Logo
१२ बैशाख २०८१, बुधबार
(May 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यातायात सेवासहित १८ वटा अत्यावश्यक क्षेत्रमा बन्द-हडताल गर्न नपाइने

काठमाडौं : सबै प्रकारको यातायात सेवासहित १८ वटा अत्यावश्यक क्षेत्रमा बन्द–हडताल निषेध गरिएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गरी अत्यावश्यक क्षेत्रको सूची सार्वजनिक गरेको हो।

यससँगै अब सबै प्रकारका यातायात सेवा (जल, स्थल र हवाइमार्ग) बन्द हडतालमुक्त क्षेत्र बनेको छ। यी तीनवटा माध्यमबाट हुने यात्री वा मालसमान ओसारपसार गर्ने यातायात सेवामा हड्ताल गर्न पाइने छैन। आवश्यक सेवा सञ्चालन ऐन, २०१४ बमोजिम सरकारले अत्यावश्यक सेवाको सूची सार्वजनिक गरेको खबर अाजकाे नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

सार्वजनिक हितका लागि आवश्यक आदेश प्रकाशित गरी बन्द हडताल निषेध गरिएको सेवा तोक्न सक्छ। यसरी निकालिएको प्रत्येक आदेश छ महिनासम्म लागु हुन्छ। आदेश प्रकाशित भइसकेपछि बन्द हडतालमा भाग लिने व्यक्तिलाई छ महिनासम्म कैद, २०० रुपैयाँ जरिवाना तथा दुवै सजायसमेत हुन सक्ने प्रावधान छ। त्यस्तै बन्द–हडतालको आयोजक, उक्साउने वा नगद सहयोगमार्फत बन्दकर्तालाई साथ दिने व्यक्तिलाई भने १ वर्षसम्म कैद, १ हजार जरिवाना वा दुवै सजायसमेत हुन सक्ने प्रावधान बनाइएकाे छ ।

यी हुन् बन्द–हडताल नपाइने अत्यावश्यक क्षेत्र
विमानस्थल
अब कुनै पनि बहानामा विमानस्थलको सेवा अवरुद्ध गराउन नपाइने भएको छ । हवाई अड्डा वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन तथा मर्मतसँग सम्बन्धित कुनै पनि सेवामा बन्द–हडताल गर्न नपाउने सरकारले स्पष्ट पारेको छ । गत साता विमानस्थलभित्र नेपाल एयरलाइन्सको ग्राउन्ड ह्यान्डिलिङ सेवामा कार्यरत मजदुरले सेवा रोक्दा नेपाल एयरलाइन्सले केन्द्रीय कार्यालयबाट कर्मचारी लगेर सेवा सञ्चालन गर्नुपरेको थियो । गृह मन्त्रालयका अनुसार हवाई ग्राउन्ड, रेल्वे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसार–पसार गर्ने वा राख्ने, झिक्ने र थन्क्याउने कामलाई पनि अत्यावश्यक सेवामा सूचीकृत गरिएको छ ।

सञ्चार सेवा
डाँक, तार वा टेलिफोन सेवालाई समेत सरकारले अत्यावश्यक सेवामा राखेको छ । प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवामा अवरोध गरे अब कानुनबमोजिम कारबाही हुनेछ ।

पर्यटकीय सेवा
सबै प्रकारको पर्यटकीय सेवालाई सरकारले बन्द–हडतालमुक्त क्षेत्रका रूपमा घोषणा गरेको छ । पर्यटकीय आवास, मोटेल, होटेल, रेस्टुराँ र रिसोर्टसम्बन्धी कुनै पनि सेवामा अब बन्द–हडताल गर्न पाइनेछैन ।

सुरक्षासम्बन्धी सेवा

हातहतियार, खरखजाना वा अरू कुनै सैनिक सरसामानको उत्पादन, भण्डारण र वितरणलाई पनि अब अवरोध गर्न पाइनेछैन । यसबाहेक सरकारले आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवालाई पनि अवरोध गर्न नपाइने अत्यावश्यक सेवामा सूचिकृत गरेको छ ।

स्वास्थ्य सेवा
अस्पताल र यससँग सम्बन्धित सबै प्रकारका सेवा अब अत्यावश्यक सेवाभित्र सूचीकृत भएका छन् । एम्बुलेन्स, औषधि निर्माण तथा बिक्रीवितरणसम्बन्धी सेवालाई समेत सरकारले अत्यावश्यक सेवामा राखेको छ । खानेपानीको सञ्चालन तथा वितरणलाई पनि अत्यावश्यक सेवाभित्र राखिएको छ ।

पेट्रोलियम पदार्थ र दैनिक उपयोग्य वस्तु
एलपी ग्याससहित अब कुनै पनि प्रकारको पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणलाई अवरोध गर्न पाइनेछैन । दैनिक उपयोग्य वस्तुतर्फ खाद्यान्न, दाल, चामल, नुन तेलजस्ता वस्तुको पैठारी, ढुवानी, भण्डारण तथा वितरणलाई समेत अत्यावश्यक सेवामा सूचीकृत गरिएको छ । विद्युत्सँग सम्बन्धित सेवामा पनि अवरोध गर्न नपाइने सरकारले स्पष्ट पारेको छ ।

फोहोरमैला व्यवस्थापन
फोहोरमैलासँग सम्बन्धित सेवातर्फ फोहोरमैला संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण, संकलन स्थल तथा व्यवस्थापनको कामलाई पनि अब रोक्न नपाइने भएको छ ।

बैँक तथा बिमा
बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेवा पनि हडतालमुक्त घोषित भएको छ । बिमासँग सम्बन्धित सेवालाई पनि कुनै पनि बहानामा अवरोध गर्न पाइँदैन ।

प्रकाशित मिति: May 1, 2018

प्रतिक्रिया दिनुहोस्