
७ बैशाख २०८१, शुक्रबार
(May 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साताको अन्तिम दिन कारोबारमा बढोत्तरी आउँदा कमाउनेमा लघुवित्त

काठमाडौं :यस साताको अन्तिम दिनको सेयर कारोबारमा नेप्से परिसूचक सामान्य बढ्दा कारोबार रकममा भने उल्लेखनिय सुधार आएको छ । अघिल्लो दिनको भन्दा दोब्बर रकमको सेयर कारोबार भएको बजारमा धेरै कमाउने दश कम्पनीको सूचीमा लघुवित्त र गुमाउनेमा विकास बैंकहरु देखा परेका छन् ।

कारोबारमा आएका नौ समूहमध्ये होटल र अन्य बाहेकका सबै समूहका सूचक सकारात्मक रहेपछि बजार बढेको हो ।

विहीबार नेप्से ५।७७ अंकले बढेर १३६६।१५ अंकमा पुगेको छ । यसदिन १६९ कम्पनीका १४ लाख ८० हजार कित्ता सेयर ७७ करोड ६५ लाख रुपैयाँ बराबरमा किनबेच भए ।

अघिल्लो करोबारको तुलनामा कारोबार रकम ३९ करोड बढी हो । कारोबार रकम र सेयर संख्या अघिल्लो दिनको तुलनामा दोब्बर पुगेको छ । बुधबार ७ लाख कित्ता सेयर ३८ करोड बराबरमा किनबेच भएको थियो ।

यसदिन सबैभन्दा बढी बीमा समूह ७५।६२ अंकले उकालो लाग्यो । जलविद्युत, उत्पादन र लघुवित्तको सूचक दोहोरो अंकले बढ्दा वाणिज्य बैंक, विकास बैंक र वित्त समूहको सूचक सामान्य बढेको छ । होटल र उत्पादन समूहको सूचक भने घटेको छ ।

बिहीबारको बजारमा सबैभन्दा धेरै नेपाल बैंकको ५ करोड ७७ लाखको सेयर किनबेच भयो । नेपाल बैंकको एफपिओको चर्चा बढेपछि कारोबार समेत बढ्न थालेको छ । राष्ट्रिय बीमा संस्थानको संस्थापक सेयर पनि चार करोड ३० लाख बराबरको कारोबार भयो ।

चिलिमे, राष्ट्रिय बीमा संस्थान, प्रिमियर इन्योरेन्स र स्वालम्बन लघुवित्तको पनि दुई करोड बढीको कारोबार भयो । सेयर संख्याको हिसाबले पनि नेपाल बैंकको सबैभन्दा धेरै एक लाख ६० हजार कित्ता सेयर किनबेच भयो ।

यसदिन धेरै कमाउने दश कम्पनीको सूचीमा लघुवित्त कम्पनीहरुको वर्चश्व रहेको छ । धेरै सेयर मूल्य बढ्ने दश कम्पनीमा सात कम्पनी लघुवित्तका रहेका छन् । सूर्योदय लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै झण्डै दश प्रतिशतले बढेको छ । महिला सहयात्रा, हाथवे फाइनान्स, सिभिल लघुवित्त, समता माइक्रोफाइनान्स, ग्लोबल आइएमई लघुवित्त तथा स्वदेशी लघुवित्त लगायतको सेयरमूल्य बढेको छ ।

प्रकाशित मिति: May 3, 2018

प्रतिक्रिया दिनुहोस्