Logo
१५ चैत्र २०८०, बिहीबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको आर्थिक विकासको अनन्त यात्रामा पर्यटन क्षेत्र सबैभन्दा महत्वपूर्ण आधार : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्यटन क्षेत्र समृद्धिको आधार भएको बताएका छन्। नेपालको आर्थिक विकासको अनन्त यात्रामा पर्यटन सबैभन्दा महत्वपूर्ण आधार रहेको उनले बताएका हुन्।

उनले भने, ‘पर्यटन कहिल्यै नसकिने समृद्धिको आधार हो। यो अनन्त हुन्छ, पर्यटनको विकास नेपालको समृद्धिको प्रमुख आधार पनि हो। नेपालमा हामीसँग यति धेरै नदीनाला छन्। हामीले आर्थिक समृद्धिको नयाँ संकल्प गर्दैछौँ, त्यसको सबैभन्दा महत्वपूर्ण आधार पानी नै हो।’

बुधबार नेपाल पर्यटन बोर्डमा आयोजित अन्तरक्रियामा अध्यक्ष प्रचण्डले अहिलेको युग पर्यटनको युग भएको बताए। उनले भने, ‘अहिलेको युग पानीको युग हो। विश्लेषकहरूले अब तेस्रो विश्वयुद्ध भए पानीकै कारणले हुने विश्लेषण गरेका छन्। अहिलेको दुनियाँमा पानी नै विश्वको सबैभन्दा ठूलो शक्ति हो। नेपालका सन्दर्भमा पानी पर्यटनको अनन्त यात्रा र आधार हो।’ पर्यटन प्रवर्द्धनबाट देशको आर्थिक समृद्धि हुने उनले बताए।

नेपालको पर्यटकीय सम्भावना असीमित रहेको अध्यक्ष प्रचण्डले बताए। ‘पानीका बहुआयमिक विशेषता छन्। तर, हामीले सीमित क्षेत्रमा मात्रै यसको प्रयोग गरेका छौँ’ अध्यक्ष प्रचण्डले भने, ‘जलविद्युत्, पिउने पानीको निर्यात, र्‍याफ्टिङलगायतका विविध क्षेत्रबाट नेपालले लाभ लिन सक्छ। यस अन्तरक्रियाले त्यसका लागि सार्थक सामग्री प्रदान गर्ने आशा लिएको छु।’

 

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्