Logo
१२ बैशाख २०८१, बुधबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुवेत पठाउने भन्दै पैसा उठाउने गरेका एक ठगलाई विभागमै थुनियो

काठमाडौँ : आकर्षक तलब सुविधासहित कुवेत पठाउने भन्दै पैसा उठाउने एक ठगलाई वैदेशिक रोजगार विभागको कार्यालयमा थुनेका छन् ।  उनले कुवेतको ग्लोबल एक्सल कम्पनीमा २ सय केडी (करीब ५५ हजार नेपाली ) तलबसहित काममा पठाउने भन्दै करिब ५ सय नेपाली युवाबाट पैसा असुलेका थिए ।

बुधवार करिब डेढ सय युवाहरूको समूहले विभागको कार्यालय बुद्धनगरमा बजाज ओभरसिजको सञ्चालक रामेश्वर सिंहलाई थुनेका हुन् । कहिले रामसिंह, कहिले प्रेमसिंह त कहिले रामेश्वर नाम बताउदै आएका थिए । उनीमाथि दुई करोड ३० लाख भन्दा बढीको ठगीको आरोप लागेको छ । कुवेतको ग्लोबल एक्सल कम्पनीमा मासिक २०० दिनार तलब हुन्छ भन्दै फर्जी कागज पत्र बनाएर त्यहाँ जान चाहनेहरुसँग ६० हजारसम्म उनले लिने गरेको आरोप पीडित युवाहरूको छ ।

उनको म्यानपावर कम्पनी ‘बजाज ओभरसिज’ को सम्बन्धन करिब दुई वर्ष अघि नै वैदेशिक रोजगार कार्यालयले खारेज गरेको भए पनि उनले युवालाई विदेश पठाउने भन्दै रकम असुल गर्ने गरेका थिए । फरक फरक नाम र फरक फरक मोबाइल नम्बर युवाहरूलाई उपलब्ध गराउने उनलाई भेट्टाउन नै मुस्किल हुने गरेको पीडितहरूले बताए ।

कुवेत जानेहरुलाई रामेश्वरले ड्राइभर, सेक्युरिटी गार्ड र अन्य ठाउँहरूमा आकर्षक काम लगाइदिने भन्दै त्यसैसँग सम्बन्धित फर्जी कागजपत्र बनाउने गरेका थिए । भिसा पाएको सात महिनासम्म पनि आज–भोलि भनेर उनले युवाहरूलाई झुलाउन नछोडेपछि पीडितहरू एकजुट भएका थिए ।

तीनकुने प्रहरीले उनलाई ठगीको आरोपमा नियन्त्रणमा लिएपनि बाँकी कारबाही भने वैदेशिक रोजगार विभागले नै गर्ने जानकारी दियो ।

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्