Logo
१५ चैत्र २०८०, बिहीबार
(March 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजेन्द्र महतोलाई जनकपुर जान निषेध गरिने चेतावनी

जनकपुर : संयुक्त युवा संघर्ष समिति जनकपुरले राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोलाई जनकपुर प्रवेशमा निषेध गर्ने चेतावनी दिएका छन । संविधान संशोधनको मुद्दालाई मुख्य आधार बनाएर जनताको मत लिई संसदमा नेता महतोले सत्तामा जाने अभिप्रायको पुर्ण अभिव्यक्ति दिएको भन्दै उनलाई जनकपुर प्रवेशमा निषेध गर्ने चेतावनी समितिका संयोजक धर्मेन्द्र साहले दिएका हुन ।

नागरिक टाईम्स सम्वाददातासंगको कुराकानीमा उनले भने , ‘लिखित सहमति र सम्झौता त कार्यान्वयन गर्न बेईमानी गरेका मधेशी विरोधी दल एमालेका प्रधानमन्त्री केपी शर्मा ओलीसंग महतोले मौखिक रुपमै भएपनि संशोधन गर्छु भनदिनुस हामी सहकार्य गर्न तयार छौं भन्नु कुनै पनि हालतमा सत्तामा पुग्ने महतोको रणनीति रहेको प्रष्ट भएको छ ।’

धर्मेन्द्र साह, संयोजक, संयुक्त युवा संघर्ष समिति

बहुचर्चित धनुषा क्षेत्र नम्बर ३ बाट मधेशको मुद्दालाई नै मुख्य रुपमा चुनावी नारा बनाएका र पटक पटक मधेशी अधिकार सम्पन्न नभए सम्म आन्दोलन जारी राख्ने दावी गर्दै आएका नेता महतोले लिखित सम्झौता गरेर संशोधनको निम्ति ठोस पहल नै नगरी निहायत सत्ताको लागि जनतालाई ठग्ने कार्य गरिए युवा जमात चुप लागेर नबस्ने चेतावनी समेत दिए ।

संविधान संशोधनको मुद्दालाई फेरि पनि ओझेलमा राख्दै सरकारमा जानु नै मधेशी जनताको लागि सरासर बेईमानी रहेको बताउँदै उनले भने , -‘ ठिक छ यदि सरकारमै जानु नै छ भने संशोधन प्रतिको समय सीमा सहितको ठोस सहमति गरि जानु उचित हुन्थ्यो तर महतो जस्तो नेताहरुले नै सत्तामा जानकै निम्ति मौखिक सहमतिलाई आधार बनाउनुको अर्थ जनतालाई उल्लु बनाउनु हो । ’

मधेशी जनताको अधिकार सम्पन्न हुनुको एक मात्र विकल्प संविधान संशोधन रहेको बताउँदै उनले अधिकारको लडाईबाट प्राप्त जनमतको कदर नगरिए अबको आन्दोलन आफुलाई मधेशको मसिहा भनाउनेहरु विरुद्ध गरिने चेतावनी पनि दिए ।

नेता महतोको अभिव्यक्तिनै संघर्षरत रहेका मधेशी जनताको भावना विपरित रहेको संयोजक साहको ठहर छ । ‘संविधान संशोधन गराउने भन्दै मत मांगेकाहरुले संशोधनकै मुद्दालाई थाँती राखेर सताको भोगविलासमा गए हामी चुप लागेर बस्दैनौ’-उनको भनाई थियो ।

प्रकाशित मिति: Mar 7, 2018

प्रतिक्रिया दिनुहोस्