Logo
१५ चैत्र २०८०, बिहीबार
(February 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीको शिर झुकाउनेलाई छाडिन्न : काठमाडौं प्रहरी प्रमुख पोखरेल

काठमाडौं : महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले लोभलालचमा परेर गलत कार्य गर्ने आफू मातहतका कर्मचारीलाई नछाड्ने बताएका छन् । पछिल्लो समय विभिन्न अपराधिक घटनामा प्रहरीको संलग्नता रहेको विषय सार्वजनिक हुँदै आएको छ । दरबारमार्ग बलात्कार प्रकरणमा संलग्न भएको आरोपमा तत्कालिन दरबारमार्ग वृत प्रमुख तिलक भारती निलम्बनमा परेका छन् ।

काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा भएर आएको ६ दिनपछि मातहतका प्रहरी अधिकारीहरुलाई शनिबार ब्रिफिङ गर्दै उनले भने, ‘जनतामा अविश्वास सिर्जना हुने र लोभलालच वा प्रलोभनमा परेर ७२ हजार प्रहरीको शिर झुकाउने काम गर्ने व्यक्तिले प्रहरी संगठनभित्र रहन पाउँदैन ।’ त्यस्तै, प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र प्रहरी नायब निरीक्षक चन्द्रबहादुर भण्डारी समेत निलम्बनमा परेका छन् ।

त्यसतर्फ लक्षित गर्दै एसएसपी पोखरेलले भने, ‘काठमाडौं प्रहरीभित्रका केही व्यक्तिहरुको कारणले अहिले सिङ्गो प्रहरी युनिटले शिर निहुर्‍याउनु परेको छ । अब प्रहरीको बर्दीमा हुञ्जेल कसैले पनि म व्यक्ति हुँ, यसो गर्छु भन्ने कुरा सम्झिन पाउने छैन । सिङ्गो प्रहरी युनिटको साख आफूले जागाउनु पर्छ भन्ने सम्झिनु पर्छ ।’ पोखरेलले जनतासँग विवेपूर्ण व्यवहार गर्नु पर्ने समेत बताए । ‘हामीसँग बदी पनि छ र हतियार पनि छ, जनताको सुरक्षाको गहन जिम्मेवारी छ’, उनले भने, ‘त्यसैले हामीले विवेकपूर्ण व्यवहार गर्नुपर्छ ।’

उनले प्रहरीले कसैबाट पनि कुनै प्रकारको सहयोग लिन नपाउने बताए । लिनै परे पनि कारण खुलाएर सार्वजनिक रुपमै लिनु पर्ने बताए । ‘अहिले केही कुरामा सहयोग गरे भने उनीहरु पछि गलत कार्यमा आफ्नो प्रोटेक्सन खोज्न सक्छन्’, उनले प्रहरी अधिकारीहरुलाई ब्रिफिङ गर्दै भने, ‘हामीले जनतासँग समान ढंगले व्यवहार गर्नुपर्छ ।’ उनले प्रहरी अधिकारीहरुलाई परिणाममुखी कार्य गर्न समेत निर्देशन दिए ।

शनिबार काठमाडौंको सोह्रखुट्टेमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले आफ्नो क्षेत्रका जनतालाई शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउन इमान्दार र कर्तव्यनिष्ठ भइ अहोरात्र खटिने प्रातिवद्धता पनि व्यक्त गरे । उनले राज्यलाई ठग्ने र गलत काम गर्ने विरुद्ध निर्दयीपूर्वक प्रस्तुत हुने समेत चेतावनी दिए । उनले भने, ‘हाम्रा अधिकार क्षेत्रभित्र पर्ने विषयमा निष्पक्ष, इमान्दार र निर्दयीपूर्वक हामी प्रस्तुत हुन्छौं ।’ उनले प्रहरी प्रशासन र जनप्रतिनिधि इमान्दार र भ्रष्टाचारमुक्त भए मात्रै सर्वसाधारण जनताले परिर्वतनको महसुस गर्न सक्ने उल्लेख गरे ।

प्रकाशित मिति: Feb 17, 2018

प्रतिक्रिया दिनुहोस्