Logo
१३ बैशाख २०८१, बिहीबार
(April 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सशस्त्र नेतृत्वका लागि अन्तिम दौडधूप : संगठनभित्रै एकले अर्काको पोल खोल्दै

काठमाडौँ : नयाँ वर्षको आगमनसँगै अर्ध–सैनिक सङ्गठन सशस्त्र प्रहरी बलको नयाँ नेतृत्व कसले गर्ने होला ? यतिखेर सशस्त्र सुरक्षा वृत्तमा यस्तै चर्चा चुलिएको छ ।

आइजीपी सिंहबहादुर श्रेष्ठले चैत २८ गते ३० वर्से सेवाहदका कारण अवकास पाउने भएसँगै यो सङ्गठनमा नयाँ नेतृत्वको खोजी भएको हो । तर, सशस्त्रको नयाँ आइजीपी हुने दौडमा रहेका पुष्पराम केसी, शैलेन्द्र खनाल र नारायणबाबु थापामध्ये कसले बाजी मार्ला भन्ने जिज्ञासाको जवाफ भने अझै स्पष्ट भएको छैन ।

आइजीपी हुने दौडमा हुनुपर्ने सशस्त्रका एआइजीद्वय प्रेमकुमार शाही र प्रकाश ओझा पनि चैत २८ मै अवकास हुने भएकाले बाँकी एआइजीहरू केसी, खनाल र थापाबीच नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिएको छ ।

तेस्रो नम्बरमा रहेका नारायणबाबु थापाले आइजीपीका लागि विशेष चाहना नदेखाउनु तथा लबिङमा कमजोर हुनुले भावी नेतृत्वका लागि मुख्यगरी पुष्पराम केसी र शैलेन्द्र खनालबिच नै चर्को प्रतिस्पर्धा हुने सशस्त्र स्रोतको दाबीे छ ।

सशस्त्रको नेतृत्व हस्तान्तरण गर्नुपर्ने समय एक साता पनि बाँकी नरहेकाले राजनीतिक वृत्तलाई प्रभावित पार्दै निर्णय आफ्नो पक्षमा पार्न खनाल र केसी अन्तिम लबिङ तथा दौडधूपमा लागिपरेका छन् । २०४९ वैशाख १९ गते नेपाल प्रहरीको निरीक्षकका रूपमा सेवा प्रवेश गरेका केसी र खनाल सशस्त्र प्रहरी बल गठन हुँदा एक तह बढुवा लिई सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए ।

नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, विजय गच्छदार र निकट मानिने शैलेन्द्र खनाल अदालतको मानहानी जस्तो फौजदारी अपराधमा समेत मुछिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको छनोटमा नपर्ने स्रोतको दाबी छ ।

अदालतविरुद्ध माइन्युट भएपछि कल्याणकारी सेवा केन्द्रका अध्यक्षसमेत रहेका प्रशासन विभाग प्रमुख एआइजी प्रेमकुमार शाही र शान्ति मिसन हेर्ने मानवस्रोत विकास विभाग प्रमुख एआइजी शैलेन्द्र खनालसहित चार जनालाई अदालतले मानहानीमा पत्र काटेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की निकट मानिने एआइजी खनाल भारतीय दूतावासको पनि अत्यन्त निकट मानिन्छन् ।

मुलुकको सुरक्षासम्बन्धी महत्त्वपूर्ण सूचना भारतीय दूतावासमार्फत् खुफिया एजेन्सीलाई उपलब्ध गराउने गरेको सूचना पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली खनालसँग रुष्ट छन् ।

आफू जसरी पनि आइजीपी बन्ने सोचमा रहेका खनाल पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमक्रमका कारण भने अत्यन्तै तनावमा छन् । आठ महिनाअगाडि देउवा प्रधानमन्त्री चुनिएपछि केही ठेकेदारसहित बधाई दिन बर्दीमै बुढानिलकण्ठस्थित देउवा निवास पुगेपछि खनालको चर्को आलोचना भएको थियो ।

यता, सशस्त्र प्रहरीको आइजीपी हुने दौडमा रहेका पुष्पराम केसीको सादगीको चर्चा पनि सशस्त्र प्रहरी संगठनमा उत्तिकै हुने गरेको छ । केसी सङ्गठनमा इमानदार एवम् व्यावसायिक प्रहरी अधिकृतका रूपमा परिचित छन् । चर्चामा आउन खासै नरूचाउने उनी चेन अफ् कमान्डमा बस्न रूचाउने फौजी चरित्र भएका अधिकृतका रूपमा संगठनभित्र परिचित छन् ।

स्रोतका अनुसार सरकारले सशस्त्रमा सेवा प्रवेशदेखि एसएसपीसम्मको अभिलेख हेरेपछि संगठनको पक्षमा काम गर्नेहरूमध्येबाट आइजीपी बनाउने तयारी गरिरहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको छनोटमा केसी पर्ने निश्चित रहेको छ । सरकारले नेतृत्वमा जाने सम्भावित अधिकृतबाट निवेदन लिने र उनीहरूको ट्रयाक रेकर्ड हेरेर योग्य अधिकृतलाई नेतृत्वमा लैजाने तयारी गरेको बुझिएको छ ।

प्रकाशित मिति: Apr 4, 2018

प्रतिक्रिया दिनुहोस्