Logo
१५ चैत्र २०८०, बिहीबार
(March 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैशाखदेखि औद्योगिक करिडोरमा विद्युत्भार कटौती नहुने

काठमाडौँ : सरकारले ‘नयाँ साल नयाँ उत्साह र नयाँ सञ्चार नयाँ सरकार’को अवधारणासहित आगामी वैशाखको अन्तिम सातादेखि औद्योगिक करिडोरमा समेत विद्युत्भार कटौतीको अन्त्य गर्ने भएको छ ।

उद्योगी तथा व्यवसायीले औद्योगिक क्षेत्रमा हाल पनि दैनिक चार घण्टा विद्युत्भार कटौती भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएपछि ऊर्जा मन्त्रालयको तर्फबाट त्यसको तयारी गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय भारप्रेषण केन्द्रको आइतवार साँझ स्थलगत अनुगमन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले २०७५ सालको वैशाख महिनाको अन्तिम सातादेखि नै औद्योगिक क्षेत्रलाई पूर्णरुपमा विद्युत् उपलब्ध गराउन निर्देशन दिए । उनले भने, “नयाँ साल, नयाँ उत्साह, नयाँ सञ्चार र नयाँ सरकारको अनुभूति दिलाउन वैशाखको अन्तिम सातादेखि नै औद्योगिक क्षेत्रमा पूर्णरुपमा विद्युत् उपलब्ध गराउनुस् ।”

ऊर्जा, जलस्रोत, सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायसहित, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्राधिकरणका उच्च कर्मचारीलाई मन्त्री पुनले सो निर्देशन दिएका हुन् । औद्योगिक करिडोरमा प्राधिकरणले गर्दै आएको विद्युत्भार कटौती हटाउन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका संस्थाले सरकारसँग आग्रह गर्दै आएका थिए ।

नदीमा पानीको प्रवाहसमेत बढ्ने भएकाले विद्युत्भार कटौती अन्त्य गर्ने प्राधिकरणले तयारी गरेको थियो । प्राधिकरणले भने आगामी जेठदेखि औद्योगिक करिडोरमा भइरहेको विद्युत् कटौती अन्त्य गर्ने तयारी गरेको थियो । तर मन्त्री पुनले नयाँ सन्देश दिनका लागि नै भएपनि वैशाखको अन्तिम सातादेखि नै औद्योगिक करिडोरमा विद्युत्भार कटौतीको अन्त्य गर्न निर्देशन दिएको हो ।

हाल साँझको समयमा प्राधिकरणले घरायसी प्रयोजनका लागि विद्युत् आवश्यक भएकाले औद्योगिक करिडोरमा विद्युत् आपूर्ति बन्द गर्दै आएको छ । उद्योगमा साँझको समयमा २५० मेगावाट बराबरको विद्युत् माग हुँदै आएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीको मागबारे आफू जानकार भएपनि माग र आपूर्तिमा सन्तुलन मिलाउन साँझको बढी विद्युत् माग हुने समयमा औद्यौगिक करिडोरको विद्युत् कटौती गर्ने गरिएको बताए ।

सो अवसरमा सामान्य प्राविधिक अवस्थामा बाहेक प्राधिकरणले कुनै पनि स्थानमा विद्युत्भार कटौती नगरेको तथा प्राविधिक समस्याका कारण विद्युत् काटिनुलाई ‘लोडसेडिङ’ नभन्न समेत आफूहरुले उपभोक्तालाई आग्रह गरेको कार्यकारी निर्देशक घिसिङले जानकारी थिए ।(रासस)

प्रकाशित मिति: Mar 25, 2018

प्रतिक्रिया दिनुहोस्