Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीको त्रिदिवसीय राजकीय भारत भ्रमणमा कुनै नयाँ सन्धिसम्झौता नहुने

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी शुक्रबार हुने भारतको त्रिदिवसीय राजकीय भ्रमणमा कुनै नयाँ सन्धिसम्झौता नहुने सरकारले स्पष्ट गरेको छ । भारतसँगको नेपालको सम्बन्धलाई अझ सुदृढ र सुमधुर तुल्याउन तथा पारस्परिक सम्बन्धका नयाँ आयाम एवं क्षेत्र पहिल्याउनमा नै प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुने मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यले बताउनुभएको छ ।

कूटनीतिक मामिलाका समाचार सम्प्रेषणमा सक्रिय केही चुनिएका पत्रकारहरुसँग आज अपराह्न अनौपचारिक कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको आर्थिक विकासलाई भ्रमणको मुख्य कार्यसूची बनाएर प्रधानमन्त्री नयाँदिल्लीतर्फ प्रस्थान गर्न लाग्नुभएको बताउनुभयो ।

“नेपालको आर्थिक उन्नयन र समृद्धिमा नै प्रधानमन्त्रीज्यूको भारत भ्रमण केन्द्रित हुनेछ । भारतले सद्भाव प्रकटीकरणस्वरुप कुनै ‘उल्लेख्य घोषणा’ गर्नसक्नेछ,” उहाँले भन्नुभयो । नेपाल र भारतबीच विगतमा भएका सहमतिको कार्यान्वयनलाई पनि उत्तिकै महत्वका साथ भारतीय पक्षसँग उठाइने तथा आपसी सद्भाव वृद्धिलाई उच्च प्राथमिकता दिइने जानकारी परराष्ट्रमन्त्रीले दिनुभयो ।

“भारतसँग सम्बन्ध सुमधुर र सुदृढ बनाउने यो उपयुक्त अवसर हो,” नेपाल र भारतमा लामो समयपछि स्थिर एवं सबल सरकार बनेका र नीतिगत तहमा हुने निर्णय कार्यान्वयनको कसीमा रुपान्तरण गर्न सहज हुने सन्दर्भ जोड्दै उहाँले भन्नुभयो ।

एक पृथक प्रसंगमा उहाँले नेपालको राष्ट्रिय स्वार्थ र आवश्यकताअनुसार चीनसँग भएका सम्झौता कार्यान्वयनमा सरकार दृढ रहेको परराष्ट्रमन्त्रीले स्पष्ट गर्नुभयो । साथै, उहाँले नेपाली भूमि कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन नदिनेमा नेपाल सरकार अटल एवं दृढनिश्चयी छ भन्नुभयो ।

प्रकाशित मिति: Apr 1, 2018

प्रतिक्रिया दिनुहोस्