Logo
७ बैशाख २०८१, शुक्रबार
(March 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोजगारीका लागि विदेश नै जाने बाध्यताको छिटै अन्त्य गरिने सरकारी तयारी

काठमाण्डौ : कानुनमन्त्री शेरबहादुर तामाङले कानुनअनुसार सबै न्यायाधिशले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने बताएका छन् । न्यायालयलाई पारदर्शी बनाउनका लागि न्यायपरिषद पनि तयार रहेको उनले दाबी गरे । “लोकतन्त्रलाई सुदृढीकरण गर्नका लागि सबै तह पारदर्शी हुनुपर्छ । त्यसपछि मात्रै सुशासन कायम गर्न सकिन्छ । पारदर्शीता अहिलेको प्रमुख प्राथमिकता हो ।” तामाङले भने ।

पूर्व पदाधिकारीहरुले सुरक्षाकर्मीहरुलाई घरमा राखेर निजी काममा प्रयोग गरेकोबारे पनि सरकारको ध्यानाकर्षण भएको भन्दै उनले अबका दिनमा यस्ता प्रवृत्ति रोक्ने बताए । “पूर्व पदाधिकारी भनेका पनि राष्ट्रका गहना हुन् । तिनीहरुलाई राष्ट्रले सेवा दिइरहेको छ । उहाँहरुको योग्यता र क्षमता राष्ट्रका लागि काम गर्छ । उहाँहरु पनि मर्यादित हुने र राष्ट्रलाई सेवा गर्ने काम बाँकी नै छ । तर घरेलु कामदार राख्न पाउँदैनन् ।” तामाङले भने ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै मन्त्री तामाङले ऐन संशोधन गरेर भएपनि न्यायालयालाई पारदर्शी, जनमुखी बनाउनका लागि आफू प्रतिवद्ध रहेको बताए । आफूहरु बोल्ने मात्र नभै काम गरेर देखाउनका लागि सरकारमा गएको दाबी गर्दै उनले जनताले प्रश्न गर्ने ठाउँ नरहने गरी काम गर्ने दाबी उनको छ ।

“हामी मुलुक बनाउने अभियानमा छौँ । मुलुकलाई अहित हुने खालका काम एक इन्च पनि हुन दिदैनौँ । हामी मुलुक बनाउनका लागि हिँड्दा कयौँ साथीहरुले ज्यान गुमाउनुभयो । हामी बाँच्यौँ । मुलुक बनाउनका लागि बाँचेको हौँ ।” तामाङले भने । न्यायालयमा हुने गरेको भ्रष्टाचार र अन्य जनगुनासोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले न्याय परिषद ऐनको अध्ययन गरेर आवश्यकताअनुसार संशोधन गरेर न्यायालयलाई सुधार गर्ने उनले बताएका छन् ।

“न्यायालय पुर्याइएका भ्रष्टाचारी फूल माला लगाएर बाहिरिने वातावरण अहिलेसम्म छ । त्यसैले न्यायालयबाट नै भ्रष्टाचारको अन्त्य गर्नुपर्छ ।” तामाङले भने । मन्त्री तामाङले प्रदेश सरकारलाई तत्काल आवश्यक कानुनको व्यवस्था गर्न नमुना कानुन बनाउने गृहकार्यमा आफू रहेको जानकारी दिए । “२०७५ साल असोज ३ गतेभित्र सबै कानुनहरु बनाइसक्नुपर्ने छ । यो काम म टुङ्ग्याउँछु ।” तामाङले भने ।

अहिलेको सरकार पाँचवटा चिजमा केन्द्रित भएको भन्दै उनले अत्मनिर्भर हुनका लागि छिटै योजना ल्याइने बताए । “खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य वस्तु र माछामासुमा आत्मनिर्भर बन्ने गरी सरकारले कार्ययोजना ल्याउँदैछ । यसका लागि नेपाली युवालाई प्रयोग गरिने छ । विदेश जानका लागि लाइन बस्नपर्ने अवस्थाको अन्त्य गर्छौँ ।”

रोजगारी र उत्पादनको वातावरण बनाउनका लागि सरकार प्रतिवद्ध भएको उनको भनाई छ । “अरु देशमा गएर श्रम गरेर नेपाल बन्दैन । नेपाल बनाउनका लागि नेपालमै श्रम गर्नुपर्छ । यसका लागि हामी कार्यक्रम ल्याउँछौँ ।” तामाङले भने ।

प्रकाशित मिति: Mar 23, 2018

प्रतिक्रिया दिनुहोस्