Logo
१२ बैशाख २०८१, बुधबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिक्षु ग्याल्सेन, कसरी आए ? प्रधानमन्त्रीलाई खादा ओढाइदिए ? दूतावास नै अन्यौलमा

नयाँ दिल्ली : दिल्लीस्थित नेपाली दूतावासभित्र प्रधानमन्त्री केपी ओलीले नेपाली समुदायसँग भेटघाट गरे । दूतावासले यस्तो भेटघाटका लागि निमन्त्रणा पठाएको थियो । तर, दूतावासको निमन्त्रणा नपाएका व्यक्ति पनि दूतावास पुगेका थिए । दूतावासको निमन्त्रणाबिनै कार्यक्रममा पुगेर प्रधानमन्त्री ओलीलाई खादा लगाइदिने एक व्यक्तिका विषयमा भने विवाद देखिएको छ । ती व्यक्ति हुन्, बौद्ध भिक्षु मास्टर कर्मा तन्पाइ ग्याल्सेन । ती व्यक्ति कसरी दूतावासमा आए भन्ने दिल्लीस्थित नेपाली दूतावास नै अन्यौलमा छ ।

उनी कसरी दूतावासमा गए ?

यस विषयमा हामीले दिल्लीस्थित कार्यवाहक नेपाली राजदूत भरतकुमार रेग्मीलाई सोध्यौँ । ‘उहाँ सामन्य भिक्षुमात्रै होला । त्यो भन्दा बढी केही होइन । दूतावासले गरेको निम्तालुको सूचिमा उहाँ हुनुहुन्न । हामीले चार सय जतिलाई बोलाएका हुन्छौँ । आउने नेपालीलाई गेटमै रोक्न पनि भएन । सामान्य कुरा हो । अनावश्यक लम्बाएजस्तो लाग्यो मलाई । चार सय जति बोलाएको ६–७ जति आउनुभयो । हामीले नेपाली संस्थामार्फत गरेका हुन्छौँ, यो सवै । प्रधानमन्त्रीलाई नै भेट्न आएपछि गेटमै रोक्न पनि उपयुक्त भएन ।

उहाँको प्रोफाइल हेर्दा हुन्छ ।’ कार्यबाहक राजदूतले नेपालीलाई गेटमा नरोक्ने बताएपनि बौद्ध भिक्षु मास्टर कर्मा तन्पाइ ग्याल्सेन भने तिब्बती नागरिक हुन् ।  रेग्मीले उनलाई ‘सामान्य भिक्षु’ भनिरहँदा मास्टर कर्माले फेसबुकमा पोष्ट गरेको तस्विरमा उनलाई दूतावासमा दूतावासकै कर्मचारीहरुले ‘भिआइपी ट्रिटमेन्ट’ दिइएको देखिन्छ भने कार्यक्रम स्थलमा ती ‘सामान्य’ भिक्षुलाई नेपाली नेताहरुसँगै पहिलो लहरमा राखिएको छ ।

यी व्यक्तिको फेसवुक र वेवसाइट हेर्दा उनको नेपालका राष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्चपदस्थ व्यक्तिहरुसँग सहजै पहुँच र सम्बन्ध रहेजस्तो देखिन्छ । उनले ओली प्रधानमन्त्री भएपनि ओलीनिवासमै पुगेर कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको तस्वीर पनि बाहिर आएको थियो ।

यसबाहेक उनले  विद्यादेवी भण्डारी पुनः निर्वाचित भएपछि शीतल निवासमै गएर सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।

उनले निर्वासित तिब्बतीयन धर्मगुरु दलाई लामासँग पनि भेट गरेको तस्विर भेटिएका छन् । स्वतन्त्र तिब्बतको माग गर्दै निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामासँगको सम्बन्धलाई लिएर चीनले भारतसँग बेलाबेला असन्तुष्टी जनाउने गरेको छ ।

यसबारे प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले केही बालेको छैन । नेपाल एक चीन नीतिको पक्षमा रहँदै आएको छ । यसअघि, भारत भ्रमणका क्रममा नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तिब्बतका निर्वासित सरकार प्रमुखसँग लोप्साङ साङ्गेसँग एउटै मञ्चमा देखिएपछि विवादमा तानिएका थिए ।

२०७३ सालको कार्तिक महिनाको अन्तिम साता  भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी निकट इण्डिया फाउन्डेशनले गोवामा आयोजना गरेको सेमिनारमा देउवा र लोप्साङ एउटै मञ्चमा देखिएका थिए ।

यस विषयमा चीनले कुटनीतिक च्यानलमार्फत असन्तुष्टि जनाएको थियो । कांग्रेस सभापति देउवाले उद्‌घाटन सत्रलाई सम्बोधन गरेको सो सेमिनारमा साङ्गेले ‘धर्ती माता, प्रकृति माता – पूर्वीय ज्ञान’ शीर्षकको छलफलमा प्रवचन दिएका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी निकट संस्थाको आयोजनामा विवादित व्यक्तिसँगै देउवा उपस्थिित हुनुलाई अर्थपूर्ण रुपमा लिइएको थियो। त्यसअघि, गत असोजमा प्रधामन्त्री रहेको बेला प्रचण्डले भारत भ्रमण गर्दाको एउटा भेट पनि विवादमा आएको थियो ।

टिकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीलाई नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा भेटेको तस्विर सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्डको चर्को आलोचना भएको थियो ।

#रातोपाटीबाट

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्