Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाचार उन्नत संस्था रासस बन्नुपर्छ : प्रम ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समाचार समिति (रासस) ले आफूलाई सबैभन्दा उन्नत समाचार संस्थाका रुपमा उभ्याउनुपर्नेमा जोड दिनुभएको छ । मुलुकको एकमात्र समाचार समिति राससले ५७ औँ वर्ष प्रवेश गरेको सुखद अवसरमा उहाँले दिनुभएको शुभकामना सन्देशमा परिवर्तित सन्दर्भमा राससले आफ्नो समाचारीय प्राथमिकता र शैलीमा परिवर्तनका लागि नयाँ प्रविधिको प्रयोग गरेर आफूलाई सबभन्दा उन्नत समाचार संस्थाका रुपमा उभ्याउन आग्रह गर्नुभएको छ ।

उहाँले यसका लागि सरकारको तर्फबाट सधैँ सकारात्मक सहयोग हुने नै विश्वास पनि दिलाउनुभएको छ । मुलुकमा राणा शासनको अन्त्यपछि प्रजातन्त्र स्थापना भएसँगै प्राप्त सीमित स्वतन्त्रताका बीच देश र जनताका पक्षमा आंशिक रुपमा पत्रकारिता आरम्भ भएको तर निरङ्कुश पञ्चायती व्यवस्थाले जनताको स्वतन्त्रताको हक खोसेका कारण प्रेस स्वतन्त्रता पनि लामो समय कुण्ठित हुनपुगेको उल्लेख गर्दै उहाँले तर जनताका अधिकार बहाली गर्नका लागि त्यसबेला पनि मिसन पत्रकारिता जारी रहेको स्मरण गर्नुभएको छ ।

नेपालको राजनीतिक अधिकार प्राप्तिको लडाईंमा यस किसिमको मिसन पत्रकारिताको महत्वपूर्ण योगदान रहेको उहाँले बताउनुभएको छ । “संविधानसभाले संविधान जारी गरेपछि नेपालमा मूलतः राजनीतिक संघर्षको युग सकिएको छ । त्यसमा पनि गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि आधारभूत रुपमा राजनीतिक संक्रमणकाल पनि सकिएको छ,” सन्देशमा भनिएको छ ।

त्यसकारण अब राज्यको मूल लक्ष्य विकास र समृद्धि हो । देशको यो प्राथमिक लक्ष्य हासिल गर्न सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुन्छ । यस महाअभियानमा राससले अग्रणी भूमिका निर्वाह गर्नेछ भन्ने मैले विश्वास लिएको छु भन्दै प्रधानमन्त्रीले राससकर्मीलाई शुभकामना पनि दिनुभएको छ । (रासस)

प्रकाशित मिति: Feb 18, 2018

प्रतिक्रिया दिनुहोस्