Logo
६ बैशाख २०८१, बिहीबार
(April 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३३ किलो सुन प्रकरणमा नयाँ मोड : थप अभियुक्त खोज्न इन्टरपोलको सहायता लिने तयारी

विराटनगर : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो सुन र भरिया सनम शाक्य हत्या घटनाका मुख्य अाराेपित चूडामणि उप्रेती ‘गोरे’ खोज्न प्रहरीले इन्टरपोलको सहायता लिने तयारी थालेको छ । शाक्यको हत्यापछि फरार रहेका उप्रेतीको खोजी गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’मा सूचना जारी गर्न लागिएको हो । इन्टरपोलमा संसारभरका १ सय ९२ राष्ट्र सदस्य रहेका छन् । हालसम्म नेपाल प्रहरीको मात्र खोजी सूचीमा रहेका ‘गोरे’ इन्टरपोलमा सूचना सार्वजनिक भएपछि १ सय ९२ देशका प्रहरीको खोजी सूचीमा पर्नेछन् ।

मोरङ प्रहरी प्रमुख अरुणकुमार बिसीले सुनकाण्ड र शाक्य हत्या अभियोगका नाइके भनिएका उप्रेतीलाई इन्टरपोलमा सूचना जारी गर्न लागिएको बताए । गोरे नेपालबाहिर रहेको थाहा पाएको प्रहरीले खोजीका लागि इन्टरपोलमार्फत् ‘डि–फ्यूजन नोटिस’ जारी गर्नलाई आवश्यक प्रक्रिया सुरू गरिएको हो ।

३३ किलो सुनकाण्ड र शाक्य हत्यामा मुछिएका नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौलासहित २३ जनालाई जिल्ला अदालत मोरङले थप आठ दिन थुनामा राख्न अनुमति दिएको छ । मंगलबार २३ जनालाई म्याद थपका लागि मोरङ प्रहरीले अदालतमा उपस्थित गराएको थियो । अदालतले प्रहरीलाई थप आठ दिन थुनामा राख्न आदेश दिएको हो ।

मंगलबार म्याद थप गर्न ल्याइएका २२ जनालाई प्रहरीले हतकडी लगाएर ल्याएको थियो भने निरौलालाई हतकडी नलगाई ल्याइएको थियो । अदालत परिसरमा ३३ किलो सुनकाण्डका अन्य आरोपी एक ठाउँमा रहेका बेला निरौला भने बेग्लै स्थानमा बसेका थिए । ३३ किलो सुनकाण्ड र भरिया शाक्यको हत्याको अनुसन्धानका लागि गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले आइतबार पूर्व डिआइजी निरौलालाई पक्राउ गरेको थियो । निरौलालाई सोमबार पनि अदालतमा उपस्थित गराइएको थियो ।

पक्राउ परेको मितिले दुई दिन म्याद थपेर अन्य २२ जनासँगै म्याद मिलान गरेको प्रहरीले मंगलबार निरौलासहित २३ जनालाई अनुसन्धानका लागि आठ दिनको म्याद थप गरेको हो । मंगलबार प्रहरीले निरौलासहित राजेन्द्रकुमार शाक्य, तुलाराम थारू, अमरमान डंगोल, राजन कुमार, राजन थापालाई म्याद थप गरेको हो । छ जनालाई गत चैत २६ गते यता पक्राउ गरिएको हो ।

त्यस्तै प्रहरीले २६ गते अघि पक्राउ परेका चाचाजी भन्ने महावीर गोल्यान, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिरप्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जन, मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा र माधव भनिने मदनप्रसाद घिमिरेलाई म्याद थप गरिएको हो ।

प्रहरीले ३३ किलो सुनकाण्ड र शाक्य हत्या प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’लाई भने पक्राउ गर्न सकेको छैन । प्रहरीले उप्रेती र उनका केही आफन्तको पनि खोजी गरिरहेको छ । युएईबाट अवैधरूपमा भित्रिएको ३३ किलो तस्करीको सुन सम्बन्धित व्यक्तिसम्म नपुगी बाटोबाटै गायब भएपछि तस्करको समूहले भरिया शाक्यलाई यातना दिएर हत्या गरेको थियो । शाक्यको हत्या भएपछि प्रहरीले पक्राउ परेका २३ जनालाई ‘संगठित अपराध तथा अपहरण गरी कर्तब्य ज्यान’ मुद्दामा म्याद थप गरिएको हो ।

३३ किलो सुनकाण्ड र शाक्य हत्याको अनुसन्धान गरिरहेको प्रहरीले वैशाख १९ गते अदालतमा मुद्दा बुझाउने तयारी थालेको छ । ५२ दिनदेखि ‘संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान’ मुद्दामा अनुसन्धान गरिरहेको मोरङ प्रहरीले दुई महिना पुगेपछि मुद्दा अदालतमा बुझाउने बताइएको छ । प्रहरीले १९ गते मुद्दा अदालतमा बुझाउने तयारीका साथ मंगलबार आठ दिनको मात्र म्याद थप गरेको हो ।

संगठित अपराध निवारण ऐन २०७० मा आरोपीलाई बढीमा ६० दिनसम्म राखेर अनुसन्धान गर्न पाउने व्यवस्था छ । सोही ऐनका आधारमा १९ गते प्रहरीले मुद्दा अदालतलाई बुझाउनेछ । ऐनको परिच्छेद ४ दफा १४ मा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि संगठित अपराधको अनुसन्धानका लागि त्यस्तो अपराधको आरोप लागेको व्यक्तिलाई अनुसन्धानको प्रगतिका आधारमा अदालतको अनुमति लिई पटक–पटक गरी साठी दिनसम्म हिरासतमा राख्न सकिने उल्लेख गरिएको छ ।

नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौला पक्राउ परेपछि सर्वाधिक चर्चामा रहेको ३३ किलो सुनकाण्डका विषयमा अनुसन्धान गरिरहेको प्रहरीले २३ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिए पनि हालसम्म सुन फेला पार्न सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट भित्रिएको सुन सम्बन्धित व्यक्तिसम्म नपुगि बाटोबाटै गायब भएपछि चुडामणि उप्रेती ‘गोरे’को समूहले भरिया शाक्यलाई यातना दिएर सूचना लिन खोजेको थियो ।

तर यातनाकै क्रममा शाक्यको ज्यान गएपछि गोरे फरार भए । तर शाक्यले बुझाउन ल्याएको सुन कहाँ छ भन्ने सुइँको हालसम्म प्रहरीले पाएको छैन । घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरी स्रोतका अनुसार हराएको भनिएको ३३ किलो सुन अझै पत्ता लाग्न सकेको छैन ।

प्रकाशित मिति: Apr 26, 2018

प्रतिक्रिया दिनुहोस्