Logo
१२ बैशाख २०८१, बुधबार
(March 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई दशकपछि उदितनारायण झा जन्मस्थलमा, आफन्तसँग सप्तरीमा होली मनाउने

राजविराज : झण्डै दुई दशकपछि चर्चित गायक उदितनारायण झा बुधबार आफ्नो जन्मस्थल सप्तरीको भारदह आएका छन् । जेठी श्रीमती रन्जना झासितको विवादपछि गाउँका बासिन्दा पनि उदितको विपक्षमा उभिएका कारण उनी घर फर्कन पाएका थिएनन् ।

सन् १९८८ मा फिल्म कयामत से कयामत तकको ‘पाप कहते है वडा नाम करेगा’ बोलको गीतबाट प्रसिद्धी पाएका उदितले ३० भाषाका १५ हजार गीतमा आफ्नो स्वर दिएका छन् । पछिल्लो समय जेठी श्रीमती रन्जनासित सम्बन्ध सुधार भएपछि घरायसी कार्यका लागि उदित २ दिनअघि घर भारदह आएका हुन् । उनी बुधबार ससुराली (जेठी श्रीमतीको माइती) बिहारको सुपौल जिल्लास्थित अरर्हा निर्मली गएका छन् ।

गायन पेशामा लागेर लामो समयदेखि भारतको मुम्बईमा बसोबास गर्दै आएपनि उहाँका दाजुभाइ भने भारदहस्थित घरमै बस्दै आएका छन् ।  स्थानिय पत्रकारसँग भारदहमा छोटो कुराकानी गर्दै गायक झाले आफू एक हप्ता जन्मथलोमा बस्ने र लामो समयदेखि भेटघाट नभएका साथीभाइसँग भेटघाटसमेत गर्ने र होली मनाउने बताए ।

साथै मिथिला क्षेत्रमा मनाइने होली पर्वसमेत यसपालि यहीँ आफ्नो जन्मथलो भारदहमै मनाउने बताए । गायक उदितनारायण आफ्नो जन्मथलो आउनेबित्तिकै सबैभन्दा पहिले भारदहस्थित कंकालनी मन्दिरमा पूजापाठ गरेका थिए । सो क्रममा पूजा गर्न मन्दिर पुग्दा उहाँलाई हेर्न स्थानीयवासीको भीड लागेको थियो । मन्दिर परिसरमा पालैपालो उहाँसँग सेल्फी लिनेहरुको पनि अत्यधिक भीड लागेको थियो ।

गायक झा आएको थाहा पाउनेबित्तिकै उहाँसँग भेट्न जानेहरुको घुइँचो लागेको स्थानीयवासी भण्डारीले बताउनुभयो । बलिउडमा स्थापित भएपछि दीपा झासँग दोस्रो विवाह गरेलगत्तै जेठी पत्नी रञ्जनासँग उहाँको सम्बन्ध बिग्रेको थियो । उदित र रञ्जनाको सम्बन्धका कारण भारतमा विवाद समेत भएको थियो । तर अहिले दुवैको सम्बन्ध सुमधुर भएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति: Mar 1, 2018

प्रतिक्रिया दिनुहोस्