Logo
११ बैशाख २०८१, मंगलबार
(April 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्र सारेको विरोधमा विवाद चर्किंदै , बजारसमेत बन्द

डोल्पा : डोल्पा ठूलीभेरी नगरपालिकाको केन्द्र विवाद अरु चर्किंदै गएको छ । केन्द्र सारेको विरोधमा दुनैमा ४८औँ दिनमा झनै आन्दोलन चर्किएको हो । आन्दोलनका कारण दुनै बजारसमेत बन्द छ ।

ठूलीभेरी नगरपालिकाको केन्द्र सदरमुकाम दुनैबाट जुफाल नगरप्रमुख गणेशबहादुर शाहीले जालसाजी गरेर सारी राजपत्रमा प्रकाशित गरेको दुनैवासीको आरोप छ ।

अघिल्लो सरकारको मन्त्रिपरिषद्बाट डोल्पाको ठूलीभेरी नगरपालिकाको केन्द्र सार्ने निर्णय भई फागुन १६ गते जुफाल केन्द्र तोकेर राजपत्रमा प्रकाशित भएको थियो । जनताभन्दा पनि नगरपालिकाका जनप्रतिनिधिलाई नै जानकारी नगराई कार्यकारीको मिलेमतोमा केन्द्र सारेको भन्दै फागुन १६ गतेदेखि दुनैवासी अनिश्चितकालीन आन्दोलनमा उत्रिएका हुन् ।

नेकपा एमालेले टिकट दिएर जिताएका गणेशबहादुरले जनतामाथि खेलवाड गरेकाले उहाँमाथि पार्टीले कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।
बुधबार डोल्पाको सदरमुकाममा रहेका होटल पसल र बजार बन्द रह्यो । नगरपालिकाको केन्द्र दुनैमै केन्द्र पुनःस्थापना गर्न पटक पटक चरणबद्ध ढंगले आन्दोलन गर्न बाध्य भएको दुनै संघर्ष समितिका अध्यक्ष तथा आन्दोलनका अगुवा हिक्मत शाहीले बताउनुभयो ।

केन्द्र विवादका कारण ठूलीभेरी नगरपालिकाका कुनै पनि वडामा विकासका काम अघि बढ्न नपाएको स्थानीयवासी बताउँछन् । आर्थिक वर्ष सकिनै लाग्दा नगरप्रमुखले सबै बजेट आफ्नो व्यक्तिगत खातामा राखेको र विकास नगरेको आरोप दुनैवासीको छ । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भए पनि तत्काल दुनैबाट काम गर्ने चेतावनी दुनैवासीले दिएका छन् ।

केन्द्र पुनःस्थापन गराउन यहाँका नगरवासी र स्वयं आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको भन्दै संघर्ष समितिका सदस्य दलबहादुर थापाले गाउँगाउँबाट जनता दुनैमा आएर आन्दोलनलाई साथ दिइरहेको बताउनुभयो । उहाँका अनुसार, “थाला, लोचा, तिप्ला, दुनै, रह, परिलालगायत थरगाउँका केही स्थानीय बासिन्दाले दुनैमा केन्द्र पुनःस्थापना हुनुपर्ने मागसहित चरणबद्ध रुपमा पटक पटक आन्दोलन गर्दै आएका छन् ।”

प्रकाशित मिति: Apr 19, 2018

प्रतिक्रिया दिनुहोस्