Logo
४ बैशाख २०८१, मंगलबार
(February 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टोपीको सट्टा गम्छा भिर्दै मैथलीमा लिए मातृका यादवले सपथ (जीवनी सहित)

काठमाडौँ : नागरिक्ता बनाउदा अनिवार्य टोपी लगाउनुपर्ने नियम विरुद्ध कडा रुपमा प्रस्तूत हुदै बिना टोपीकै फोटो भएको नागरिक्ता बनाउने प्रवधानको सुरुवात गरेका मातृका यादव सोमवार उद्योग, वाणिज्य तथा आपूर्तिको रुपमा सपथ ग्रहण गरेका छन् । सँगै अरु मनत्रहिरुले दौरासुरुवाल र टोपी लगाउदै सपथ लिरहदा यादवले भने टोपाीको सट्टा गम्छा भिर्दै मैथलीमा लिएका हुन् । वन मन्त्री भएको बेला २०६५ असार ४ गते जिल्ला विकास समिति ललितपुरका एलडीओलाई शौचालयमा थुनेर चर्चामा आएका मातृका यादव पुनः मन्त्री भएका हुन् ।

उनको नाम मन्त्रीमा टुङ्गो लाग्ने वित्तिकै शौचालयमा एलडीओलाई थुनेको घटनालाई सबैले स्मरण गर्न थालेका छन् । ललितपुरमा बिना इजाजत सञ्चालनमा आएका ढुङ्गा खानीको विवादलाई लिएर ललितपुरका तत्कालीन एलडीओ डण्डुराज घिमिरेलाई थुनेका थिए । मातृका यादवले वाहवाही कमाएका थिए । भ्रष्टहरूलाई यसरी नै तह लगाउनुपर्छ भनी मातृका यादवको पक्षमा जनमत तयार भएको थियो । २०७० को संविधानसभा चुनाव बहिष्कार गरेका मातृका यादव धनुषा १ बाट चुनाव जितेपछि उनी मन्त्री मन्त्री भएका हुन् ।

मातृकाको राजनीतिक यात्रा 
मधेस आन्दोलन राष्ट्रिय समिति गठन गरेर मधेसमा आन्दोलन सुरु गरेका थिए । मधेसवादी दलहरूले आन्दोलन सुरु गर्दा उनी त्यस अघिदेखि नै आन्दोलनमा थिए तर सानो पार्टी र सानो समूह भएका कारणले चर्चामा आएका थिएन । उनले आन्दोलन बलियो बनाउनका लागि हरेक मधेसवादी दलको घरघर पुगेका थिए । महागठबन्धन बनाएर आन्दोलनमा जानुपर्छ भनी उनले निकै प्रयास गरेका थिए । त्यही प्रयास स्वरूप एक पटक उनले राजेन्द्र महतो र जेपी गुप्तासँग गठबन्धन गर्न सफल भएका थिए तर त्यो धेरै दिन चल्न सकेन । एक मधेस एक प्रदेशको मुद्दा हालसम्म नछाडेका मातृका यादवले डेढ वर्ष अगाडि माओवादी केन्द्रसँग एकीकरण गरेका हुन् । पार्टीसँग एकीकरण गरेपछि पार्टीको कार्यालय सदस्यसहित उनी मधेसका इन्चार्ज पनि भए ।

२०३४ मा नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा सुरु गरेका मातृका यादव विसं २०३६–३८ सम्म उनी सिरहा क्याम्पसमा दुई पटक अनेरास्ववियुको सभापति बने । त्यसताका उनको एउटा भाषणले सबै विद्यार्थीले उनलाई नै मत हालेको कुरा त्यतिबेला निकै चर्चित थियो । विस २०३८ मा विद्यार्थीको सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य बने । त्यसताका सङ्गठन भूमिगत थियो । राजधानीबाट उनी इन्द्रचोकबाट पक्राउ परे । उनी विद्यार्थीभन्दा पनि पार्टीमा बढी सक्रिय थिए । चौम (चौथो महाधिवेशनका पोलिटब्युरो सदस्य (पीबीएम) समेत रहेका उनी सिरहा मिर्चैया बडहराका जयगोविन्द साहबाट वर्गीय र सैद्धान्तिक कुराको ज्ञान लिएका थिए । त्यसताका उनले सबैला (उनको गाउँ) क्षेत्र उनले खुबै तताएका थिए ।

२०३८ चैतमा समातेर उनलाई डिल्लीबजार खोरमा चार महिनासम्म राखिएको थियो । त्यहाँ उनले ठूलो सङ्घर्ष गरेका थिए । जेलभित्रै अश्रुग्यास र गोली चल्यो । आफूलाई रिहा गर्नुपर्ने माग राख्दा जेलका नाइकेहरू मातृका यादवमाथि आक्रमण गर्न गएका थिए । त्यतिबेला मातृका यादव लगायतले जेलको गेट कब्जामा लिएका थिए । विसं २०३९ मा जेलबाट छुटेपछि उनी पार्टीमा सक्रिय भए । विसं २०४० मा देव गुरुङको नेतृत्वमा विद्यार्थी सङ्गठनमा केन्द्रीय सदस्य र पार्टीमा क्षेत्रीय व्युरो सदस्य थिए, उनी । यहाँसम्म आइपुग्दा उनी ‘होल टाइमर’ कार्यकर्ताका रूपमा पार्टीमा सक्रिय भइसकेका थिए ।

