Logo
७ बैशाख २०८१, शुक्रबार
(February 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनताले पर्खिएको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको सुरुवात : ओली

काठमाडौं : ६८ औँ प्रजातन्त्र दिवसको अवसरमा सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले लामो समयदेखि पर्खिएको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको सुरुवात भएको बताएका छन् । स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा तथा राष्ट्रियसभाको चुनाव सम्पन्न भइसकेको अवस्थामा संविधानसभाबाट बनाइएको संविधानको कार्यान्वयन भएको बताउँदै अब विकासको सपना पूरा गर्ने पालो आएको बताए । त्यसका लागि राजनीतिक स्थिरता आवश्यक रहेको र अबको सरकारले त्यसलाई पूरा गर्ने उनको भनाई छ।

प्रधानमन्त्री ओलीले भने, ‘ दशकौंदेखिको केन्द्रीकृत संरचनाहरुलाई संघीयताको ढाँचामा ७ प्रदेश, ७५३ स्थानीय तहसहितको शासकीय पद्धतिमा ढाल्ने कार्य अगाडि बढेको छ । तीनवटै तहका सरकारहरुले आ–आफ्ना अधिकारका सीमा र सम्बन्धमा रही समन्वयात्मक तवरबाट शासन सञ्चालन गर्ने नयाँ अध्यायको सुरुवात भैसकेको छ ।’

उनले अघि भने, ‘सबै तहको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकास मार्फत “सुखी नेपाली र समृद्ध नेपाल” को लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ भएको छ ।’जनतामा निहित सार्वभौमसत्ताको सम्मान, राष्ट्रिय एकता एवं हितको रक्षा, कानूनी शासनको सुदृढीकरण, सुशासन, स्थिरता, विकास र समृद्धि आफ्नो सरकारको कार्यदिशा हुने उनको भनाई छ ।

विभिन्न आरोह अवरोध पार गर्दै, प्रतिकुल अवस्थामा तत्कालीन निरंकुश शासक र व्यवस्थालाई परास्त गर्दै देश अहिलेको अवस्थामा आइपुगेको प्रधानमन्त्री ओलीको भनाई छ । लामो समयको प्रयास र आन्दोलनको परिणाम स्वरुप प्राप्त गरेको समय सापेक्ष संविधानको कार्यान्वयन निरपेक्ष विकासबाट सम्भव नरहेको उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘अब जनताको चाहना बमोजिम युग सापेक्ष विकास र विकास सापेक्ष नीति एवं कार्यक्रमबाट नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने महा–अभियान सुरु हुने उद्घोष गर्न चाहन्छु ।’

प्रकाशित मिति: Feb 19, 2018

प्रतिक्रिया दिनुहोस्