Logo
१५ चैत्र २०८०, बिहीबार
(April 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तालीम नलिई वैदेशिक रोजगारीमा जाँदा नराम्रो काम र नतलब

काठमाडौँ  : नेपालबाट वैदेशिक रोजगारीमा जानेहरुले आवश्यक तालीम नलिइकन गएकै कारण उनीहरुले राम्रो काम र तलब पाउने गरेका छैनन् । रोजगारीका लागि गएका अन्य देशका कामदारले आवश्यक सीप सिकेर आउने गरेको तर नेपालबाट जाने कामदारहरुसँग सीप नहुने भएकै कारण अन्य देशका नागरिकको तुलनामा नेपाली कामदारले जोखिमयुक्त र अरूले छोडेका काम गर्नु परिरहेको छ ।

फिलिपिन्सलगायतका देशबाट जाने कामदार विदेश जानुअघि कुनै न कुनै तालीम अनिवार्य गरिए पनि नेपालको सन्दर्भमा त्यो लागू हुनसकेको छैन । नेपालमा शिक्षा मन्त्रालयअन्तर्गतका प्राविधिक शिक्षा तथा तालीम परिषद् (सीटीईभीटी), श्रम मन्त्रालयअन्तर्गत व्यावसायिक तालीम केन्द्रबाट विभिन्न सीपमूलक तालीम दिने गरिए पनि ती तालीम वैदेशिक रोजगारीलाई लक्षित गरिएका छैनन ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र सुरक्षित आप्रवास परियोजना (सामी)ले वैदेशिक रोजगारलाई नै लक्षित गर्दै विभिन्न तालीम दिने गरेका छन् । तर नेपालबाट विदेश जाने संख्याको तुलनामा त्यो तालीम पाउनेको संख्या निकै न्यून रहेको छ ।

बोर्ड स्थापनापछि हालसम्म २० हजारलाई निःशुल्क तालीम दिएको कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिनुभयो । यो वर्ष पनि थप १० हजारलाई सीपमूलक तालीम दिने गरी प्रस्ताव आह्वान गरिसकेको उहाँले बताउनुभयो । यस्तै सामीका ‘टिम लिडर’ सीता घिमिरेले वैदेशिक रोजगारलाई लक्षित गर्दै आफूहरुले पछिल्लो पाँच वर्षमा आठ हजार जनालाई तालीम दिइसकेको जानकारी दिनुभयो ।

सामीले विभिन्न इन्स्टिच्यूटहरुमार्फत कुक, वेटर÷वेट्रेस, हाउसकिपिङ, सरसफाई, कफी मेकर (बरिस्ता), फ्रन्ट अफिसलगायतका क्षेत्र, निर्माण क्षेत्रअन्तर्गत मेशन, स्काफोल्डिङ, आल्मुनियम फब्रिकेटर, वेल्डिङ, फर्निचर एण्ड फर्निसिङ, प्लम्बिङ, इलेक्ट्रिसियन, सटरिङ कार्पेन्टर, स्टिल फिक्सर, हाउसपेन्टिङ, कार्पेन्टर, हाउस वायरिङलगायतको तालीम दिने गरेका छन् । यस्तो तालीम वैदेशिक रोजगारीमा जानेहरुलाई निःशुल्क दिइएको उहाँको भनाई छ ।

यो वर्ष पनि एक हजारलाई तालीम दिने लक्ष्य राखिएको र सोहीअनुसार विभिन्न इन्स्टिच्यूटहरुमार्फत तालीम दिने कार्य भइरहेको उहाँले बताउनुभयो । यस्तै वैदेशिक रोजगार प्रवद्र्धन बोर्डसँगको समन्वयमा एक हजार ५०० जनालाई तालीममा व्यवस्थापकीय खर्च ब्यहोर्ने सहमति सामीले गरेको छ ।

हाल सामी परियोजनाले पुरुषका लागि एक महिनाको मेशन, शटरिङ कार्पेन्टर र स्काफोल्डीङ तालीम तथा महिलाका लागि गार्मेन्टको आवासीय तालीम दिइरहेको छ । सो तालीमपश्चात खाडी राष्ट्रमा मान्यताप्राप्त संस्थाले सीप परीक्षण गरी प्रमाणपत्र दिने भएकाले सो तालीम अन्तर्राष्ट्रियस्तरको हुने गरेको घिमिरेले बताउनुभयो । आफूहरुले तालीम दिएर पठाएकाले अन्यको तुलनामा बढी तलब र सेवा, सुविधा पाएको अध्ययनले देखाएको उहाँले बताउनुभयो ।

काठमाडौँ मनमैजुमा रहेको बहुउद्देश्यीय क्यापिटल ट्रेनिङ सेन्टरमा सामीको एकमहिने स्काफोल्डिङको तालीम लिइरहेका म्याग्दी, धौलागिरी गाउँपालिकाका खप्रसाद विकले आफू कुवेत जान चाहेको र तालीमपछि राम्रो तलब र काम पाउने आशा व्यक्त गर्नुभयो ।

सोही तालीम केन्द्रमा मेशनको तालीम लिइरहेका रोल्पा नगरपालिका–५का शेरबहादुर केसीले तालीमपछि आफूलाई विदेशमा गएपछि सहजै काम गर्नसक्छु भन्ने आत्मविश्वास बढेको बताउनुभयो । विदेश जान नपाए देशभित्रै पनि यो काम गर्न सकिने ठानी आफूले मेशनको तालीम लिइरहेको उहाँको भनाई छ ।

एक हप्ताको तालीम अनिवार्य

सरकारले कम्तीमा एक हप्ताको सीपमूलक तालीम लिएका व्यक्ति मात्रै वैदेशिक रोजगारीमा जानका लागि योग्य बन्ने तयारी थालेको छ । बिना तालीम वैदेशिक रोजगारीमा जाँदा कमाई पनि राम्रो नहुने, कामको सिलसिलामा जोखिम बढी हुने कुरालाई मध्यनजर गर्दै श्रम तथा रोजगार मन्त्रालयले तालीम अनिवार्य गर्ने तयारी गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले अबको एक वर्षभित्र अनिवार्य रुपमा तालीम लिएकालाई मात्रै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिने गरी तयारी थालिएको जानकारी दिनुभयो । उहाँले एक महिना वा सोभन्दा कम समयको छोटो तालीम, एक महिनाभन्दा बढी र तीन महिनाभन्दा कम समयको मध्यम तालीम र तीन महिनाभन्दा बढी समयको लामो अवधीमा गरी तीन तहको तालीमको प्रस्ताव कार्यविधिमा गरिएको बताउनुभयो ।

सकेसम्म एक महिना नभए कम्तीमा एक हप्ता तालीम लिएकाले मात्रै विदेश जान पाउनेगरी बोर्डले नीतिगत व्यवस्था गर्न लागेको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले तयार पारी हालै श्रम तथा रोजगार मन्त्रालयले पारित गरेको ‘वैदेशिक रोजगारमूलक सीप विकास तालीम सञ्चालन कार्यविधि’ अनुरुप अब तालीमका कार्यक्रम अघि बढाइनेछ ।

सोही प्रावधानअनुसार तालीम नलिएकाको हकमा अबको एक वर्षपछि श्रम स्वीकृति नदिने नीति ल्याउन लागिएको हो ।(रासस)

प्रकाशित मिति: Apr 12, 2018

प्रतिक्रिया दिनुहोस्