२०४२ तिर उनीमाथि विभिन्न झुठा मुद्दा लगाएर जेल चलान गरियो । त्यतिबेला मातृका नौ महिना जेलमा बसे । २०४४/४५ तिर पार्टी जनयुद्धमा जाने बहुसङ्ख्यकको माग थियो । त्यतिबेला मातृका क्षेत्रीय ब्युरो सदस्य थिए । २०४६ तिर पार्टीले भौतिक प्रशिक्षण सुरु गयो । त्यसमा पनि उनी सक्रिय रहे । फेरि उनी पक्राउ परे । झण्डै १८ महिनासम्म उनलाई खरखजाना, राजकाज, ज्यानलगायतका मुद्दामा जलेश्वर जेलमा राखियो । पार्टी पातलो मसाल, मोटो मसाल हुँदै एकता केन्द्र बन्दासम्म मातृका क्रान्तिकारी धारमै सक्रिय थिए । २०५०/५१ मा प्रचण्डको नेतृत्वमा रहेको एकता केन्द्रमा उनी संलग्न भए । उनलाई केन्द्रीय समितिमा ल्याउने कुरा भयो । उनी रामवृक्ष यादव मास्टर साहेबलाई केन्द्रीय सदस्य बनाउनुपर्ने अडान राखे र आफू गएनन् ।

२०५१ मा पार्टीको तेस्रो विस्तारित वैठकपछि पार्टी नेकपा (माओवादी) बन्यो । पार्टी भूमिगत बन्यो । उनी धनुषामा केन्द्रित रहे । २०५६ मा श्रीमतीको उपचारका क्रममा काठमाडौँ आउँदा पक्राउ परे उनी । एक वर्षसम्म उनलाई बेपत्ता पारियो । २०५८ मा फेरि उनी जेलमा परे । २०५९ मा सरकारसँग पहिलो वार्तामा उनी जेल मुक्त भए भने दोस्रो वार्तामा टोलीका सदस्य बने । २०६० मा फेरि दिल्लीबाट पक्राउ परे । २०६३ को वैशाख अन्तिमतिर उनी छुटे । उनी अन्तरिम व्यवस्थापिका संसदमा वनमन्त्री बनेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालसँगको विवाद कारण उनी मन्त्रीबाट राजीनामा दिएर हिँडेका थिए । २०६४ मा संविधानसभामा समानुपातिकबाट सभासद बने । सभासद भएकै बेला उनी पार्टीबाट अलग भए । पार्टीबाट अलग हुने बेला उनले सभासद्बाट पनि राजीनामा दिए । २०६५ माघ २९ गते माओवादी पुनर्गठन गर्ने भन्दै नेकपा (माओवादी) को संयोजक भएर उनी आन्दोलनमा अघि बढे ।

शिक्षा
मातृकाप्रसाद यादवले त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्रमा प्रवीणता प्रमाणपत्र (आईएड) सम्मको शिक्षा हासिल गरेका छन् । परिवारको आर्थिक स्थितिका कारण उनले विद्यालयको शिक्षा नियमित रूपमा पूरा गर्न सकेनन् । झण्डै पाँच वर्षजति उनले आफ्नो नियमित पढाइ छाड्नु पर्यो । पछि फेरि विद्यालयमा भर्ना भएर एसएससी सिद्धयाए, उनले । डा. श्रीकृष्ण यादवको सल्लाहमा उनी सिरहा क्याम्पसबाट आईएड गरे । त्यहाँ उनी हेमनारायण यादवको आफन्तको घरमा बालबालिकाहरूलाई ट्युसन पढाएर आफू पनि पढ्थे । एसएलसी पास भएपछि कीर्तिपुर आएका थिए । त्यहीँ उनको भेट श्रीकृष्ण यादवसँग भएको थियो ।

उनी पक्लिहवा क्याम्पसमा पढ्न गएका थिए । श्रीकृष्ण यादवले त्यहाँ कार्यरत जगत नारायण यादवसँग भेट्न पठाएका थिए । पक्लिहवामा पहिलो सूचीमा उनको नाम निस्केको थियो तर घर गएकाले अन्तिम दिनमा मात्रै इन्डिया हुँदै उनी त्यहाँ पुगेका थिए । एड्मिसन नभएपछि उनी काठमाडौँ फर्के । त्यसपछि उनी आईएडका लागि सिरहा क्याम्पसतिर लागेका थिए । त्यहाँ उनी विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए ।

प्रकाशित मिति: Feb 26, 2018

प्रतिक्रिया दिनुहोस्